राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज

252
Shares

काठमाडौं ।

राष्ट्रिय सभा बैठक आज बस्दै छ। बैठक सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १:१५ बजे बोलाइएको छ। संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ।

उपाध्यक्षका लागि मंगलबार दुई जनाले उम्मेदवारी दर्ता गरेका छन्। नेकपा (एमाले)की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका हुन्।

आज बस्ने राष्ट्रिय सभा बैठकमा सांसद भगवती न्यौपानेले ‘विमला घिमिरेलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यक्रम छ। यस्तै विष्णुदेवी पुडासैनीलाई निर्वाचित गरियोस् भनेर दुर्गा गुरूङले प्रस्ताव प्रस्तुत गर्नेछिन्।

त्यसपछि बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो।