सफा हिमाल अभियान 

सगरमाथाबाट एउटा शव ल्याउन ५० लाख खर्च 



काठमाडौं ।

मानव तथा प्रकृतिमा आएको परिवर्तनका कारण नेपालमा हिमालहरू फोहोर हुन थालेपछि सरकारले केही वर्ष यतादेखि सफा हिमाल अभियान सुरु गरेको छ।

यस पटक पनि नेपाली सेनाको अगुवाइमा सफा हिमाल अभियान सुरु हुने भएको छ । यही चैत २९ गते देखि सर्वोच्च शिखर सगरमाथा, लोत्से र नोत्से हिमाल सफाइ गरिने भएको हो ।

यस पटक नेपाली सेनाको अगुवाइमा हुने हिमाल सफाइ अभियानको क्रममा आरोहणमा ज्यान गुमाएका ५ जना आरोहीको शव सङ्कलन गरेर ल्याइने तयारी गरेको सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

फोहोर सङ्कलन संगै शव सङ्कलन गरेर ल्याउनकालागि शेर्पाहरुको समुह तयार पारिएको र कम्तीमा ५ वटा शव सङ्कलन गरेर स्वदेशी भए गृह मन्त्रालय मार्फत आफन्तलाई जिम्मा लगाइने र विदेशी भए परराष्ट्र मन्त्रालय अन्तर्गत सम्बन्धित देशमा पठाइने व्यवस्था समेत मिलाइएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

यस पटक नेपाली सेनाको अगुवाइमा हुने हिमाल सफाइका क्रममा १० टन फोहोर र कम्तीमा पनि  ५ वटा बेवारिसे अवस्थामा रहेको शव ल्याउने तयारी गरेको सफा हिमाल अभियान २०२४ का अभियान निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिए ।

नेपाली सेनाका सेनानी आदित्य कार्कीको अगुवाइमा हुने सफा हिमाल अभियान ५० दिन सम्म चल्ने र सेनालाई १८ जना शेर्पाले सहयोग गर्ने भएका छन् । सगरमाथा आरोहणका क्रममा मारिएका आरोहीहरूको कारण सगरमाथा लगायतका हिमाल फोहोर भएको भन्दै विभिन्न कोणबाट प्रश्न उठ्न थालेपछि सरकारले सगरमाथा लगायतका हिमालको सफाइको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो ।

नेपाली सेनाले यस अघि फोहोर मात्रै सङ्कलन गर्दै आएकोमा यस पटक भने आरोहीको शव नै सङ्कलन गर्ने भएपछि संसारभर त्यसको सकारात्मक सन्देश प्रवाह भएको नेपाली सेनाले जनाएको छ ।

सेनाले सगरमाथा लगायत विभिन्न हिमालको आधार शिविरदेखि हिमालको चुचुरो सम्ममा रहेका आरोहीको शव सङ्कलन गरेर काठमाडौँ सम्म ल्याउन एउटा शवका लागि ५० लाख रुपियाँ खर्च हुने पनि सेनाले जनाएको छ ।

यस पटकको सफा हिमाल अभियानका लागि ९ करोड  खर्च हुने अनुमान सेनाले गरेको छ ।  चौथो पटक हुने हिमाल सफाइ अभियान जुन ६ तारिकका दिन समापन हुने पनि सेनाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्