रंगकर्मी हरिहर शर्मालाई रामगीता वाङमयको पुरस्कार

98
Shares

काठमाडौं ।

अमेरिकावासी राम खत्री र गीता खत्रीद्वारा स्थापित रामगीता वाङ्मय मन्दिरले ख्यातिप्राप्त रंगकर्मी तथा अभिनेता हरिहर शर्मालाई पुरस्कृत गर्ने भएको छ।

शर्माले पाँच दशकदेखि नेपाली रंगकर्म, कला र फिल्मको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै उनलाई पुरस्कृत गर्न लागिएको हो। यो पुरस्कार रंगकर्मी अशेष मल्ल र उनकी धर्मपत्नीको नाममा स्थापित गरिएको छ।

‘अशेष मल्ल–सावित्री रंगकर्म पुरस्कार मेरो र मेरी जीवनसंगिनी सावित्रीको नाममा राखिएको रहेछ। गीता खत्री र राम खत्रीजीमा हाम्रो हृदयदेखि नै आभार,’ रंगकर्मी अशेष मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राज्यबाट पूर्णतः उपेक्षित भएर पनि नेपाली रंगकर्म हाल उर्वरको अवस्थामा छ। यसलाई प्रोत्साहन दिन अमेरिकामा रहेर पनि नेपाली रंगकर्मको विकास हुनुपर्छ भन्ने सोच र चिन्तनलाई कार्यका रूपमा परिणत गर्दै निजी पैसामा यो पुरस्कारको स्थापना भएको छ। हामीलाई लाग्दछ, यो पुरस्कार सम्पूर्ण नेपाली रंगकर्मीको हो। पहिलोपटक हाम्रा अग्रज रंगकर्मी हरिहर शर्मालाई यो पुरस्कार प्रदान गर्न पाएकोमा पुरस्कार स्वयम् सम्मानित भएको अनुभव गरेका छौँ। यसलाई संयोग नै मान्नुपर्छ, सर्वनामको ४३ औं वार्षिकोत्सवका दिन र मेरो जन्मदिनको छेको पारेर यस पुरस्कारको घोषणा भएको छ।’

पुरस्कारमा ५० हजार राशीसहित ताम्रपत्र रहेको छ। चा“डै नै एक कार्यक्र आयोजना गरी पुरस्कार प्रदान गरिने भएको छ।