ललितपुरस्थित ज्येष्ठ वर्ण महाविहारको नवनिर्मित भवनको उद्घाटन



ललितपुर।

ललितपुरस्थित ज्येष्ठ वर्ण महाविहारको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। नेपालको सांस्कृतिक सम्पदा क्षेत्रका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको सो भवनको शुक्रबार उद्घाटन गरिएको हो।

नवनिर्मित भवनको शहरी विकास मन्त्री धन बहादुर बुढा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको जेष्ठ वर्ण महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब १३.७८ करोड अनुदान सहयोगमा पुनर्निर्माण भएको हो। नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले यो परियोजनाको कार्यान्वयन गरेको हो ।

मन्त्री धन बहादुर बुढाले भूकम्पपछिको पुनर्निर्माणमा गरेको सहयोग र नेपालको आर्थिक विकासमा चालेको प्रयासका लागि भारत सरकारको प्रशंसा गरे ।

उद्घाटन समारोहमा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गरे। उनले भने, ‘भारत र नेपालको ऐतिहासिक सांस्कृतिक समानता र सम्पदा हाम्रा भावी पुस्ताका लागि संरक्षण गर्न आवश्यक छ । तसर्थ यस्ता सम्पदा क्षेत्रहरुको पुनर्स्थापना गर्ने साझा प्रयास रहेको छ । यो हातेमालोले दुई देशबीचको मैत्री सम्बन्धलाई मजबुत बनाउनुका साथै यसले हाम्रो साझा सांस्कृतिलाई पनि प्रतिबिम्बित गर्दछ ।’

सो समारोहमा ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाता INTACH का प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

भारत सरकारले नेपालका ७ वटा जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा स्थलको संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत भारत सरकारले नेपालको गोरखा र नुवाकोट जिल्लामा ५०००० निजी आवास, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था तथा दश जिल्लामा १३२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणका लागि सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्