तीन युवतीलाई भारत पुर्‍याएर बेच्ने दुईजना पक्राउ


काठमाडौँ।

वैदेशिक रोजगारको प्रलोभन देखाइ भारत पुर्‍याएर एक लाख रुपैयाँका दरले तीन युवतीलाई बेचेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ घर भएका ३८ वर्षीय बच्चु विक सुनार र सोही ठाउँका ४७ वर्षीय दावा तामाङ भनिने दावा लामा छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बच्चुलाई ५ चैतमा कपनबाट र दावालाई १६ चैतमा टिकाथलीबाट पक्राउ परेको हो ।

उनीहरुले आकर्षक रोजगारीमा विदेश पठाइदिने भन्दै सिन्धुपाल्चोकका तीन युवतीलाई भारत लगेर १–१ लाख रुपैयाँका दरले बेचेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए। उनीहरुले ५ माघ २०६४ मा तीन जना युवतीहरुलाई काठमाडौंबाट वीरगञ्ज हुँदै भारतको शहिदनगर लगेर बेचेको आरोप छ ।

मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा उनीहरुविरुद्ध १ फागुन २०७८ मा फैसला भएको थियो । तीन वटा फरक–फरक मुद्दामा बच्चुलाई ३० वर्ष कैद र ३ लाख जरिवाना र दावालाई ६० वर्ष कैद र ६ लाख रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराईएको छ।