सामीको पहलमा मृतकका परिवारलाई २ करोड क्षतिपूर्ति



स्याङ्जा।

स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा वैदेशिक रोजगारीका क्रममा मुत्यु भएका ९ जनाको क्षतिपूर्तिबापत मृतकका आफन्तले झण्डै २ करोड प्राप्त गरेका छन् ।
वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउने उद्देश्य रहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को सहजीकरणमा उनीहरुले उक्त रकम प्राप्त गरेका हुन् ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म आप्रवासी स्रोत उपकेन्द्रमा ९ मृतकका आफन्तले क्षतिपूर्तिको सहजीकरणका लागि निवेदन दिएकामा प्रक्रिया पूरा गरी ९ जनाकै समस्या समाधान गरिएको सामीका परामर्शकर्ता कोपिल भुसालले बताए । क्षतिपूर्ति प्राप्तिका लागि सामीले कानुन व्यावसायीको मद्दत लिएर आवश्यक कार्य अगाडि बढाएको र सोही प्रयत्नको फलस्वरुप क्षतिपूर्ति, बिमा, बाँकी तलब, सेवापश्चात पाउने रकम सम्बन्धित कम्पनीमार्फत प्राप्त सहयोग जुटाएको जनाएको छ । मृतकका आफन्तलाई १ करोड ७३ लाख ६ हजार क्षतिपूर्तिबापत प्राप्त रकम उपलब्ध गराइएको हो ।

त्यस्तैगरी, ठगीसम्बन्धी ३ समस्यामध्ये एउटा समाधान गरी ७ लाख फिर्ता गराइएको छ भने २ जनाको प्रक्रियामा रहेको छ । पासपोर्ट होल्ड, भिसा चेक, परिवार तथा कामदार बिरामीजस्ता विभिन्न समस्यामा परेका १९ उजुरीमध्ये आप्रवासी स्रोत उपकेन्द्रमार्फत प्रक्रिया थाली ५ वटा समाधान भएको भुसालले बताउनुभयो । ५ वटा समस्याको समाधान गर्दा २ लाख ५ हजार आर्थिक सहायता उपलब्ध गराइएको छ । बाँकी १४ वटा समस्या समाधानका लागि प्रक्रियामा रहेका छन् ।

सम्झौताअनुरुप काम नलगाई अन्य काममा पठाइएका व्यक्तिलाई स्वदेश झिकाइ सामीले क्षतिपूर्ति समेत उपलब्ध गराउने गरेको छ । इलाका प्रशासन कार्यालय वालिङमा राहदानीका लागि आएका व्यक्तिले साउनदेखि पुससम्म सुरक्षित आप्रवासन कार्यक्रम (सामी) बाट ३ हजार ५० जनाले परामर्श लिएका छन् । सामी कार्यक्रममार्फत मुख्यगरी सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका क्षेत्रमा काम गर्दै आइरहेको भुसालको भनाई छ । “इलाका प्रशासन कार्यालय वालिङमा राहदानी बनाउन आएका व्यक्तिहरुको वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरिहत बनाउनका लागि सामी कार्यक्रममार्फत परामर्श दिन्छौँ”, उनले भने, “परामर्श लिएर वैदेशिक रोजगारीमा जाँदै गर्दा धेरै सहज भएको बुझाइ हाम्रो छ ।”

दुर्घटनामा परी घाइते तथा अपाङ्गता भएको अवस्थामा अवस्था हेरी १ लाखदेखि ७ लाखसम्म पाउने व्यवस्था रहेको परामर्शकर्ता भुसालले बताए । आप्रवासी स्रोत केन्द्र वालिङमा परामर्श लिनेहरु दैनिकजसो आउने गरेका छन् । इलाका प्रशासन परिसरमै रहेको उक्त केन्द्रमार्फत परामर्श लिने बढ्दै गएका हुन् ।

आप्रवासी स्रोत केन्द्रमा परामर्श लिनेमा ६ महिनाको अवधिमा पुरुष १ हजार ६ सय २२ र महिला १ हजार ४ सय २८ रहेको उनले जानकारी दिए । सबैभन्दा धेरै वालिङ नगरपालिकाका व्यक्तिहरुलाई परामर्श दिइएको छ । वालिङका कूल ९ सय ८६ जनाले परामर्श लिएका छन् ।

यसैगरी, गल्याङ नगरपालिकाका ६ सय २८, चापाकोट नगरपालिकाका ५ सय २७, कालीगण्डकी गाउँपालिकाका ४ सय ३६, हरिनास गाउँपालिकाका १ सय ६२, भिरकोट नगरपालिकाका १ सय ६१, बिरुवा गाउँपालिकाका १ सय ४५, आँधीखोला गाउँपालिकाका २, पुतलीबजार नगरपालिका तथा फेदीखोला र अर्जुनचौपारी गाउँपालिकाका एक–एक जनालाई स्रोतकेन्द्रमार्फत परामर्श दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्