माओवादी र समाजवादीबीच एकताको सहमति

756
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकताको सहमति भएको छ । शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी एकता संयोजन समितिको बैठकले दुई पार्टीबीच एकता गर्ने सहमति गरेको हो ।

एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय भएको छ । पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा छन् । कार्यदलमा नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादब रहेका छन् ।

एकता संयोजन समितिको बैठक माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सभाध्यक्षतामा बसेको थियो । बैठकमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङको पनि सहभागिता थियो । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राययादब, सहअध्यक्ष श्रेष्ठ र महासचिव रमेशप्रसाद यादब सहभागी थिए ।