कोशी प्रदेश महिला फुटबलको फराकिलो जित 

2.8k
Shares

चितवन ।

बागमती प्रदेशले आयोजना गरेको प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगितामा कोशी प्रदेश महिला फुटबल टिमले उत्कृष्ट सुरुवात गरेको छ । बखान स्मृती रंगशाला सारदानगर भरतपुरमा भएको खेलमा गण्डकी प्रदेशलाई ८ शून्य को अन्तरमा जित निकालेको छ । जितका लागि कोशी प्रदेशका जर्सी नं १७ का जेनीफर रानाले खेल सुरु भएको १० औ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । रानाले जर्सी नं १२ का ममता राउतको सुन्दर क्रसलाई गोलमा परिनत गरेका थिए ।

यसै गरी  खेलको २३ औ मिनेटमा प्रतीक्षा राईले डी बकस भित्रा मिलाएको पासलाई आकर्षक तरिकाले गोल गर्दै आफ्नो टिमलाई २ शून्यको अग्रता दिलाए ।
पहिलो हाफको ३० औ मिनेटमा खेल भरी  उत्कृष्ट लयमा रहेका जेनिफर रानाले आफ्नु लागि दोस्रो र टिमको लागि तेस्रो गोल गरेका थिए । पहिलो हाफकै ३२ औ मिनेटमा जर्सी नं ७ का समीक्षा मगरले गोल गर्दै कोशी प्रदेशलाई ४ शून्यको अग्रता दिलाए ।

पुरै खेल आफ्नो नियन्त्रणमा राखेको कोशी प्रदेशले पहिलो हाफमा ४ गोल र दोस्रो हाफमा ४ गोल गरेको छ । दोस्रो हाफको २२ मिनेटमा जेनिफर रानाले ब्यत्तीगत तेस्रो र टिमका लागि ५ औ गोल गरेका छन् । दोस्रो हाफको २५ औ मिनेटमा सञ्जु तामाङले गोल गर्दै कोशी प्रदेशलाई ६ शून्यको अग्रता दिलाए । पहिलो हाफमा १ गोल गरेका समीक्षा मगरले दोस्रो हाफको ३४ औ मिनेटमा ब्यत्तीगत दोस्रो र टिमकालागी सातौँ गोल गरेका थिए ।

अतिरिक्त समयमा जर्सी नं १४ का सञ्जु तामाङली ब्यत्तीगत दोस्रो र टिमका लागि आठौँ गोल गरेका थिए । खेलाडी हरुलाई हौसला बढाउन खेल मैदानमा उपस्थित रहेका कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले कोशी प्रदेशले छनौट प्रक्रिया देखि बन्द सत्रमा निक्कै मेहनत गरेकाले खेलमा जित हात परेको बताएका छन् । यो जितले अन्तर प्रदेश स्तरीय प्रतियोगितामा कोशी प्रदेश पनि महिला फुटबलमा अब्बल छ भन्ने प्रमाणित भएको बताएका छन् ।

खेलाडीहरुलाई हौसला बढाउन खेल मैदानमा उपस्थित रहेका खेल कुद बिकास बोर्ड कोशी प्रदेशका सदस्य सचीव हंस राज वाग्लेले खेलाडीहरुको प्रदर्शनबाट आफू पूर्ण रुपमा सन्तुष्ट रहेको बताएका छन् । सदस्य सचिव वाग्लेले कोशी प्रदेश अब अब्बल खेलाडी उत्पादनका लागि जुन सुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् ।