रहस्यपूर्ण द रेड सुटकेश



रिलिजको तयारीमा रहेको फिल्म द रेड सुटकेसको हालै राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।
ट्रेलर एउटा रातो सुटकेशको वरिपरि घुमेको छ। ट्रेलरअनुसार एयरपोर्टबाट एउटा रातो सुटकेश लिएर अभिनेता सौगात मल्ल सिन्धुलीको गाउँतर्फ लाग्छन्। गाडी लिएर सौगात गाउँ जाँदा यात्रामा भेटिएका पात्र विपिन कार्की, सृष्टि श्रेष्ठको बार्ता र यात्रामा आइपर्ने घटनालाई ट्रेलरमा समेटिएको छ।

म्यास्टिक रियालिटी जनरामा निर्माण गरिएको फिल्म फिडेल देवकोटाले निर्देशन गरेका छन्। देवकोटाले नै लेखेको द रेड सुटकेशको ट्रेलर कथावाचन शैलीमा तयार गरिएको छ। फिल्मका मुख्य कलाकार सौगात मल्ल, विपीन कार्की, प्रवीण खतिवडा र सृष्टि श्रेष्ठलाई ट्रेलरमा समेटिएको छ। ‘हामीले मिथक शैलीमा नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो फिल्मको कथा तयार गरेका छौँ । वर्तमान समयको दस्ताबेजको रूपमा यो फिल्म निर्माण गरिएको छ,’ निर्देशक फिडेलले ट्रेलर रिलिज कार्यक्रममा भने।

फिल्ममा सवारी चालकको भूमिका निर्वाह गरेका सौगात मल्लले नेपाली युवा विदेश पलायन हुुनु दुःखको कुरा भएको बताए। ‘द रेड सुटकेशमा काम गर्दै गर्दा आफूसँग पढेका धेरै साथीलाई सम्झिए। तीमध्ये अधिकांश साथीहरू अहिले वैदेशिक रोजगारीमा भएको पाएँ । यस्तै वैदेशिक रोजगारीमा जानेहरूको कथामा जोडिएको छु,’ सौगातले सुनाए। अभिनेता प्रवीण खतिवडाले फिल्मको छायांकनपछि वैदेशिक रोजगारीबाट रातो बाक्सामा आएका चारजना आफन्तको शव आफूले जलाइसकेको बताए। ‘अहिले वैदेशिक रोजगारमा गएकाको अवस्था विकराल छ। द रेड सुटकेश हेरेपछि पनि हामीले मुलुकको वर्तमान युवाको समस्यालाई अझ बुझ्नेछौ“,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्