धुलिखेल अस्पतालमा जन्मँदै सुनाई कम हुने बालबालिकाहरूको उपचार सुरु 



काभ्रे। 

धुलिखेल अस्पतालमा जन्मँदै बहिरा हुने बालबालिकाहरूको पहिचानसँगै उपचार  गरिएको छ । पहिचानसँगै उपचारका लागि अस्पतालका आउटरिच सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई दुई दिने तालिम उपलब्ध गराइएको छ । धुलिखेल अस्पतालले ७ वर्ष अघि जन्मँदै सुनाई कम हुने बच्चाहरूको पहिचान गरे पनि उपचार सुरु  हुन सकेको थिएन ।

कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, धुलिखेल अस्पतालका कार्यकारी प्रमुख डा.रामकण्ठ माकजु श्रेष्ठ, विभागीय प्रमुख डा.विकासलाल श्रेष्ठ लगायतले धुलिखेल अस्पतालको सेवालाई प्रभावकारी तथा गुणस्तरीय बनाउन समुदायको समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए ।

 धुलिखेल अस्पतालका विभागीय प्रमुख डा.विकासलाल श्रेष्ठले बच्चाहरूको सुनुवाइ राम्रो गर्न २०१७ देखि धुलिखेल अस्पतालले बालबालिकाहरूको पहिचान सुरु
गरेको बताए । कोरियामा भएको उपचार विधिका बारेमा डा.ओले सिकाए पछि धुलिखेल अस्पतालमा उनकै सहयोगमा बाललिकाहरुमा बहिरोपन पहिचान सुरु  गरिएको थियो । ‘७ वर्षको अवधिमा १८ हजार बालबालिकाहरूको परीक्षण गरिएको छ’–डा.विकासलाल श्रेष्ठले भने–‘एक सय जना बच्चाको परीक्षण गर्दा २-३ जना बच्चाहरुमा सुनाई कम हुने देखिएको छ ।’ बच्चाको सुनाई कम भयो उपचार भएन ? के गर्ने ? कोरियनहरुको सहयोगमा बच्चाहरुलाई सामाग्री उपलब्ध गराएको डा. विकासलाल श्रेष्ठले बताए ।

धुलिखेल अस्पतालले त्यस्ता बच्चाहरुलाई सहज उपचार र प्रविधिको उपलब्ध गराउने उद्देश्यले जर्मन र इटलीको सहयोगमा धुलिखेल अस्पताल भित्र र बाहिरका केन्द्रहरुमा आउने बालबालिकाहरूको पहिचानसँगै उपचार सुरु  गर्ने गरी कार्य प्रारम्भ गरेको हो । त्यति गर्दा पनि बच्चाहरुले सुन्न सकेनन् भने अप्रेसन गर्ने गरी तयारी गरेको डा. विकासलाल श्रेष्ठले भने । पहिलो चरण सामाग्री उपलब्ध गराउने, दोस्रो चरणमा अप्रेसन र तेस्रो चरणमा थप उपचारको तयारी गरेको छ । बच्चाहरुका अलावा थप उमेर समूहका व्यक्तिहरूका लागि पनि उक्त सेवा उपलब्ध गराउन धुलिखेल अस्पतालमा अलग्गै डेक्सको ब्यवस्थापन गर्ने तयारी गरिएको छ । बच्चाहरू जन्मँदै सुनाई कम भएको थाहा पाउन नसक्दा पछि आउने समस्या तथा उनीहरूले अध्ययन गर्न नसक्ने लगायतका थुप्रै जोखिमहरु न्यून हुने डा. श्रेष्ठले बताए ।

गर्भवती महिलाहरुले बच्चा पेटमा रहँदा खानपानमा ध्यान दिनु पर्ने विषयमासमेत सचेत गराउने गरी कार्यक्रमहरू सुरु  गरिएको छ । बच्चा जन्मने अवधि भन्दा अघि नै जन्मिएको अवस्थामा, वंशाणुगत अवस्थामा तथा आमाको पेटमा बच्चा रहँदा आमाले खान नहुने खानेकुराहरु सेवन गरेमा सुनाइमा समस्या हुन सक्ने डा. श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्