सुनको मूल्यमा नयाँ रेकर्ड कायम

812
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर एक लाख ३३ हजार रुपैयाँ तय भएको हो।

यस्तै, तेजाबी सुन तोलमा मङ्गलबार प्रतितोला एक लाख ३० हजार पाँच सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३२ हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ।

आज चाँदीको मूल्य पनि उकालो लागेको छ। मङ्गलबार प्रतितोला एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने ६५ले बढेर एक हजार छ सय १० रुपैयाँ मूल्य निर्धारण भएको छ।