सदनको अवरोध खुलाउन बालुवाटारमा छलफल

182
Shares

काठमाडौं ।

सदनको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी रहेका छन्।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको विषयमा संसदीय छानबिनको माग राखेर आज संसद् बैठक अवरुद्ध गर्ने अडान जारी राखेपछि छलफल हुन लागेको बताइएको छ।

अर्को तर्फ कांग्रेसको अडानका बीच सरकारका तर्फबाट गृहमन्त्री लामिछानेले संसदमा आज विधेयक पेस गर्ने तयारी गरेपछि संसदमा आज झडप हुने समेत अनुमान गरिएको छ।

यस अघि सोमबार सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सत्तापक्ष र विपक्षका आ-आफ्नै अडान राखेपछि बैठक बिना निष्कर्षमा सकिएको थियो।

प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आजको बैठक प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध गर्ने देखिएको छ।