राजधानीमा राप्रपाको शक्ति प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

406
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार राजधानीमा शक्ति प्रदर्शन गरेको छ। हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनलगायत ४० बुँदे माग गर्दै राप्रपाले शक्ति प्रदर्शन गरेको हो।

शक्ति प्रदर्शनका क्रममा प्रहरीको दमनमा करिब १४ जना कार्यकर्ता घाइते भएका छन्। पार्टीको जनप्रदर्शनमा प्रहरीमार्फत् व्यापक दमन गरिएको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्नुभएको छ।

भृकुटीमण्डपबाट शुरू भएको विरोध र्‍याली रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो। सोही कोणसभालाई सम्बोधन गर्दै लिङ्देनले गृह प्रशासन र मन्त्रीको भत्र्सना गर्दै भन्नुभयो– ‘म गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौं । अब हामी गृहमन्त्रीको राजीनामा माग्छौं । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ।’

राप्रपाको जुलुस वानेश्वर पुगेर आमसभामा परिणत भएको थियो। लिङ्देनले मुलुकले थप विद्रोह थेग्न नसक्ने जिकिर गर्दै नयाँ सम्झौताका लागि दलहरू तयार हुनुपर्नेमा जोड दिँदै भन्नुभयो– ‘जनता यथास्थितिमा बस्न सक्दैनन् । सम्झौताका लागि तयार हुनुहुन्न भने भाग्नका लागि तयार हुनुस् ।’

प्रहरी दमनमा १४ घाइते २ नियन्त्रणमा

राप्रपाको प्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भृकुटीमण्डपबाट शुरू भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गर्नुका साथै प्रदर्शनकारीमाथि लाठीचार्जसमेत गरेको थियो।