पर्यटन उद्योग : देशको अर्थतन्त्रको मेरुदण्ड



काठमाडौं ।

नेपाल ७ प्रदेश ७७ जिल्लामा हरेक क्षेत्रमा विविधता भएको देश हो, जुन पर्यटनको लागि अत्यन्त अपरिहार्य विषयवस्तु रहेको छ। भौगोलिक विविधता, संस्कृति, प्रकृति, भाषा, भेषभूषाको विविधताले यो देशलाई थप रंगीन बनाएको छ।

पर्यटन विकासको प्रबल सम्भावना बोकेको देश, सगरमाथाको देश, शान्तिभूमि बुद्धको देश, भृकुटी र अरनिकोको देश, सीता र जनकको देश नेपाली पहिचान विश्वभरि बोके तापनि नेपाल भनेर विश्वमा चिनाउन अझै बाँकी नै रहेको जस्तो लाग्छ। म केही समयअगाडि स्विडेन र यहाँको राजधानी स्टकहोम घुम्न जाँदा केही नयाँ मित्रहरूले तपाईंको देश इन्डिया हो भनेर सोधेका थिए। अन्य राष्ट्रका व्यक्तिहरू विभिन्न क्षेत्रहरूमा आफ्नो पहिचान बोकी आफ्नै देशलाई चिनाउन हरपल अगाडि बढिरहेका छन्।

त्यसै गरी हामीले विश्वको सामु हाम्रो देश नेपालको पहिचान फैलाउनु अत्यन्त आवश्यक देखिन्छ । पर्यटन क्षेत्रलाई विस्तार गर्न र यसबाट विभिन्न मुलुकमा हाम्रो पहिचान राख्नको निमित्त राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रका कार्यहरु गर्न जरुरी छ।

पर्यटन क्षेत्रको विकासको लागि विभिन्न देशमा गएर आफ्नो देशको बारेमा केही भन्न सकियो भने यो क्षेत्र अगाडि बढ्ने प्रबल सम्भावना देखिन्छ। नेपालमा झन्डै १० लाखभन्दा बढी वार्षिक पर्यटक भित्रिएको अनुमान छ। यसले गर्दा विदेशी मुद्रा आर्जनको दरिलो स्रोतको रूपमा पर्यटन क्षेत्रलाई लिन सकिन्छ।

कृषि उद्योगजस्तै पर्यटन उद्योग पनि देशको अर्थतन्त्रको मेरुदण्ड हो। यसलाई अलि गम्भीर तरिकाले सोच्ने र भावी योजनाहरू बनाउने अनि हाम्रा पुराना संरचना जोगाउन पूर्वाधारहरूको विकास गर्ने हो भने पर्यटनले देशको आर्थिक समृद्धिमा ठूलो भूमिका खेल्नेछ।

प्राकृतिकरुपले सम्पन्न धनी मुलुक नेपाल अत्यन्त सुन्दर, शान्त, रमणीय देशको रुपमा चिनिन्छ । यसलाई हाम्रो पहिचानको दायराभित्र राखेर फराकिलो र विस्तार गर्नुपर्ने अनिवार्य देखिन्छ । केही व्यक्तिहरू यस क्षेत्रमा वर्षौंदेखि आबद्ध या व्यवसायको रुपमा होस्, कामको रुपमा होस्, विदेशी पर्यटकहरू भित्र्याएर आफ्नो आर्थिक अवस्था र देशको केही क्षेत्रलाई उकासे पनि सरकारीतर्फबाट यसको लागि पहल हुन सके अझै बढी पहिचान बलियो र विभिन्न विश्वका क्षेत्रहरुमा विस्तार हुन सजिलो हुन्थ्यो होला ।

नेपालमा प्राकृतिक दृश्यको लागि, पदयात्राको लागि, धार्मिक महत्वको लागि, रहनसहन सिक्नको लागि, भेषभूषा बदल्नको लागि, विभिन्न रहरहरू पूरा गर्नको लागि विभिन्न क्षेत्रबाट पर्यटकहरू भित्रिने गरेका छन् । सरल नेपाली बहादुर गोरखालीको रुपमा नेपालीले धेरै ठाउँमा आफ्नो पहिचान कायम गरिसकेको कुरा हाम्रो इतिहासमा अवगत नै छ । हामीले हाम्रो चिनारी उच्च र विस्तार गर्नको निमित्त धेरैतिरबाट निरन्तर प्रयास गर्नुपर्छ।

पर्यटन क्षेत्रलाई एउटा मुख्य विधाको रूपमा लिन सके धेरै व्यक्तित्वलाई रोजीरोटी र कामकाजको व्यवस्था सजिलै हुन सक्ने थियो । यसो गर्नु अपरिहार्य छ । नेपालको नजिकै रहेका राष्ट्रहरु पर्यटन विकासले धेरै आर्थिक समृद्धि हासिल गरेको उदाहरण हाम्रो सामु छ । थाइल्यान्ड, भारत, इन्डोनेसिया र भुटानबाट पनि यो पाठ सिक्न सकिन्छ ।

धार्मिक पर्यटकहरूलाई पनि हामीले प्रबल सम्भावनाको रूपमा लिई धार्मिक स्थललाई सुधार र जीर्ण हुन लागेका मठमन्दिरहरूलाई संरक्षण गरी हाम्रो पहिचान विश्वसामु पस्कन सकिन्छ । धार्मिक पर्यटकलाई आकर्षित गर्नको निमित्त हामीले विभिन्न धार्मिक कार्यक्रमहरू राख्न जरुरी छ।

हिजोआज पशुपतिनाथको क्षेत्रवरिपरि हामीले धेरै छिमेकी पर्यटकहरूको उपस्थित भेट्न सक्छौँ । पर्यटकहरू विभिन्न कुराहरू सिक्न, धर्म गर्न, सन्तुष्टि प्राप्त गर्न धेरै टाढाबाट धेरै समय लगाएर आउने गरेका छन् । उनीहरूलाई हामीले सहज र उचित वातावरण दिन सक्यौं भने अन्य मुलुकभन्दा हामी धेरै अगाडि पुग्न सक्छौँ ।

सन् २०२३ मा १४८ देशका १० लाख १४ हजार ८ सय ७६ नागरिकले नेपाल भ्रमण गरेको तथ्यांक छ । माथिको तथ्यांकले कोरोनापछिको पर्यटकको आगमन निकै सकारात्मक देखिन्छ । पर्यटन क्षेत्रले हामीलाई धेरै आत्मविश्वास जगाई आर्थिकरुपले बलियो बनाएर मानिसको सोचमा परिवर्तन ल्याउने कुरामा द्विविधा छैन ।

हालै म्याग्दी जिल्लामा महावीर पुनद्वारा सञ्चालित विभिन्न पर्यटकसँग सम्बन्धित कार्यहरू र स्थानीय उत्पादनको विकासले त्यस क्षेत्रका मानिसहरूको आर्थिक अवस्था उकास्न सहयोग भएको छ । पदमार्गहरूवरपर रहेका बस्तीहरू उज्यालो हुँदै जाने र नयाँ थप कुराहरूको जानकारी हुँदै जाने गरेको छ।

नयाँ गन्तव्यको खोजी कार्य हुनु, यसलाई पहिचानमूलक खोजीको रुपमा राख्नु पनि पर्यटनको एउटा पाटो हो। सगरमाथाका साथै अन्य हिमाल आरोहणदेखि लिएर यहाँको प्राकृतिक आनन्द लिनु, रमणीय वातावरण र शान्तिको अनुभव गर्नु पर्यटकहरूको चाहना हुन्छ । यसको विकासले गर्दा विभिन्न क्षेत्रको आर्थिक पाटो सहज हुन जान्छ र देश विकासमा टेवा मिल्छ ।

पर्यटनको महत्वको कारणले हाल विभिन्न क्षेत्रमा ऐतिहासिक, सामाजिक, सांस्कृतिक वस्तुको खोजी भएको छ। पर्यटकको अपरिहार्य विषय पनि यही रहेको छ। पर्यटन र वातावरण एक–आपसमा अन्तर विषय हुन्। राम्रो, उचित, आनन्द, शान्त स्थानको भ्रमण र अवलोकन गर्ने पर्यटकहरूको अपेक्षा हुन्छ। त्यसैले पर्यटकीय क्षेत्रको वातावरणीय स्वच्छतामा विशेष महत्व दिनुपर्छ। पर्यटन क्षेत्रको विकास गरी विभिन्न मुलुकबाट आएका पर्यटकहरूसँग भावना, संस्कृति, कलाकौशलका बारेमा विचार–विमर्श एवं साटासाट गर्नु पनि पर्यटनमा सघाउ पर्‍याउनु हो।

यस क्षेत्रको विकासले ग्रामीण भेगको जनजीवन उकास्नुको साथसाथै धेरैभन्दा धेरै यस व्यवसायबाट लाभान्वित हुन्छन् । उत्पादन भएका सामग्रीहरू सहजै खपत हुने र आफूमा भएको सीपलाई सदुपयोग गर्ने कुराको विकास हुँदै जान्छ । ‘खोजिएको स्वर्ग ः नेपालको पर्यटनमा अभिन्न भूमिका र आवाज’ भनेजस्तै हामीले हरेक क्षेत्रलाई उकास्ने पहल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्