१७ वर्षदेखि ओछ्यान परेका खड्गीलाई घरमै नागरिकता

1.7k
Shares

ललितपुर।

जिल्ला प्रशासन कार्यालय ललितपुरले पूर्ण रुपमा अशक्त र तथा अपाङगता भएका नागरिकलाई घरमै गएर नागरिकता वितरण गर्ने कार्य थालनी गरेको छ ।

प्रशासनले नख्खु निवासी १७ वर्षीया कृषा खड्गीलाई घरमै गएर नागरिकता वितरण गरी सो कार्यको शुरुआत गरेको हो। खान,बस्न समेत नसक्ने खड्गीलाई प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले नागरिकता प्रदान गरे। नागरिकता लिइरहँदा कृषा मुुसुमुसु हाँसीरहेकी थिइन् ।त्यसपछि प्रजिअ श्रेष्ठले कृषासंग केहीबेर कुराकानी गरे।

नागरिकता वितरण गर्न प्रमुख जिल्ला अधिकारी श्रेष्ठसहित सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, प्रशासकीय अधिकृत सुजन फागो लिम्बु र नागरिकता फाँटका कर्मचारीको टोलीसहित नख्खु पुगेको थिए।

छोरीको नागरिकताको लागि बाबु कृष्णप्रसाद खड्गी विहीबार मानभवनस्थित कार्यालय पुगेका थिए।कार्यालय पुगेर बुबा कृष्णप्रसादले छोरी पूर्ण अशक्त रहेकोले जनाउँदै सनाखतका लागि कार्यालय आउन र ल्याउन नसकिने कुरो राखे ।त्यसपछि यो कुरो सहायक प्रजिअ घिमिरे मार्फत थाहा पाएपछि प्रजिअ श्रेष्ठले घरमै गएर सनाखत गरी नागरिकता वितरण गर्ने निर्णय गरेका थिए।

प्रशासनको टोली घरमै आएर नागरिकता वितरण गरेपछि परिवारमा खुशी छाएको थियो। छोरीको अवस्था बुझेर प्रशासनको टोेली घरमै आएर नागरिकता वितरण गरेको देख्दा खु्शीको महशुस गरेको कृष्णप्रसादले बताए।

‘ नागरिकताको प्रमाणपत्र सबै प्रकारको अधिकारको आधारभूत दस्तावेज हो। कोही पनि नेपाली नागरिक नागरिकता पाउनबाट वञ्चित हुनुहुँदैन।त्यसैले क वर्गका अपाङगता भएका नागरिकलाई घरमै गएर नागरिकता वितरण गरिने छ । ’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने।

२०६३ मंसिर ४ गते जन्मिएका खड्गीमा सात महिना भएपछि हात खुट्टा र जीउ चलाउन नसक्ने समस्या देखिएको आमा शोभा खड्गीले बताइन् ।‘ त्यसयतादेखि २४ घण्टा ओछ्यानमा पल्टिएर छोरीले जीवन बिताउनुपरेको छ।एक्लै खान, पिउन, दिशा, पिशाब समेत गर्न सक्दैन । ’ शोभाले भनिन ‘ शरीरको तौलको कारण उपचारको लागि बाहिर लाने र ल्याउन समेत गर्न सकेको छैन ।’ खड्गीको तौल ६५ किलो रहेको उपचारका लागि अनेक प्रयास गर्दा पनि छोरीको स्वास्थ्य सुधार नआएको पनि परिवारको भनाई रहेको छ। अपाड्डता भएका कारण छोरीलाई पढाउन र लेखाउन नसकेको परिवारका सदस्यहरु बताउँछन्।

तोकिएको कागजात उपलब्ध गराउँदा पनि नागरिकता वितरणमा अनावश्क ढिलासुस्ती गर्ने गरेको, भएको प्रमाण नहेर्ने र नभएको प्रमाणमात्रै खोजिरहने गुनासो आएको जनाउँदै प्रशासनले सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउने बताइएको छ ।