मानिसले शान्तिलाई स्थापना गर्नु आवश्यक छैन, किनभने शान्ति त पहिलादेखि नै सबैभित्र हुन्छ । त्यो शान्ति नै वास्तविक शान्ति हो । यो संसारमा अहिले जे–जे भइरहेको भए पनि यस्ता भड्किला कार्यहरू त पहिलादेखि नै हुँदै आइरहेको देखिन्छ । यो संसार नै एउटा रङ्गमञ्च हो । रङ्गमञ्चमा त कहिले कुन कलाकार आइपुग्छ, कहिले कुन कलाकार आइपुग्छ । कहिले कुनै नाटक मञ्चन हुन्छ, कहिले अर्कै नाटक प्रस्तुत हुन्छ । यथार्थमा यो कुनै कलाकारको विषयमा होइन ।
कुरा त के हो भने, यो समयमा तपाईँ जीवित हुनुहुन्छ । यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । मानिसका लागि जे–जति पनि सम्भावनाहरू छन् ती सबै सम्भावनाहरू तपाईँका लागि अहिले पनि उपलब्ध छन् । यो समय तपाईँका लागि प्राप्त भएको मौका हो । यो तपाईँको समय हो ! यतिखेर तपाईँ नाट्यमञ्चमाथि उभिने कलाकारका रूपमा हुनुहुन्छ । कुन दृश्य देखाउनुहुन्छ ? कुन गीत गाउनुहुन्छ ? के भन्नुहुन्छ ? कस्तो नाच्नुहुन्छ ? यो तपाईँको समय हो ! यदि तपाईँले यो कुरालाई बुझ्नुभयो भने वास्तवमा तपाईँको जीवन पनि शान्तिले भरिपूर्ण हुन थाल्नेछ । त्यसपछि जीवनमा शान्ति हुन्छ । ईष्र्या, द्वेष हुँदैन । त्यसपछि खुशी रहने कुरा पनि गाह्रो विषय नै हुँदैन ।
यदि १०० वर्ष बाँचियो भने त्यही ३६,५०० दिन बाँचिने रहेछ । व्यस्त भएर बाँचून् या सबै चीजलाई त्यागून् अर्थात् सारा संसारबाट अलग्गिएर वा पहाडमाथि चढेर जीवन गुजारा गरे पनि हामीले बाँच्ने भनेको त्यत्ति नै हो । हामीले बुझ्ने हो भने, हाम्रो जीवनमा एउटा आशा छ । यसलाई हामी बुझ्न सक्छौँ अनि चिन्न पनि सक्छौँ । त्यस चीजको पहिलो सिँढी नै यस कुराबाट प्रारम्भ हुन्छ– ‘जुन चीजलाई तपाईँ खोजिरहनुभएको छ, त्यो तपाईँभित्रै छ ।’
कहिलेकाहीँ हामीले हवाईजहाज या त रेलको यात्राका क्रममा टिकटलाई कतै एउटा गोजीमा राखिदिन्छौँ । तपाईँलाई टिकट छ भन्ने कुरा पनि याद हुन्छ तर चाहिएको समयमा भेटिरहिएको हुँदैन अनि, तपाईँ टिकट जाँच्ने काउन्टरमा हुनुहुन्छ । त्यतिखेर के गर्नुहुन्छ ? यता खोज्यो, उता खोज्यो तर भेटिँदैन अनि, कहाँ पाइन्छ ? जहाँ छ त्यर्हीँ पाउने हो । चाहे जतिसुकै खोजे पनि भएकै ठाउँमा खोजेपछि मात्रै पाइन्छ । मानिसहरू पनि खोजी गरियो भने शान्ति पाइन्छ भन्ने सोच्दछन् । खोजेर मात्र हुँदैन । जहाँ छ त्यही स्थानमा खोजेपछि मात्रै पाइन्छ । त्यसो हो भने त्यो शान्ति कहाँ छ ? हामीभन्दा पहिलाका धेरै मानिसहरूले पनि त्यो तपाईँभित्र छ भनेका छन् ।‘शान्ति अनुभव गर्ने विषय हो ।’ यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो । बाहिरी आवरणलाई हेरेर यो तिर्खालु छ या छैन भन्न सकिँदैन । तथापि, मानिसले तिर्खा लागेको छ या छैन भनेर आपूmभित्र महसुस गर्न सक्छ । तिर्खालु मानिसले पानी पाउने आशामा पानीको खोजी गर्दछ । भोको मानिसले भोजनको खोजी गर्छ ।
के साँच्चै हामीले आफ्नो जीवनमा शान्तिको भोकलाई महसुस गरेका छौँ या छैनौँ ? कसैले केही भनिदिन्छन्, कसैले के बताइदिन्छन् । हाम्रा लागि यति नै पर्याप्त छ या हामी स्वयंले पनि आफ्नो जीवनमा शान्तिको अनुभव गर्ने चाहना राख्छौँ त ? हाम्रो जीवनमा आन्तरिक शान्ति अत्यावश्यक छ । मेरो सन्देश के हो भने, ‘तपाईँ जुन चीजको खोजीमा हुनुहुन्छ नि त्यो तपाईँभित्रै छ ।’ बाहिर त हामी सबै कुरा गरिरहेका हुन्छौँ । बाहिरीरूपमा हामीले आपूmले आपूmलाई हेर्छौँ, सजाउँछौँ ।
पुरुषहरूले आफ्नो दाह्री मिलाउँछन् । कतिपयले कपाल मिलाउलान् । आमा–दिदीबहिनीहरूले मेकअप गर्नुहुन्छ तर भित्रका लागि हामी के गर्छौँ ? किनभने, बाहिर जे देखिइएको छ त्यो त तपाईँभित्रबाटै उत्पन्न हुन्छ ! यदि मानिस भित्रदेखि नै चिढिएको छ भने उसलाई तपाईँले मुस्कुराउनका लागि जतिसुकै आग्रह गरे पनि केही हुँदैन । उसको ध्यान कतै अन्त जानेछ । उसले मुस्कुराउन छोड्नेछ अनि उसमा भएको कुण्ठा बाहिर निस्कन्छ । यसर्थ हामीले जे–जति गरिरहेको भए पनि ती कार्यहरू भित्रका लागि गरिरहेका छैनौँ । केवल बाहिरका लागि गरिरहेका छौँ । बाहिर हामीले जतिसुकै परिश्रम गरे पनि त्यो बाहिरकै कुरा हो । कसैसँग कार छ तर त्यसमा इन्जिन छैन, टायर छैन । त्यसमा तपाईँले दिनभरि पालिस लगाइरहे पनि त्यो कतै पनि जान सक्दैन । यो कुरा पनि त्यस्तै हो ।
शान्ति भित्रबाट शुरु हुनुपर्छ र बाहिरबाट होइन । तपाईँले त बाहिरबाटै शान्तिको लक्षणलाई नियालिरहनुभएको छ । मानिसहरूमा ‘शान्ति भयो भने यस्तो हुन्छ, उस्तो हुन्छ’ भन्ने धारणा हुन्छ । अनि, मानिसहरू त्यही धारणाका पछि लागेका छन् । तथापि, त्यसरी शान्ति हुँदैन । तपाईँभित्र शान्ति भएपछि मात्रै शान्ति प्राप्त हुन्छ ।
जीवनमा हामी धेरै प्रकारका मिहिनेत गर्दछौँ । आमाबुबाले आफ्ना छोराछोरीलाई साना हुँदा भन्ने गर्नुहुन्छ– ‘पढलेख गर, मिहिनेत गर । ठूलो भएपछि तिमीले राम्रो जागिर पाउनेछौ अनि तिम्रो जीवन आनन्दसँग बित्नेछ ।’ हामी कोसिस पनि गर्छौँ अनि पढ्छौँ पनि । जागिर पनि पाउँछौँ । परिवार बढ्छ तर यी सबै कुराहरू पूरा भएपछि पनि मानिसले आपूmमा एउटा खालीपन भएको महसुस गर्छ । यदि यही सूत्र नै सही हो भने मानिसले आफ्नो जीवनमा किन खालीपनको महसुस गर्छ ! जीवनमा हुन सक्छ तपाईँले कतै सुन्नुभएको पनि होला– ‘शान्तिको अनुभव गर्नुपर्छ ।’ यदि तपाईँलाई शान्ति छ भने– ‘तपाईँको जागिरमा पनि एकदमै पदोन्नति हुँदै जानेछ ! यदि तपाईँको हृदयमा शान्ति छ भने तपाईँको प्रगति हुनेछ !’ यी कुराहरूको कुनै प्रमाण छैन । त्यसो हो भने शान्तिको आवश्यकता किन हुन्छ ?
एउटा पर्दा छ । त्यो पर्दा के हो ? त्यो पर्दा हो ‘अज्ञानता’ को । त्यो पर्दा लागेका कारणले वास्तविकता देखिइरहेको छैन । यसको अर्थ पर्दाले नै वास्तविकताको निर्माण गर्छ भन्ने पनि होइन । पर्दाले वास्तविकतालाई बनाउँदैन तर वास्तविकतालाई लुकाइदिन्छ । पर्दालाई हटाएपछि मात्रै वास्तविकता देखिनेछ अनि तपाईँले वास्तविकतालाई महसुस गर्नुहुनेछ । कुनै व्यक्तिले आपूmलाई भाग्यमानी महसुस गरिरहेको छैन भने यसको अर्थ उसको भाग्य नै छैन भन्ने होइन । उसको भाग्य छ, राम्रो भाग्य छ तर ऊ आपूmलाई भाग्यशाली महसुस गरिरहेको छैन । यसको अर्थ के हो भने– शान्ति छ । शान्तिलाई पर्दापछाडि पारिएको छ । त्यसैले तपाईँले त्यो अज्ञानतारूपी पर्दालाई हटाउनु आवश्यक छ । तथापि, सबैभन्दा पहिला के कुरा बुझ्नु आवश्यक छ भने, तपाईँ र शान्तिका बीचमा कस्तो सम्बन्ध छ ! तपाईँ र आनन्दको सम्बन्ध के छ !
‘के तपाईँले आफ्नो जीवनमा कहिल्यै भोकको अनुभव गर्नुभएको छ ?’ तपाईँलाई भोक किन लाग्छ ? जब खाना छ भने भोक किन लागेको हुन्छ ! किनभने, त्यो भोकको सम्बन्ध तपाईँको पैसासँग छैन । भोकको सम्बन्ध तपाईँको पेटसँग छ, पैसासँग होइन । त्यो खाना तपाईँले नखाएसम्म तपाईँ र त्यो खानाका बीचमा कुनै सम्बन्ध रहँदैन । भोक लागिरहनेछ । आपूmअगाडि खाना भए पनि त्यसलाई ग्रहण नगरेसम्म तपाईँलाई भोक लागिरहन्छ । पानीको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । कतिपय मानिस त आपूmसँग पानीको बोतल पनि राख्ने गर्दछन् । अनि, तपाईँलाई तिर्खा लाग्नुहुँदैन भन्ने कुरा तपाईँको शरीरलाई त थाहा हुनुपर्ने हो, किनभने तपाईँसँग पानीको बोतल छ । तथापि, प्यास र तपाईँको बोतलका बीचमा कुनै सम्बन्ध छैन । त्यो पानी तपाईँभित्र नगएसम्म तपाईँको तिर्खा मेटिँदैन । शान्तिको कुरामा पनि यस्तै हुन्छ । शान्ति–शान्तिको रटान लगाउनुहोस्, शान्तिको चर्चा गर्नुहोस् तर तपाईँभित्र जुन शान्तिको तिर्खा लागिरहेको हुन्छ, त्यो कुरा र तपाईँले शान्तिको रटान लगाएको कुराका बीचमा कुनै सम्बन्ध छैन ।
मानिसलाई जुन शान्तिको तिर्खा लागेको हुन्छ, त्यो किन लाग्छ ? जस्तो– तिर्खा त पानीको पनि लाग्छ, किनभने यो सृष्टिकर्ताको देन हो । तपाईँलाई पानीको आवश्यकता भएकाले नै तपाईँलाई तिर्खा पनि लाग्छ । निद्रा लाग्ने भएको कारणले नै तपाईँ सुत्नु पनि आवश्यक हुन्छ । तपाईँलाई खानाको आवश्यकता भएकाले नै तपाईँलाई भोक पनि लाग्छ । यी प्राकृतिक कुराहरू हुन् !कतिपय कुरा हाम्रा लागि अत्यावश्यक हुँदैनन् । जस्तो– घडी, यदि हामीले आफ्नो घडी फुकालेर राख्यौँ भने त्यसबाट हामीलाई के हुन्छ र ! केही पनि हुँदैन । किनभने, मेरो शरीरलाई घडीको आवश्यकता पर्दैन । मेरो दिमागलाई घडी आवश्यक पर्ने हो । यदि यसलाई हामीले कतै छोडिहाल्यौँ भने पनि केही फरक पर्दैन । तथापि, तिर्खा, भोक अनि निद्राका लागि यस्तो गर्न सकिँदैन । तिनलाई छोड्न सकिँदैन ।
यसको अर्थ के हो भने, दुईवटा कुरा छन् ः एउटा हो हाम्रो चाहना । हाम्रो चाहना बदलिन पनि सक्छ अनि केही चीजहरूचाहिँ हामीलाई आवश्यक हुन्छ । अनि, जुन चीजको हामीलाई आवश्यकता पर्दछ त्यसलाई हामी छोड्न सक्दैनौँ । ठीक यस्तै गरेर शान्ति हाम्रो आवश्यकता हो, चाहना होइन । विनाशान्तिले हामी केही कुरा बुझ्नै सक्दैनौँ । किनभने, शान्तिविना त हामीले आपूmले आपूmलाई पनि बुझ्न सक्दैनौँ । शान्तिको अभावमा हाम्रो जीवनको कुनै अर्थ नै रहँदैन । तर, मानिस उसको चाहनाका पछि दगुरिरहेको छ ।
तपाईँको हृदयको पनि एउटा चाहना छ अनि ‘शान्ति’ त्यही चाहनाभित्र पर्दछ । शान्तिको चाहना ! आनन्दको चाहना ! तपाईँले त्यस तिर्खालाई नबुझेसम्म तपाईँ अन्य सबै कुरामा फसिरहनुहुनेछ । यदि तपाईँ वास्तविकतालाई बुझ्न चाहनुहुन्छ र वास्तविक शान्तिको अनुभव गर्न चाहनुहुन्छ भने तपाईँले कुनै चीज निर्माण गर्नुपर्दैन । यदि कसैले आफ्नो जीवनमा आनन्द होओस् भन्ने चाहना राख्छ भने उसले के गर्नुपर्छ ? यदि शान्ति पहिलादेखि नै छ भने, कुरा यहाँ ‘केही गर्नै पर्छ’ भन्ने होइन । बरु ‘गर्नु नपर्ने’ कुराचाहिँ आउँछ ! पर्दापछाडि कुनै दृश्य सृजना गर्नुपर्ने कुरा होइन, पर्दालाई हटाउनुपर्ने कुराचाहिँ हो । त्यो दृश्य पहिलादेखि नै छ । सबैभन्दा ठूलो पर्दा त तपाईँको दिमागको चाहना नै हो । अनि, त्यो पर्दा बन्द भएसम्म कुनै स्पष्टता हुँदैन । त्यो पर्दा नखुलेसम्म स्पष्टसँग देख्न सकिँदैन । शान्ति त बनिबनाउ छ ! शान्तिलाई बनाउनुपर्दैन । आनन्द जसका बारेमा म कुरा गरिरहेको छु त्यसलाई सृजना गर्नु आवश्यकता पर्दैन ।
यदि यो जीवनमा तपाईँ वास्तविक आनन्द लिन चाहनुहुन्छ भने त्यो आनन्द तपाईँभित्र छ । त्यो पहिलादेखि नै छ अनि तपाईँभित्रै छ । यसमा केही गर्नुपर्ने कुरा होइन, आफ्नो मनको शङ्कालाई हटाएर, यी चाहनालाई हटाएर जुन वास्तविक चीज छ त्यसलाई हेर्नुहोस् ! त्यसको जाँच गर्नुहोस् ! त्यसको अनुभव गर्नुहोस् ! त्यसपछि तपाईँको जीवनमा पनि आनन्द नै आनन्द हुनेछ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण: डा. प्रेमराज ढुङ्गेल ।
प्रतिक्रिया