नवलपुर पर्यटनको हब बन्दै, पहाडमा हाईकिङ्ग तराईमा कायकिङ्ग

112
Shares

 नवलपरासी।

मुलुकको मध्य भागमा अवस्थित पूर्वी नवलपरासी  आन्तरिक पर्यटनको हब बन्दै गएको छ । विशेषत नवलपुर भनेर चिनिने यस जिल्लाको तराईमा कायकिङ्ग र पहाडमा हाईकिङ्ग क्षेत्रकाे विकास गर्न स्थानीय तहहरू लागि परेका छन् ।

यसै बीच हुप्सेकाेट गाउँ पालिकाले यहाँको द्यौवादी डाँडामा हाईकिङ्गका लागि पदमार्ग निर्माणकाे थालनी गरेको जनाएकाे छ ।पालिकाकाे महत्त्वपूर्ण याेजना पदमार्गबाट महाभारत पहाडका उच्च चुचुरा र पौराणिक तथा धार्मिक महत्त्वका पाेखरीहरू एउटै पथमा जाेडिने गाउँ पालिका अध्यक्ष लक्ष्मीदेबी पाण्डे बताउँछन्  ।
यहाँकाे मनाेरम गाेलपाेखरीबाट करिव ६ फुट चाैडाईकाे सव स्टक्चरसहित प्राकृतिक ढुङ्गा बिछ्याएर निर्माण हुँदै गरेको पदमार्ग ३ किलाे मिटर लम्बाइकाे रहेको छ । संघीय बजेट शीर्षक अन्तर्गत १ कराेड ४३ लाखको ठेक्का सम्झौतामा आँउदाे असार सम्म सक्ने गरी पदमार्गको काम भई रहेको इन्जिनियर विनोद अर्यालले बताए ।

पूर्व पश्चिम एसियन हाईवेबाट छाेटाे समयमै पुग्न सकिने गोल पोखरी क्षेत्र दक्षिणमा तराई र उत्तर हिमाली दृश्य अवलोकनका लागि उत्तम ठाउँ मानिन्छ ।
गाेलपाेखरी सेनवंशीय तथा प्राचीन राजा महाराजाहरूकाे मनोरञ्जन गर्ने भूमि भएको देवचुली डाँडा पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष विद्रोही गिरीले बताए ।
पदमार्गसँगै सोही चाैडाईकाे एक्सपान्सन ब्रिजले गाेलपाेखरी स्थित शान्ति पार्क पूर्वको डाँडालाई जोडेर हिमाली दृश्य नियाल्ने गाेलघर निर्माण गर्ने पालिकाकाे याेजना रहेको छ ।

पूर्व पश्चिम महाभारत पहाडकाे पानी ढलाेलाई छिचोल्दै छिमेकी बाैदिकाली र पाल्पाकाे निस्दी सम्म फुटट्रेल बिस्तार हुँदा हाईकिङ्ग तथा प्राकृतिक दृश्य अवलोकनका लागि याे क्षेत्र आकर्षक पर्यटकीय केन्द्र बन्ने बताईन्छ । आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँकाे देवचुली डाँडा,धाैवादीकाे हवाई पंखा,रूद्रपुरगढी अबलाेकन गर्दै लाहापे, चुलीबाेझाका गुरूङ्ग तथा मगर हाेमस्टेेमा रात बिताउने गर्दछन् ।हुप्सेकाेट गाउँ पालिकाले पदमार्ग निर्माण क्षेत्र पर्यटकीय स्थल धाैवादीमा नमुना एकीकृत बस्ती विकास, राष्ट्रिय फूल लाली गुराँस संरक्षण जस्ता कार्यक्रम अघि बढाएको छ ।

यसै सम्बन्धमा सहरी विकास तथा भवन विभागका पूर्व उपमहानिर्देशक बुद्धिशागर थापा पहाडी क्षेत्रमा बन्ने पदमार्गले पर्यटन क्षेत्रकाे बिकासमा सघाउ पुग्ने बताउँछन्  । पर्यटकीय हिसाबले नेपालका फेवा,मार्दि,हिङ्कु,मनास्लु, कुलेखानी,लाङटाङ,पालुङ्वा, अन्नपूर्ण आईस, सर्किट,  काठमाडौँ एमटिबी लगायतका फुट ट्रेलहरू प्रसिद्ध छन् ।

द्यौवादी जस्तै जिल्लाको १९ सय ३८ मिटर अग्लाे देवचुली डाँडा चढ्न ठाँउ ठाउँमा पदमार्ग बनेकाछन् भने किर्तीपुरबाट पनि हाईकिङ्गका लागि काम अघि बढेकाे छ ।देवचुली नगर प्रमुख हरि प्रसाद न्यौपाने पर्यटन विकास बाेर्ड र नगरपालिकाकाे बिनियाेजित बजेटमा पर्यटकीय क्षेत्र देवचुली चढ्न छाेटाे बाटाे कीर्तिपुर हुँदै पदमार्ग निर्माण भइरहेको बताउँछन्  ।

त्यसै गरी जिल्लाको मध्यविन्दु नगरपालिकामा गण्डकी प्रदेश खेलकुद परिषद्ले कायाकिङ्गकाे नमुना परीक्षण गरेको छ ।


स्थानीय नारायणी नदीमा गरिएको कायकिङ्गकाे प्रतियाेगितात्मक खेलले जिल्लाको आन्तरिक पर्यटनका लागि ढाेका खुलेकाे परिषदका सदस्य सचिव श्रीधर शर्माले बताए । कायकिङ्गका अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक निम मगरका अनुसार साहसिक खेल फ्ल्याट रिभर बाेटिङ्गका लागि मध्यविन्दुकाे तटीय जल क्षेत्र उत्तम रहेको परीक्षणले देखाएको छ ।

नेपाल रयाफ्टिङ एण्ड क्यानाेईङ एसाेसियसन गण्डकीकाे प्राविधिक सहयाेगमा गत माघ २२ गते खुल्ला राष्ट्रिय कायकिङ्ग प्रतियाेगिता नवलपुरमा सम्पन्न  भएको थियाे ।जंगल सफारी, धार्मिक तथा सांस्कृतिक पर्यटनमा हाईकिङ्ग र कायकिङ्ग जाेडिदा नवलपुर आन्तरिक पर्यटनको हब बन्दै गएको विज्ञहरू बताउँछन् ।