इलाम-२ मा कसले मार्ला बाजी ?

सुहाङ, खड्का र लिम्बुको आ-आफ्नै दाबी

378
Shares

काठमाडौं ।

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनबाट संसद् प्रवेश गर्ने रणनीतिका साथ दलहरू चुनावी मैदानमा होमिएका छन्।

उपनिर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत उम्मेदवारहरूले चुनाव जित्ने रणनीति सशक्त बनाउँदै लगेका हुन् ।

संसद्का कतिपय साना दलका प्रतिनिधि उम्मेदवारले चुनाव जित्ने दाबी गरिरहँदा आफ्नो अवस्था के हो भन्ने खासै विश्लेषण गर्न सकेका छैनन्।

नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनेबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गरेका छन्।

उनीहरूले चुनाव जित्ने रणनीति आ–आफ्नो ढंगले बनाइरहेको दाबी गरेको नेताहरूले बताएका छन्। गत निर्वाचनमा इलाम–१ बाट लज्जास्पद हार बेहोरेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्रनम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गर्नुभयो। अरू दलहरूलाई उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग गर्न आह्वानसमेत गर्नुभएको छ।

इलाम–२ बाट निर्वाचित संविधानसभाका पूर्वअध्यक्षसमेत रहेका एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भएको नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले बताउनुभयो।

इलामको मुख्य स्रोतका रूपमा रहेको अकबरे, आलु, ओलन, अम्रिसो, अलैंची, अदुवा र चियालाई प्रवद्र्धन र बजारीकरण आफ्नो पहिलो एजेन्डा भएको खड्काले बताउनुभयो।

आफूले इलाममा गरेका सामाजिक कार्यहरू हेरेर भोट दिन आग्रह गर्दै खड्काले आफूले नेपाली कांग्रेसमा २०३९सालदेखि निरन्तर जनताको छत्रछायामा बसेका काम गरिरहेकाले इलामेली जनताले मतदान गर्ने जिकिर गर्नुभयो । उहाँ गत निर्वाचनमा एमाले नेता स्व.सुवास नेम्वाङसँग ११४ मतले पराजित हुनुभएको थियो।

नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी हुँदा कांग्रेसका खड्काले २९ हजार ९०६ मत पाएर दोस्रो हुनुभएको थियो । नेम्वाङसँग पराजित खड्कालाई नै कांग्रेसले उपचुनावमा दोहोर्‍याएको छ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलामवासीको मायाका कारण आफ्नो जित निश्चित रहेको बताउनुभयो। आफूले नयाँ ढङ्गले प्रचारप्रसार गर्ने बताएका नेम्वाङले प्रतिस्पर्धीहरूमाथि गाली गलौज र टीकाटिप्पणीबिना प्रचारप्रसार गर्ने र जनताको मन जित्ने उहाँको रणनीति छ।

पिता स्व. सुवासचन्द्र नेम्वाङले गरेका कामहरूको पदचापलाई पछ्याउँदै अझै राम्रो काम गर्ने आफ्नो प्रतिबद्धता रहेको उहाँको भनाइ छ। माओवादी केन्द्रले धीरेन्द्र शर्मालाई उम्मेदवारका रूपमा अघि सारे पनि अन्तिममा सुहाङलाई नै समर्थन गर्ने भएको छ।

उम्मेदवारको राजनीतिक पृष्ठभूमि ?

नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का २०५१ सालमा नेविसंघको इलाम जिल्ला सभापति निर्वाचित भएपछि राजनीतिमा उदाउनुभयो। २०५८ मा नेविसंघको केन्द्रीय सदस्य र २०६४ सालमा नेविसंघ केन्द्रीय उपाध्यक्ष हुँदै उहाँ कांग्रेसको १२ औँ महाधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित हुनुभएको थियो।

१३औँ महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका खड्का १४औँ महाधिवेशनमा जिल्ला सभापति बन्न सफल हुनुभयो । इलामको राजनीति र समाजसेवासँगै व्यवसायमा सक्रिय ४८ वर्षीय खड्का गत वर्ष मङ्सिरमा सम्पन्न चुनावमा उम्मेदवार भएर एमालेका नेता स्व.सुवास नेम्वाङसँग ११४ मतले पराजित हुनुभएको थियो ।

त्यस्तै, एमालेका उम्मेदवार सुहाङ नेम्वाङ एमाले उपाध्यक्ष स्वर्गीय सुवाचन्द्र नेम्वाङका छोराकै रूपमा परिचित हुनुहुन्छ। राजनीतिमा कहिल्यै नलागेका सुहाङ गत चैत १ मा एमालेको कानुन विभागको सदस्यमा मनोनीत हुनुभएको थियो।

०३५ सालदेखि अहिलेसम्म एमालेको सुदृढ संगठन रहेको ठाउँमा कहिल्यै पार्टी–संगठन भनेर नहिँडेका सुहाङ उम्मेदवार बनेपछि एमालेमा लामो राजनीति जीवन बिताएका स्थानीय नेताहरू नै खुसी छैनन् । अधिवक्तासमेत रहेका सुहाङ केही समययता फुटबल क्लब चलाएर सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ।
सत्ता साझेदार रास्वपाले भने माओवादी केन्द्रको आबद्धता छोडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बूलाई आफ्नो पार्टीमा भित्र्याएर टिकट दिएको छ।

पत्रकार पृष्ठभूमिका लिम्बू यसअघि माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका सचिव हुनुहुन्थ्यो। आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को महासचिव रहेका लिम्बू स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहे पनि चैत १७ मा रास्वपाले टिकट दिएको हो। एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई इलामको माइजोगमाई गाउँपालिमा २०७४ मा निर्वाचित पूर्वअध्यक्ष हुनुहुन्छ।

२०७९ को निर्वाचनमा एमालेका कुशबहादुर थेवेसँग पराजित हुनुभएको थियो। त्यस्तै, पहिचान पक्षधरहरूका तर्फबाट डकेन्द्र थेगिमले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। थेगिमलाई जनता समाजवादी पार्टी (जसपा) सहित ४१ वटा राजनीतिक तथा सामाजिक संस्थाको समर्थन रहेको दाबी गरेका छन्।

३२ वर्ष इलामको शैक्षिक संस्थामा काम गरेका थेगिम २०५८ सालदेखि सामाजिक तथा धार्मिक अभियानमा आबद्ध भई २०६० चैतदेखि किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय समिति र महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठानको अध्यक्ष हुनुहुन्थ्यो । लामो समय एमालेमा रहेका थेगिम पहिचान आन्दोलनको बलमा एमालेको दबदबा रहेको इलाम–२ मा चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ।

यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लक्ष्मी गुरुङलाई उम्मेदवार छ। गुरुङ राप्रपानिकट विद्यार्थी सङ्गठन राप्रविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष र राप्रपा शिक्षा विभागका सदस्य हुनुहुन्छ। यसै गरी जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप) चुनावी मैदानमा हुनुहुन्छ। उहाँ पहिचानवादी आन्दोलनकर्ताका रूपमा परिचित हुनुहुन्छ। राप्रपा नेपालले पनि पार्टीका इलाम अध्यक्ष गणेश चौहानलाई उम्मेदवार बनाएको छ।
गत निर्वाचनमा कसको मत कति ?
२०७९ को आम निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याउनुभएको थियो ।
माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन रहेका कांग्रेसका उम्मेदवारलाई डम्बर खड्का ११४ मतलले पराजित हुनुभएको थियो । त्यस्तै यस क्षेत्रमा रास्वपाका प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याउनुभएको थियो भने मंगोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बूले १३६३, राष्ट्रिय जनमुक्तिका खड्गप्रसाद पालुवाले १२७२, जसपाका यमप्रसाद लिम्बूले ७२४, राप्रपाका गणेशप्रसाद दुलालले ५१० मत प्राप्त गरेका थिए । त्यसै गरी समानुपातिकतर्फ एमालेले २६ हजार ५६२, कांग्रेसले २२ हजार ३३३, माओवादीले ५ हजार १५३ र रास्वपाले ४ हजार ६८६ मत ल्याएका थिए । त्यस्तै, राप्रपाले ११९१ मत, जसपाले ९०६ मत, एकीकृत समाजवादीले ५८६ मत प्राप्त गरेका थिए ।