चैत १५ बाट पाठ्यपुस्तक बिक्री शुरु

१ करोड ६३ लाख थान छपाइ सकियो, ११ लाख थान मात्रै बाँकी

266
Shares

 काठमाडौं ।

आगामी शैक्षिक सत्रका आगामी चैत १५ गतेबाट पाठ्यपुस्तक बिक्री शुरू हुने भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले चैत १५ गतेबाट पहिलो चरणमा ९ वटा क्षेत्रीय कार्यालयअन्तर्गत हिमाली क्षेत्रबाट पाठ्यपुस्तक बिक्री हुने जनाएको छ।

जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाका अनुसार २४ सै घण्टा छपाइ मेसिन सञ्चालन गरी दैनिक १ लाख ५० हजार थान पाठ्यपुस्तक छपाइ भइरहेको छ।

केन्द्रको तथ्याङ्कअनुसार कुल १ करोड ७४ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्छ। त्यसमध्ये अहिलेसम्म १ करोड ६३ लाख थान छपाइ सकिसकेको छ भने ११ लाख थान छापिने क्रममा छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शैक्षिक सत्रको पहिलो दिन देशैभरका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिनुभएको थियो। सोही आधारमा आगामी शैक्षिक सत्र अर्थात् वैशाख २ गतेअगावै पाठ्यपुस्तक पुर्‍याउने तयारी भएको जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जानकारी दिनुभयो ।

जनक शिक्षाले पहिलो चरणमा ७ प्रादेशिक कार्यालय, नेपालगञ्जको प्रिन्टिङ कार्यालय र मुख्यालयसहित ९ कार्यालयबाट सबैभन्दा पहिला हिमाली, त्यसपछि पहाडी र तराईका जिल्लामा पाठ्यपुस्तकहरू ढुवानी गर्नेभएको छ। प्रबन्ध सञ्चालक झाकाअनुसार अन्तिममा उपत्यकाका जिल्लामा पाठ्यपुस्तकहरू बिक्री गर्नेगरी तयारी थालिएको छ ।

जनक शिक्षाले हाल ५ रंगीन, १ सिंगलकलर, २ रंगिन सिटफेड र ४ वटा सिंगल कलरको सिटफेड मेसिनबाट पाठ्यपुस्तक छपाइ गरिरहेको छ । तथ्याङ्कअनुसार कक्षा १ देखि १० सम्म करिब ५० लाख विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीका लागि झण्डै १ करोड ७४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ । कक्षा ३ देखि १० सम्मको तथ्याङ्कअनुसार कक्षा ३ को ४ लाख २० हजार, ४ को १ लाख ७७ हजार, ५ को ६ लाख, ६ को २८ लाख, ७ को २८ लाख, ८ को २९ लाख , ९ को ३२ लाख र १० कक्षाको ३३ लाख पाठ्यपुस्तक छपाइ भइसकेको छ । अब कक्षा ५ को ११ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी रहेको प्रबन्ध सञ्चालक झाले जानकारी दिनुभयो।

छपाइ भइसकेको पाठ्यपुस्तक धमाधम क्षेत्रीय र सम्पर्क कार्यालयमा बिक्रीको लागि ढुवानी भइसकेको छ। केहीकेहीमा बाहेक सबै प्रादेशिक कार्यालयमा पर्याप्त मात्रामा पाठ्यपुस्तक ढुवानी भइसकेको जानकारी दिँदै जनकशिक्षाका प्रबन्ध सञ्चालक झाले भन्नुभयो– आगामी वर्षको लागि आवश्यक पाठ्यक्रम सजिलै पुर्‍याउनेछौं।’ जनकशिक्षाले चालु शैक्षिक सत्रको लागि पनि समयमै पाठ्यपुस्तक छपाइ पूरा गरेको थियो ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पुग्ने दाबी गर्नुभयो । उहाँका अनुसार केन्द्रले दैनिकजसो अनुगमन जारी राखेको छ ।

शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रलाई दिएको छ । जनकशिक्षाले बिक्री खुला गरेको तीन दिनभित्र अर्थात् चैतको दोस्रो साता हिमाली जिल्लामा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्य राखेको छ।

शुरूमा हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, बाजुरा, जाजरकोट, रुकुम रसुवा, मनाङ, मुस्ताङलगायतका जिल्लामा पुर्‍याइने बताइएको छ। पाठ्यक्रम विकास केन्द्रले समयमै पीआरसी(प्रिन्ट रेडी कपी) उपलब्ध गराएको कारण छपाइमा कुनै समस्या नभएको जनकशिक्षाको भनाइ छ ।

पाठ्यक्रम विकास केन्द्रले कात्तिकमै पुस्तक छपाइबारे छिटो निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गरेको थियो। सोही आधारमा मन्त्रालयले निर्णय गरेपछि छपाइ शुरू भएको थियो।

कुन कक्षाको कति सकियो

कक्षा ३– ४ लाख २० हजार थान
कक्षा ४–१ लाख ७७ हजार थान
कक्षा ५– ६ लाख थान
कक्षा ६– २८ लाख थान
कक्षा ७– को २८ लाख थान
कक्षा ८– को २९ लाख थान
कक्षा ९– को ३२ लाख थान
कक्षा १०– कक्षाको ३३ लाख थान