भारत सरकारको सहयोगमा निर्माण हुन लागेको विद्यालय भवनको शिलान्यास

98
Shares

काठमाडौँ।

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा सङ्खुवासभाको चिचिला गाउँपालिका–३ मा निर्माण हुने दिदिङ आधारभूत विद्यालयको विद्यालय भवनको शिलान्यास गरिएको छ ।

भारत सरकारको चार करोड २९ हजार आर्थिक सहयोगमा निर्माण हुने उक्त विद्यालय भवनको भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाशकुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले आज संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

कार्यक्रममा चिचिलाका अध्यक्ष शेर्पाले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुईतले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिने भारतीय दूतावासले जनाएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइनेछ र सङ्खुुवासभाको चिचिला गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको बताइएको छ ।

सङ्खुुवासभाको चिचिला गाउँपालिकास्थित दिदिङ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सृजना गर्नेछ ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाअघि बढाइएका छन् । चार सय ८८ वटा परियोजना सम्पन्न भइसकेका छन् ।