२०४७ सालपछिका सबै भ्रष्टाचारका घटना छानबिन गरौं : गृहमन्त्री लामिछाने

406
Shares

काठमाडौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले २०४७ सालपछिका सबै खाले भ्रष्टाचारका घट्ना छानबिन गर्न शक्तिशाली छानबिन समिति गठन गर्न माग गरेको छ।

पार्टी सभापति रवि लामिछानेले मंगलबार संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कुनै विषयमा आरोप लाग्दैमा संसदीय समिति गठन गर्नु औचित्यहीन भएको टिप्पणी गर्दै भन्नुभयो– ‘२०४७ सालदेखि आजसम्मका सम्पूर्ण कुराहरूको छानबिन गरौं। सरकारको न्यूनतम साझा कार्यक्रममा पनि हामीले भनेका छौं कुनै पनि कालखण्डका भ्रष्टाचारको छानबिन गर्नुपर्छ भनेर।’

कांग्रेसले संसदीय मर्यादाको ख्याल गर्नुपर्ने भन्दै गृहमन्त्री लामिछानेले जस्तोसुकै विषयमा पनि संसदीय छानबिन समिति गठन गर्दा संसद्को गरिमामा आँच आउने तर्क गर्नुभयो।

उहाँले भन्नुभयो– ‘कसैले गरेको ठाडो उजुरीको आधारमा, सूचना दिएको आधारमा समिति बनाउनुपर्ने गरी हाम्रो संसदीय मर्यादा त्यति तल झरिसकेको छ र ? यो संसद्को पनि गरिमा छ, यसको महत्व छ, यसको बेग्लै पहिचान छ, यसको इतिहास छ, यसको गौरव छ। यसको गौरवको रक्षा गर्नका लागि दोबाटोमा उठेका हरेक कुराहरूको समिति बनाउने हो भने हुन्छ गरौं । हामीले त भनेका छौं नि प्रश्न उठने बित्तिकै, कसैले ठाडो जाहेरी, सूचना, निवेदन दिनेबित्तिकै तुरुन्तै सांसदले राजीनामा दिउँ, मन्त्रीले राजीनामा दिउँ, संसदीय समिति बनाउँ । हामीले हुन्छ भनिसक्यौं, नाइँ भनेका छैनौं ।’

कांग्रेसले सहकारीको समस्याभन्दा पनि व्यक्ति केन्द्रित भएर संसद् अवरुद्ध गरिरहेको लामिछानेको आरोप थियो। उहाँले भन्नुभयो– ‘तर, व्यक्तिमा मात्रै केन्द्रित रहने हो भने हामी आएर बनेको हो र ? प्रहरीको अनुसन्धान उहाँहरू सरकारमा भएको बेला भएको होइन र ? त्यो अनुसन्धान गर्ने अधिकारीहरू त्यहीँ हुनुहुन्न होला र ? एउटै कुरा सय चोटी भन्दैमा त्यो सय वटा कुरा होइन, एउटै कुरा हो । त्यसकारण यो संसद्को गरिमा छ । आरोप लाग्यो कि राजीनामा दिने सर्वदलीय सहमति गरौं ।’