सन् २०२४ को भारतको चुनाव र राजनीतिक दलहरु

336
Shares

काठमाडौं ।

भारतमा हुन गइरहेको सन् २०२४ को लोकसभा चुनाव करिब अन्तिम चरणमा पुगेको छ। भारतीय जनता पार्टी सरकारमा छ। सिट धेरै कम भए पनि प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय कांग्रेस नै हो भन्ने अवस्था छ।

सन् १९४७ देखि धेरै लामो समयसम्म कांग्रेस सरकारमा रहेको हो । कांग्रेसको सरकार हुुँदा चीन–भारत युद्धमा भारतको हार, भारतीय संस्कृतिको ह्रास, गरिबी, सैन्यक्षेत्रमा विदेशसँग निर्भरता भारतको मुख्य पीडा थियो। करिब १० वर्षदेखि भाजपाको सरकारमा बहुमत छ।

मोदीले विश्वमा नै आफ्नो छवि राम्रो बनाएका छन्। भाजपा हिन्दुवादी सानातनी पक्षधर राजनीतिक दलको रुपमा स्थापित भएको छ। भाजपामा मोदी ब्रान्ड कायम भएको छ। उनको पछि शक्तिको रुपमा नितिन गडकरी, योगी आदित्यनाथ, स्मृति इरानीसमेत धेरै इमानदार नेताहरु छन्।

भाजपाको पक्षमा जनलहरको कारण हिन्दुधर्मको पक्षमा रहनेहरुको मानोभावना केही उच्च भएको छ। हिन्दुहरुलाई भावनात्मकरुपमा फरक महसुस भएको छ। अन्य राजनीतिक दलका नेताहरुमा पनि यो देखिएको छ। धर्ममा विश्वास छैन भन्ने दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल मन्दिर जान थालेका छन्। राहुल गान्धी मन्दिरमा गएर कुर्थाको बाहिर नै जनै लगाउन थालेका छन्।

विश्वमा हिन्दुधर्मको नाममा एक राज्य पनि छैन । जबकि मुसल्मान तथा कृश्चियन धर्मको नाममा लगभग १५० धार्मिक राज्य छन् । विश्व परिदृश्यमा हिन्दुहरु अर्थात् सनातनीहरुले हारेको, थाकेको, दबेको देखिएका हुन्। मूलतः पाकिस्तान, अफगानिस्तान तथा बंगलादेशमा हिन्दुहरुलाई काफिर भनिने र अपराधीको धर्ममा लागेका जस्तो रुपमा हेरिने गरेको थियो। करिब २१ प्रतिशत हिन्दुहरुमा धर्म परिवर्तन गरेर तथा त्यहाँबाट भागेर हाल पाकिस्तान र बंगलादेशमा करिब ५ प्रतिशत मात्र हिन्दु रहेका छन् । भाजपाको जितले गर्दा ती देशका हिन्दुहरुमा हीनभावना कम हुन थालेको देखिएको छ।

भारतमा पनि हिन्दुलाई कुनै विशेष अधिकार थिएन, मानमर्दनजस्तै थियो । केवल बहुमत भएकाले पीडाको महसुस भएको थिएन । भाजपाको जितले भारतमा सनातनीहरुको आत्मसम्मान बढेको छ । यो धर्मको खुबी तथा सौन्दर्यलाई बाहिर प्रसार गर्न पनि जनता सफल भएका देखिन्छन्। भारतवर्ष मात्र नभई धेरै देशमा मुसल्मान र कृश्चियनहरुका पुर्खाहरुले डर, लोभ, अज्ञान आदिबाट सनातन धर्म छोडेका थिए। उनीहरुका सन्तानहरुलाई सनातन धर्म सुन्दर लागे पनि विविध डरले रोकिएका थिए । अहिले उनीहरु सनातनी बनेका छन्। उनीहरुका कुनै पुर्खाले गल्ती गरेको भए पनि उनीभन्दा पहिलाका पुर्खा त सनातनी नै थिए, हामी सनातनी हौं भन्ने भावना जाग्दै छ । भारतमा सनातनी मुस्लिम, सनातनी कृश्चियनजस्ता सनातनमा जोड्ने धार्मिक धारहरु शुरु भएका छन् ।

भाजपाको कारणले नै धेरै मुस्लिम विद्वान्हरु सनातनले सबैलाई समेट्छ, मुसल्मान धर्म एक समय तथा एक स्थानमा आएकोले एक स्थानलाई समेट्छ, यसकारण हामी समग्रलाई समेट्न चाहन्छौँ र हाम्रो मूल आस्था सनातन नै हो भन्न थालेका छन् । कराचीजस्तो करिब ३ करोड जनसंख्या भएको पाकिस्तानी शहरको मेयर भएका मुसल्मान नेता आरिफ जाकियाजस्ता धेरै हिन्दु सनातनी बनेका छन् । इलाही खानजस्ता धेरै मुसल्मानहरु सनातनी मुसल्मान बनेका छन् ।

मनिसमा कमजोरी हुन्छ । मानिसको पार्टीमा पूर्ण सन्तुष्टि सम्भव त छैन तर समग्रमा राम्रो कामको चाहना वा आशा हुन्छ । यो अवस्था भाजपामा देखिन्छ । केही कमजोरी होलान् तर अपेक्षाकृत अन्य दलहरुभन्दा भाजपामा भ्रष्टाचार, पदको दुरुपयोग, परिवारवाद आदि कम छन् या छैनको बराबर छन् । यो भाजपाको सुन्दर पक्ष हो । त्यसो त भारतमा भाजपाको नै कारण चन्द्रमामा पहुँच र अन्तरिक्षमा भारतको अधिकार स्थापित भएको छ । सैन्यक्षेत्रमा भारत ताकतवर भएको छ । अग्नि ६ क्षेप्यास्त्रको परीक्षणपछि भारतको सैन्य राडारमा सम्पूर्ण एसिया, युरोप र अन्य क्षेत्र पनि परेको छ । यसको परीक्षणपछि भारतलाई चीनसँग अब डराउने जरुरतको अन्त्य भएको छ । चीनले भारतको विरुद्धमा केही गर्न सक्छ तर चीन पनि बाँकी रहँदैन भन्ने अवस्था भएको छ । यो शक्ति सन्तुलन कायमबाट भारतलाई रणनीतिमा फाइदा भएको छ । पाकिस्तान भारतको लागि डरको कारण अब छैन, बरु पाकिस्तान युद्धको तयारीमा पुगेमा भारतलाई केही बिगार्न सक्ला तर जित्न सक्दैन । यो भाजपाको मुख्य योगदान हो ।

भारतमा रोजगारी कम छ । सरकार रोजगारी दिँदैन । खाली स्थानमा पनि रोजगारी विज्ञापन खुल्दैन भन्ने प्रतिपक्षी विशेषतः कांग्रेसको आरोप छ । लगभग ८० करोड जनता गरिबीको रेखामुनि छन् । उनीहरुको लागि सरकार रासन दिन्छ । गरिबलाई रोजगारी हैन, रासन दिएर कसरी भाजपाले राम्रो गरेको भन्न सकिन्छ भन्ने पनि आरोप छ । यो भारतको मात्र हैन संसारको विडम्बना हो । यो शताब्दी राज्यले रोजगारी दिने होइन। किनकि रोजगारीबाट एक नागरिकको औसत ५० हजार भारु मिल्न सक्छ । यो सरकारी रोजगारीको लागि युवा एक वर्षदेखि २० वर्षसम्म आर्थिकरुपमा निष्कृय वा आंशिक निष्कृय रहेर तयारी गर्छ। जागिरको तलास हुनेमध्ये एक प्रतिशतभन्दा कमले मात्र जागिर पाउँछन्। फेरि पनि ९९ प्रतिशत बेरोजगार रहन्छन्।

जागिर नपाउने कोही डिप्रेसन आदिको अवस्थामा जान्छन् । अरु पनि दुःखद परिणाम हुन्छन् । सरकारले रासन वितरण गरेर सय प्रतिशत कमजोर नागरिहरुलाई सुविधा र सहयोग मिल्छ । एक प्रतिशतलाई रोजगारी दिनु ठीक कि सय प्रतिशतकै जीविकाको ग्यारेन्टी दिनु महत्वपूर्ण हो ? यो पनि सोच्ने विषय हो ।

वास्तवमा जुन गरिबलाई रासन मिल्छ, त्यो रासन बेरोजगारीका लागि होइन बरु स्वरोजगारी बन्न आत्मविश्वासका लागि सहयोग हो। अर्थात् तिमी सबैतिरबाट हार खान्छौ भने पनि सरकार तिम्रो सहयोगको लागि तयार छ भन्ने सन्देश हो । तिमी अब पनि स्वरोजगारको लागि अगाडि बढ, लडेमा सरकार छ जस्तो माहोलका लागि रासन वितरण एक माध्यम हो । भारतमा भाजपाबाट जनताका न्यूनतम आधारभूत आवश्यकता पूरा भएका छन् ।

यसपछि अगाडि बढ्नु त नागरिकको काम हो ।

भारतमा आर्थिक उन्नति भएको छ । भारत विश्वको १३ औँ स्थानबाट पाँचौँ धनी राष्ट्र बन्न पुगेको छ र तेस्रो बन्नबाट टाढा पनि छैन। अमेरिका र चीनपछि भारत धनी राष्ट्र बन्ने तय भएको विकास दरले देखाएको छ । यो सब भाजपाले गरेको हो । मोदी यस प्रगतिका ब्रान्ड हुन् । मोदीको सहयोगमा हजारौं, करोडौँ इमानदार हात छन् । भारतले कोरोना कालमा विश्वमा अग्रणी स्थानमा रहेर नागरिकलाई बचायो । विदेशीको पनि सहयोग गरेको हो, नेपालले पनि त्यसबाट फाइदा लिन सक्यो । यो अतुलनीय हो । भारत आर्थिकरुपमा सम्पन्न नभएको भए न कोरोनामा जनतालाई सुरक्षित राख्न सक्ने थियो, न ८० करोड जनतालाई रासन दिन सक्ने थियो । नागरिकले अब सरकारी नोकरी होइन, स्वरोजगारतर्फ ध्यान दिन आवश्यक छ।

यसको व्यवस्थापन, जागरुकताको निम्ति स्वयं नागरिक, राज्य, समाज सकारात्मक हुन आवश्यक छ। सरकारी रोजगारीमा जहिले पनि लापरबाही, सरकारी खर्चका दुरुपयोग, भ्रष्टाचार, आल्छीपन हरतर्फ देख्न सकिन्छ। त्यही काम नागरिकले गरेमा ५ रुपियाँमा हुन्छ भने सरकारले गर्दा १० रुपियाँ लाग्छ । त्यसैले राज्यले जनताबाट नै काम गराउन उपयुक्त हुन्छ । यसको शुरुवात भाजपाले गरेको छ। यसबाट धेरै स्वरोजगारीको सृजना हुन्छ।

सरकारी रोजगारीमा सबभन्दा ज्यादा खराबी त त्यसको लागि नागरिक २० वर्षसम्म तयारीमा लाग्छ । तर सबैलाई सरकारी जागिर मिल्दैन । युवाको त्यति ज्यादा समय आर्थिकरुपमा निष्कृय रहनु आफैँमा देश, समाज र ऊ आफ्नै लागि पनि घातक हो । यसैले स्वरोजगारलाई बढावा दिनु आवश्यक हो । यसै दिशामा भाजपाको सरकार अरु सघनरुपमा लाग्यो भने लगभग ५ वर्षमा युवाहरुलाई निजी रोजगारी र स्वरोजगारीको माध्यमबाट अर्थोपार्जन गर्न सक्षम बनाउन सक्छ ।

त्यसो त सरकारबाट केही आशा हुन्छ भने नागरिकले पनि राज्यको नीति–नियम मान्न आवश्यक हुन्छ। किनकि सरकारले नागरिकको हितको लागि नै नियमहरु बनाएको हुन्छ। नागरिक सरकारको सहयोगी बनेमा मात्र सरकार पनि सक्षम हुन्छ। समान्य गल्ती स्वाभाविक हो, गल्ती महसुस गर्नु र पुनरावृत्ति नगर्नुचाहिँ महत्वपूर्ण हो। सन् २०२४ को चुनावमा भाजपा यसकारण पनि जित्न जरुरी छ कि यो जितबाट विपक्षी दल र नेताहरुलाई आफ्नो संस्कृति जोगाउन सहयोग हुनेछ।

यसबाट सबै धार्मिक बन्ने वातावरण बन्छ। देशको सुरक्षा र समृद्धिको दौडमा अगाडि बढ्न भाजपा भारतको लागि अहं देखिन्छ। शायद सन् २०२९ मा हुने अर्को चुनावमा अरु दलहरुसमेत इमानदार बनी धर्म, संस्कृति, विकास, स्वरोजगारको मामलामा भाजपाबाट सिकेर राम्रो गर्न सक्छन्।

बहुदलीय लोकतन्त्रको यो सुन्दर पक्ष पनि हो। अहिले मोदी ब्रान्डको एक एजेन्डामा ‘म गल्ती जानेर गर्दिन, अन्जानमा गल्ती भएमा तुरुन्त रियलाइज गर्छु र सचिन्छु’ भन्ने रहेको छ । यही भावना मात्र पनि देशको हितको लागि अहं छ । यो भावनाको सबैले कदर गर्नुपर्छ।