सफा हिमाल अभियान : सगरमाथाबाट एउटा शव ल्याउन ५० लाख खर्च हुने

1.3k
Shares

काठमाडौं ।

मानव तथा प्रकृतिमा आएको परिवर्तनका कारण नेपालमा हिमालहरू फोहोर हुन थालेपछि सरकारले केही वर्ष यतादेखि सफा हिमाल अभियान शुरु गरेको छ।

यसपटक पनि नेपाली सेनाको अगुवाइमा चैत २९ गतेदेखि सर्वोच्च शिखर सगरमाथा, लोत्से र नोत्से हिमाल सफाइ गरिने भएको छ। सोही क्रममा आरोहणमा ज्यान गुमाएका ५ जना आरोहीको शव संकलन गरेर ल्याइने तयारी गरेको सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो।

यसका लागि शेर्पाहरूको समूह तयार पारिएको जानकारी दिँदै प्रवक्ता भण्डारीले भन्नुभयो– ‘यसपटक कम्तीमा ५ वटा शव संकलन गरेर स्वदेशी भए गृह मन्त्रालयमार्फत आफन्तलाई जिम्मा लगाइने र विदेशी भए परराष्ट्र मन्त्रालयअतर्गत सम्बन्धित देशमा पठाइने व्यवस्थासमेत मिलाइएका छौं ।’

सफा हिमाल अभियान २०२४ का अभियान निर्देशक सहायक रथी सञ्जय देउजाले पनि यसपटक नेपाली सेनाको अगुवाइमा हुने हिमाल सफाइका क्रममा १० टन फोहोर र कम्तिमा पनि ५ वटा बेवारिसे अवस्थामा रहेको शव ल्याउने तयारी गरेको जानकारी दिनुभयो।

सगरमाथा आहरोहणका क्रममा मारिएका आरोहीहरूको कारण सगरमाथा लगायतका हिमाल फोहोर भएको भन्दै प्रश्न उठ्न थालेपछि सरकारले सगरमाथालगायतका हिमालको सफाइको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो।

नेपाली सेनाका सेनानी आदित्य कार्कीको अगुवाइमा हुने सफा हिमाल अभियान ५० दिनसम्म चल्नेछ भने सेनालाई १८ जना शेर्पाले सहयोग गर्ने भएका छन्।

सगरमाथालगायत विभिन्न हिमालको आधार शिविरदेखि हिमालको चुचुरो सम्ममा रहेका आरोहीको शव संकलन गरेर काठमाडौंसम्म ल्याउन एउटा शवका लागि ५० लाख रुपियाँ खर्च हुने सेनाले जनाएको छ।

यस पटकको सफा हिमाल अभियानका लागि ९ करोड खर्च हुने अनुमान सेनाले गरेको छ। चौथोपटक हुने हिमाल सफाइ अभियान जेठ २४ गतेसम्म चल्ने बताइएको छ।