डिग्री माइलाप्रतिको भरोसा



काठमाडौं ।

हुन त अभिनेता दयाहाङ राई औपचारिक रूपमै डिग्री हासिल गर्न चाहन्थे, तर वास्तविक जीवनमा हासिल गर्न सकेनन्। बरु डिग्रीमाइला नाम गरेका पात्रमा आधारित नाटक डिग्री माइला निर्देशन गरे, त्यसमा अभिनय पनि गरे। जुन निकै चर्चित र लोकप्रिय भयो।

नाटक यति लोकप्रिय हुन पुग्यो कि करिब एक सय पटकभन्दा बढी शो चल्यो। नाटक चल्दा नचल्दै दयाहाङ र उनका साथी यस नामबाट फिल्म बनाउन चाहन्थे। कसोकसो फिल्म बनेन, नाटकका रूपमा भयंकर लोकप्रिय भयो। अहिले आएर डिग्री माइलाका नाममा फिल्म पनि बनेको छ। जुन फिल्म यही वर्षको अन्तिम दिन अर्थात् चैत ३० गते शुक्रबार रिलिज हुँदैछ। फिल्मले रिलिजअघि मिठो हाइप पाएको छ।

फिल्म डिग्री माइलाको हालै राजधानीमा आयोजित पत्रकार भेटघाटका क्रममा दयाहाङले केही वर्ष अघि फिल्म निर्माण गर्ने योजनादेखि फिल्म निर्माण हुँदासम्मको कहानी सुनाए।

‘गाउँघरमा देखेको पढे लेखेका डिग्री माइला पात्रहरूबाट प्रभावित भएँ, त्यसमाथि फिल्म बनाउने सोच थियो। तर, त्योबेला फिल्म बनाउन सम्भव भएन र नाटक मञ्चन गरियो। पछि रामबाबु गुरुङसँग फिल्म निर्माण गर्ने कुरा भयो र यहाँसम्म आइपुगियो। फिल्म डिग्री माइलामा दयाहाङ डिग्री हासिल गरेको पात्रको रूपमा उभिएका छन्। ‘डिग्री हासिल गर्ने लक्ष्यका साथ कलेज भर्ना भए पनि कला क्षेत्रमा रुची गएपछि मैले औपचारिक डिग्री हासिल गर्न सकिनँ। तर, कला क्षेत्रमा डिग्रीभन्दा माथिल्लै स्थान दर्शकले दिनुभएको छ,’ दयाहाङले प्रशन्नता व्यक्त गर्दै भने।

अभिनेत्री आँचल शर्माले डिग्री माइलामा काम गर्न रामबाबुको फोन आएपछि खुसीका साथै चुनौती महसुस भएको बताइन्। ‘जसलाई पनि राम्रो टिमसँग काम गर्न पाए हुन्थ्यो भन्ने लोभ हुन्छ। मलाई पनि रामबाबु दाइको टिमसँग काम गर्न पाउनु खुसीको कुरा थियो। तर, काम कस्तो गरौंला भन्ने लागेको थियो। १५ दिनको रिहर्सलपछि धेरै कुरा सिक्न पाएँ,’ आँचलले फिल्मको डिग्री माइला आफ्नो जीवनमा पनि भएको भए हुन्थ्यो जस्तो लागेको जनाउँदै भनिन्, ‘डिग्री माइलासँग सकरात्मक ढंगको थोरै घमण्ड पनि छ। जुन आवश्यक पनि छ।’ निर्देशक रामबाबु गुरुङले आफू डिग्री माइला नाटकका पात्र रोचक लागेकाले,केही वास्तविक पात्रबाट पनि प्रभावित भएर फिल्म बनाउने सोच आएको बताए। ‘डिग्री माइला हरेक समाजमा हुने पात्र हो। क्षमता भएर पनि अवसर नपाएर पेन्डुलम बनेका समाजको पात्र हो, डिग्री माइला फिल्मले समाजमा रहेका शैक्षिक बेरोजगारीको कथा भन्छ,’ रामबाबुले भने।

कलाकार बुद्धि तामाङले डिग्री माइलामा काम गरेको अनुभव सुुनाउँदै नाटकमा आफ्नो भूमिका वृद्ध व्यक्तिको भएको बताए। ‘नाटकमा त स्टेजमा गएपछि सबै कुरा आफ्नो हातमा हुन्थ्यो, तर फिल्ममा माहोल फरक हुन्छ। धेरैपटक एक्सन कट हुन्छ। नाटकमा जस्तो बुढो मान्छे बनिरहन फिल्ममा चुनौतीपूर्ण हुन्छ,’ बुद्धिले भने। अर्का कलाकार कमलमणि नेपालले विभिन्न क्याम्पसमा डिग्री पूरा गर्न भर्ना भए पनि डिग्री पूरा गर्ने सपना अधुरै रहेको बताए।

‘डिग्री पूरा गर्न नसके पनि कलाकारितामा डिग्री हासिल गरेको अनुभव गरेको छु,’ उनले भने। अर्का कलाकार अनिल सुब्बाले आफूले फिल्ममा राम्रो काम गर्ने कोशिश गरेको बताए।

बाँसुरी फिल्म्स र कबडी फिल्म्स्ले सुष्मा फिल्म्स्सँगको सहकार्यमा निर्माण गरेको फिल्ममा विजय बराल, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारले पनि अभिनय गरेका छन्। फिल्ममा शिव राम श्रेष्ठ र रिले एज सेनको छायांकन रोहित शाक्यको पाश्र्व संगीत र नेमिश श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्