राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

1.03k
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दै छ। संवैधानिक राजतन्त्रको पुन: स्थापनासहित सङ्घीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा बृहत् प्रदर्शन गर्न लागेको हो।

बिहान साढे ११ बजेबाट प्रदर्शन सुरु गरिने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनबहादुर श्रेष्ठले जानकारी दिए।  भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ।

राप्रपाले आजको प्रदर्शनमा ५० हजार भन्दा बढिलाई उतार्ने दाबी गरेको छ। राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे माग पत्र बुझाएको थियो।

जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म सम भाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने, सङ्गठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तर तत्काल रोक्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने लगायतका माग रहेका छन्।