क्षयरोग पहिचानमा उपकरणको अभाव 



 नवलपरासी। 

समाजमा भित्र भित्रै लुकेको सरुवा राेग क्षयरोगको पहिचानमा प्रभावकारी उपकरणको अभाव देखिएको छ ।
छोटो समयमै मानिसको शरीरमा रहेको क्षयरोगका ब्याक्टेरिया पत्ता लगाउन अत्यावश्यक जेनेक्सपर्ट उपकरण जिल्लामा एउटा मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।स्वास्थ्य कार्यालयले विश्व क्षयरोग दिवसकाे अवसरमा आयाेजित एक अन्तरक्रियामा जिल्लामा क्षयरोगको स्थिति र पहिचान उपकरण सम्बन्धमा सो जानकारी दिएको हो ।

प्रयोगशालामा क्षयरोगका बिरामीबाट लिइएको खकार परीक्षण गर्न माईक्रोस्कप, जेनेक्सपर्ट र कल्चर प्रविधि प्रचलनमा रहेको बताइन्छ ।
कल्चर प्रविधिको परीक्षणकाे नतिजा आउन समय लाग्ने, माईक्रोस्कपले जीवाणुको उपस्थितिलाई सानो परिमाणमा देखाउन नसक्ने हुँदा जेनेक्सपर्ट उपकरण बढी प्रभावकारी भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

पहाड, भित्री मधेस र तराईमा फैलिएको पूर्वी नवलपरासीमा मध्यबिन्दु जिल्ला अस्पतालमा मात्रै यो उपकरण रहेको छ । विश्व तथ्यांकले देखाए अनुसार समाजमा क्षयरोग पहिचानको अवस्था सामुद्रिक आईसवर्गकाे  थाेरै भाग देखिए जस्तैकाे स्थितिमा रहेको छ ।बिरामीको थुकेका छिटाबाट सहजै सर्ने क्षयरोगबाट बच्न मानिस भिडभाडमा जाँदा माक्सकाे प्रयोग गर्नु नै उत्तम मानिएको छ ।

यस आर्थिक वर्षको माघ महिना सम्म जिल्लामा २ सय ८४ जना क्षयरोगका बिरामीको पहिचान भएको स्वास्थ्य कार्यालयकाे तथ्यांकले देखाएको छ ।
पालिका गत हिसाबले यहाँका ८ स्थानीय तह मध्ये सदरमुकाम स्थित कावासोती नगरपालिकामा सबै भन्दा बढी ६४ र पहाडी बाैदिकाली गाउँ पालिकामा सबै भन्दा का ४ जनामा क्षयरोग पहिचान भएको छ ।

जर्मन वैज्ञानिक डा.राेवर्ट कचले सन १८ सय ८२ मार्च २४ मा माइक्रो ब्याक्टेरियाका कारण मानव शरीरमा क्षयरोग हुने तथ्य पत्ता लगाएसँगै यो दिनलाई विश्व क्षयरोग दिवसका रूपमा मनाइँदै आएको छ ।

बताइए अनुसार हरेक मानिसमा ५ देखि १५ प्रतिशत क्षयरोगका ब्याक्टेरियाले प्रवेश पाएको हुन सक्ने र उपयुक्त वातावरण पाउँदा ती ब्याक्टेरिया सक्रिय भई मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्