काठमाडौँ ।
वि.सं. २०४५ तिर म काठमाडौँ झरेको हुँ कलेज पढ्न । फिल्मको बहुत सौखिन । मैतिदेवीमा कविता, कस्तुरी, कमल, कान्ति दिदीहरु, केविन, किशोर भाइ र अरु धेरै साथीहरुसँग फुर्सद मिल्यो कि फिल्म हेर्न सिनेमा हलतिर दौडिहाल्ने ।
कुमारी, विश्वज्योति, रञ्जना, जय नेपाल चल्तीका सिनेमा हल थिए त्यति बेला । पछि गोपीकृष्ण हल बन्यो । एउटै भवनमा दुईवटा सिनेमा घर– गोपी र कृष्ण । त्यही ताका बनेपामा मयूर सिनेमा हल खुल्यो । राजेश हमालको पहिलो फिल्म युगदेखि युगसम्म बनेपाको गोपीकृष्ण हलमा पुगेर हेरेको सम्झना ताजै छ । रामकृष्ण कायस्थ र किरण श्रेष्ठ हुनुपर्छ साथी त्यति बेला ।
रामकृष्ण, किरण र मैले काठमाडौँको विश्वज्योति, कुमारी, रञ्जना र जय नेपाल सिनेमा हलमा निकै फिल्म हेरेका छौँ । त्यही ताका भृकुटीमण्डपका साना भिडियो हलमा मिथुन चक्रवर्तीको गुरु, वक्ती कि आवाजजस्ता फिल्म नेपालमा चलेको पहिलो दिन, पहिलो शो हेरेको मजा अहिलेसम्म पनि स्मरणीय लाग्छ । फिल्मको इन्टरवलमा मुरली मकै, चिजबल र चिसो पेयपदार्थको सेवनले बहुतै मोहित बनाउँथ्यो उति बेला ।
झन्डै ३५ वर्षपछि ०८० चैत्र ११ गते होली पर्वको दिन बानेश्वरको ‘वन सिनेमा हल’मा ‘महाजात्रा’को इन्टरवल चलिरहँदा पत्रकार गोकर्ण भण्डारीले मुरली मकै र चिजबलको मिक्स नास्ता बोकेर आउँदा उति बेला साथीभाइ र दिदीहरुसँग रमाएको याद आयो । प्रविधिको विकासले सिनेमा हल र सिनेमाको निर्माणमा फड्को देखिए पनि मुरली मकै र चिजबलको स्वादले अतीतको यादलाई दुरुस्तै उतारिदिएको छ ।
अब कुरा ‘महाजात्रा’को :
नेपालको राजनीति भ्रष्टाचारले थिलथिलो भएको बेला प्रदीप भट्टराईले ‘महाजात्रा’ ल्याएका छन् । र, ‘महाजात्रा’मा पुण्यप्रसाद (हरिवंश आचार्य) भ्रष्टाचारमा लिप्त राजनीतिज्ञको अवतारको रुपमा अवतरित भएका छन् सिनेमाको पर्दामा ।
‘महाजात्रा’ एउटा कथा हो । तर नेपाली राजनीतिमा ‘महाजात्रा’को त्यही कथा तथ्यको कवचमा जनताको दाइँ गर्न उद्यत् देखिएको छ । पुण्यप्रसादले इमान बेचेर पार्टी चलाउँदै राजनीति गरेको तथ्य नेपाली राजनेताहरुमा मिल्छ कि मिल्दैन ? त्यसको छिनोफानो यो लेखकले गर्न सक्दैन । अनि राजनीतिमा इमानको खडेरी परेको सत्यलाई पनि यो लेखकले हिडन गर्न सक्ने सामथ्र्य राख्दैन ।
पुण्यप्रसादको राजनीतिमा पैसाले बटुलिएको लोकप्रियता, प्रशंसा र इमान, सत्यको बलेसीबाट झरेको तप्केनीले क्रमशः नङ्ग्याउँदै लगेको कथासँग नेपाली राजनेताहरुको जीवनीको मेल एउटा संयोग मात्र पक्कै हैन, यो कुरा ‘महाजात्रा’ले जसरी निर्धक्क बोलेको छ, यो लेखक पनि त्यसमा समर्थन गर्ने सामथ्र्यमा भने कमजोर छैन ।
फणीन्द्र (विपिन कार्की) को पारिवारिक झमेला, जोयस (रवीन्द्रसिंह बानियाँ) को आमाको सपना र मुन्ना (रवीन्द्र झा) को श्रीमतीको अवस्थाले उनीहरुलाई अपराधको दलदलमा भसाएको छ । अनि आर्थिक जर्जरमा अघि बढेको नेपाली समाजमा तमाम मध्यम बर्गीय परिवारले भोगेको पीडाको प्रतिनिधित्व गरेका छन् उनीहरुले ‘महाजात्रा’मा ।
राजाराम पौडेल र शिशिर वाङदेलको दलाल र गुण्डाको अवतार पनि नेपाली समाजमा बाँचेका पात्रहरु नै हुन्, जसले राजनीतिज्ञलाई अपराध र तस्करीको भूमरीमा नराम्रोसँग घुमाइरहेको छ। समाज परिवर्तनको सपना साँचेर युवा अवस्थामै राजनीतिमा प्रवेश गरेका पुण्यप्रसादलाई तिनै राजाराम र शिशिर वाङदेलजस्ता चरित्रले मानसिकरुपमा परिवर्तन गर्दै इमानदार अपराधी बनाउन सफल बनेको देखिन्छ।
आपराधिक मनोवृत्ति जन्मजात उपहार पक्कै हैन । आमाको गर्भमा रहँदाको परिवेशले मानिसलाई प्रभाव पार्दैन तर जन्मपछिको पारिवारिक पृष्ठभूमि र विशेष गरी सामाजिक परिवेशले मानिसलाई कस्तो बनाउँछ भन्ने कुराको छिनोफानो गर्दछ। त्यसमाथि आर्थिक जर्जरताले सामाजिक पृष्ठभूमिअनुसार अघि बढ्न थप प्रेरित गरिरहन्छ । ‘महाजात्रा’को कथाले बोकेको सन्देश यही नै हो।
कथा, कल्पनाको साहित्यिक कलेवर मात्र हैन यथार्थताको सुन्दर प्रस्तुति पनि हो । धेरै मानिसले कथाभित्र काल्पनिक मिठास मात्र खोजिरहेका हुन्छन् । तर हरेक कथाले सामाजिक यथार्थतालाई प्रस्तुत गरिरहेको हुन्छ । त्यो प्रस्तुति पीडादायी हुन सक्छ, रोमाञ्चक हुन सक्छ, आपराधिक हुन सक्छ वा मनोरञ्जनात्मक हुन सक्छ ।
‘महाजात्रा’मा पीडा, अपराध, मनोरञ्जन, रोमाञ्च सबै परिकारसहितको तथ्यपरक सामाजिक यथार्थपरक कथा बुनिएको छ । र, त्यही तथ्य कथामा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, शिशिर वाङ्देल, अर्जुनजंग शाही, वर्षा राउत, दिव्यदेवजस्ता कलाकारहरुले विभिन्न पात्रहरुको भूमिकामा आफूलाई न्यायपूर्ण ढङ्गले प्रस्तुत गरिरहेका छन् ।
‘महाजात्रा’ शुरु भएपछि धेरैले हरिवंश आचार्यको आलोचना गरेको सुनियो । प्रदीप भट्टराईले हरिवंश आचार्यको दुरुपयोग गरेको आरोप पनि दर्शकहरुबाट मुखरित भएका छन् । तर मलाई त्यस्तो लागेन । ‘महाजात्रा’मा हरिवंश आचार्यले बाँच्नुभएको पुण्यप्रसाद पात्र नेपाली राजनीतिको मुख्य प्रतिनिधिपात्र नै हो र त्यो पात्रमा उहाँले न्याय गर्नुभएको छ। तर एउटा कुराचाहिँ के सत्य हो भने, हरिवंश आचार्य जोडिएको सिनेमा औसतभन्दा माथि उठ्नुपर्ने दर्शकको अपेक्षा भने पूरा नभएकै हो। मदनकृष्ण श्रेष्ठ–हरिवंश आचार्यको सिने कथाहरुमा पीडालाई हास्यरसमार्फत दर्शकको मनमस्तिष्कमा जसरी स्थापित गरिन्थ्यो, त्यो कुरा ‘महाजात्रा’मा भेटिएको छैन । त्यसैले पनि दर्शकहरुले ‘महाजात्रा’मा हरिवंश आचार्यको दुरुपयोग भएको ठानेको हुनुपर्छ। ‘महाजात्रा’मा कथाअनुसारको पात्र बाँच्ने कुरामा विपिनदेखि वर्षासम्मको अभिनय भने प्रशंसनीय छ।
‘महाजात्रा’मा राजनीतिको विकारलाई साहित्यिक कथाले बोलेको छ । तर के नेपाली राजनीतिज्ञहरुले ‘महाजात्रा’को तथ्यकथा स्वीकार गर्छन् त? भलै राजनीतिक बोरामा एउटा मात्र आलु कुहिएको होला तर के त्यो एउटा आलु फाल्न अरु थुप्रै आलुहरु बोराबाट खस्न तयार हुन्छन् त ?
समकालीन नेपाली राजनीतिको लिजेन्ट व्यक्तित्व बन्नुभएको केपी शर्मा ओलीले त्यो आँट देखाउनुभएको छ। ‘महाजात्रा’को लेखक, निर्देशक र कलाकार टिमसँग बसेर राजनीतिको तथ्य कथालाई सहस्र स्वीकार गर्दै परिवर्तनको लागि सिनेमा अभियानमा समर्थन गर्नुभएको छ।
राजनीतिको लागि समाजको हरेक परिवेश र परिघटना आवश्यक हुन्छ भन्ने तथ्यलाई स्वीकार गर्दै त्यही सामाजिक चालमा शुद्धता र सफलता खोजिरहने नेपाली राजनीतिको एकमात्र पात्र केपी शर्मा ओलीले ‘महाजात्रा’को प्रमोसनमा जसरी समय उपलब्ध गराउनुभयो यसले वर्तमान राजनीतिक विकारको स्वीकारोक्ति र शुद्धताको आवश्यकताबोध देखाएको छ । अपेक्षा गरौँ, ‘महाजात्रा’ले उठाएको राजनीतिक विकारलाई शुद्धीकरण गर्न केपी शर्मा ओलीको नेतृत्व सफल हुनेछ ।
‘महाजात्रा’ हेरेर फर्कंदै गर्दा वरिष्ठ कलाकार मदनदास श्रेष्ठसँग भेट भयो । उहाँले भन्नुभयो– नेपाली सिनेमाले समाजको विकृत परिवेश प्रस्तुत त गर्छन् तर समाधान दिन सकेका हुँदैनन्। उहाँको कुरा तथ्यपरक छ। नेपाली सिनेमाले सामाजिक कमी–कमजोरी जसरी प्रस्तुत गर्न सकेका छन्, त्यसको समाधान के भनेर दिन सकेका छैनन् । ‘महाजात्रा’मा यही कुरा अपूरो छ । जात्रा, जात्रैजात्रा हुँदै ‘महाजात्रासम्म आइपुगेको प्रदीप भट्टराईको सामाजिक तथ्यकथा अब समाधानमुखी सिनेमामा पुगेर टुङ्गिनुपर्छ ।
राजनीतिमा अवैध धन, सुन तस्करी, गुण्डाराजजस्ता विकृत पक्ष मौलाएको तथ्य देखाउन सफल लेखक\निर्देशक प्रदीप भट्टराईले यी सबै नकारात्मक पक्षको अन्त्यको लागि कस्ता राजनीतिक पात्र आवश्यक छ, नेपाली राजनीतिमा त्यस्ता पात्रको सम्भावना छ कि छैन, मुलुकको ऐन–कानुनले त्यस्ता खराब परिवेश अन्त्यको लागि भूमिका खेल्न सक्छ कि सक्दैन, समाजमा विकास र आर्थिक परिवर्तनको लागि आवश्यक कुरा के हो, राजनीतिमा नीतिबाट परिचालित नेताको उदय कसरी हुन सक्लाजस्ता समाधानमुखी विषयलाई पनि अबको सिने कथामा उतार्न सक्नुपर्छ ।
प्रतिक्रिया