पहिलो पटक ज्योतिष दिवस औपचारिक रुपमा मनाइँदै 



काठमाडौँ। 

यस वर्षदेखि पहिलो पटक औपचारिक रुपमा जोतिषः दिवस मनाइने भएको छ। चैत्रशुल्क प्रतिपदा अर्थात् चैत्र २७ गते मंगलबार देशब्यापीरुपमा ज्योतिष दिवस मनाउन लागिएको हो। आइतवार नेपाल ज्योतिष परिषदले पत्रकार सम्मेलन गरेर नेपाल पञ्चाङ्ग निर्णायक विकाश समिति,विश्व ज्योतिष महासंघ,राष्ट्रिय महिला ज्योतिष संघ,नेपाल संस्कृत विश्व विद्यालय वाल्मिकी बिद्यापिठ,ज्योतिष विभाग,दक्षिण एसियाली ज्योतिष महासंघको सहयोगमा विभिन्न कार्यक्रम गरेर ज्योतिष विज्ञानको गरिमा र यथार्थ बारे व्यापक चर्चा चलाउँदै ज्योतिष दिवस मनाइने जानकारी गराएको छ।

पञ्चाङ्ग निर्णायक विकास समितिका सभापति कृष्ण प्रसाद अधिकारीले वर्ष लग्नाकै आधारमा फलादेश गरिने हुँदा लंकामा पहिलो पटक सूर्योदय भै सृष्टि प्रारम्भ भएको दिन चैत्र शुल्क प्रतिपदाका दिनलाई ज्योतिष दिवसका रुपमा मनाउने निर्णय गरिएको जानकारी गराए। उनका अनुसार चन्द्रमा गणनाको मान्यताका आधारमा चैत्र शुल्क प्रतिपदाका दिन जुन बार पर्छ त्यसलाई वर्षकै राजा मान्ने चलन भएकाले यस वर्ष मंगल गृहलाई राजा रहनेछन्।

 नयाँ वर्ष अर्थात् वैशाख १ गते सूर्य गणना अनुसार शनिवार परेको हुनाले यस वर्षको मन्त्री ग्रह शनि पर्न गएको छ। दिवस तोकिएको दिन निमको पात खाने दिनका रुपमा मानिँदै आएको प्रसंग जोड्दै अधिकारीले वर्ष भरिका दुख,कष्ट,दुष्कर्मलाई तितोको प्रतीक मानेर सबै बिध्न बाधा र अनिष्ट हटेर जाऊन भन्ने मान्यताकै आधारमा प्रतीकात्मक रुपमा निमको पात चबाउने चलन रहेको बताए। हरेक दृष्टिकोणबाट उपयुक्त दिन भएकाले यस वर्षदेखि सुरु गर्न लागिएको ज्योतिष दिवसले भविष्यमा थप मान्यता पाउँदै लोकप्रियता हासिल गर्ने उनको भनाइ थियो।

 नेपाल ज्योतिष परिषदका अध्यक्ष्य माधव प्रसाद पाण्डेले सृष्टिको आरम्भ भएकै दिनलाई पहिलो आधार मानेर दिवस तय भएको उल्लेख गरे। वसन्त ऋतुको आगमन हुने दिन,ज्योतिषीय गणना प्रारम्भ भएको दिन तथा वर्ष फल सुन्ने र सुनाउने दिनका रुपमा चैत्र शुल्क प्रतिपदालाई शास्त्रले पनि प्रमाणित गरेकाले यस दिनको महत्त्व उच्च रहेको जानकारी गराए।

वाल्मिकी विद्यापीठ,ज्योतिष विभाग प्रमुख डा धनेश्वर नेपालले मानव कल्याणका लागि विभिन्न तथ्य तथा विधि पत्ता लगाउने वैदिक कालभन्दा पनि पुरानो  विज्ञान भएकाले ज्योतिषलाई ज्ञानको चच्छु मानिने बताए। विश्व ज्योतिष महासंघका अध्यक्ष्य डा लोकराज पौडेल,दक्षिण एसियाली ज्योतिष महासंघ अन्तराष्ट्रिय समितिका सभापति तथा पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले ज्योतिष शास्त्रको अपूर्व ज्ञानलाई संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न,विधागत महत्त्व र उपादेयतालाई जना समक्ष ल्याउन र अन्तर्राष्ट्रियकरण गर्न दिवसले महत्त्व राख्ने कुरामा जोड दिए।

प्रतिक्रिया दिनुहोस्