आय आर्जनको उत्तम  विकल्प, कबुलियती वनमा अम्रिसो खेती

196
Shares

नवलपरासी ।

जिल्लाका १ सय ६७ कबुलियती वनबाट अहिले अम्रिसाको फूल सङ्कलन गर्ने कार्य जारी छ। अम्रिसोको फूल थुतेर स्थानीयले कुचोका लागि बजारमा पठाई आय आर्जन गर्ने गरेका छन् ।

आफ्ना बारी कान्ला खोस्रेर वर्ष भरिको खर्चपानी जुटाउन हम्मे परेका विपन्न परिवारका लागि त अम्रिसो खेती उत्तम विकल्प बनेकाे छ ।यस वर्ष कुचोका लागि अम्रिसाको फूल टिपेर सुकाउने तथा बिक्रीका लागि सङ्कलन गर्ने कार्य अन्तिम चरणमा पुगेको हुप्सेकाेट ५ का कबुलियती वन समूह अध्यक्ष यमबहादुर बाह्रघरेले बताए ।समुदायको अतिरिक्त आम्दानीको स्राेत अम्रिसोलाई बजार पठाउनु अघि सुरक्षित राख्न डिभिजन वन कार्यालय नवलपुरले भण्डार गृह बनाउन  सहयोग गर्दै आएको छ ।

एउटै परिवारले अम्रिसोबाट वार्षिक १ देखि १ लाख २५ हजार सम्म आम्दानी लिने गरेकाे कवुलियती वनका जिल्ला सुपरभाइजर तुल बहादुर थापा बत्ताउँछन् ।

अम्रिसो खेतीकाे बिक्रीबाट गत वर्ष जिल्लामा ३ करोड १८ लाख ५६ हजार बढी रकम भित्रिएको थियो ।यस वर्ष अम्रिसोले बजार भाउ अलिक नपाउँदा राम्चेका किसान आस बहादुर रानाको आक्रोशपूर्ण गुनासो छ ।त्यसो त अम्रिसोले विपन्न किसानलाई दोहोरो फाइदा दिएको छ, कुचो बेचेर आय आर्जन तथा वस्तु भाउका लागि घाँसपात ।

डिभिजन वन कार्यालय नवलपरासी पूर्वका प्रमुख वसन्त केशव अधिकारीका अनुसार अन्य ठूला रूखपात नभएका निम्छरा डाँडा पाखालाई कवुलियती वनमा विकास गरिएको हो ।कबुलियती वनले स्थानीयको आमदानी बढाउनुका साथै भिराला जमिनका सानातिना भू क्षयलाई राेक्ने काम गरेकाे अधिकारीको कथन छ ।
जिल्लाका अधिकांश वनका रूखपात सुकेर डाँडै उजाड भई सक्दा यहाँका बाैदिकाली,बुुलिङ्ग,हुप्सेकाेट र विनयीका कबुलियती वनमा चैतको पहिलो साता सम्म हरियाली कायमै छ ।जिल्लाकाे पहाडी क्षेत्रमा स्थानीयको जीविकाेपार्जनका लागि अम्रिसो,तेजपत्ता,अलैँची तथा कुरिलो खेतीलाई जिल्ला वनले आर्थिक तथा प्राबिधिक सहयोग दिँदै आएको वन अधिकृत शिशिर लम्साल बता उँछन् ।

डिभिजन वनले स्थानीयको आय आर्जनका लागि समूह,समूह  बनाई हरेक १० वर्षमा नवीकरण गर्ने गरी कबुलियती वन समुदायलाई दिने गरेकाे छ ।
यसबाट ग्रामीण समुदायमा थप आम्दानी,श्रमकाे सदुपयाेग,भूक्षयकाे न्यूनिकरण, डढेलाे नियन्त्रण तथा वातावरणमा हरियाली कायम गर्ने कुरामा सघाउ पुगेको विज्ञहरू बत्ताउँछन् ।