आँगनका गैँडा स्थानान्तरण हुँदा पर्यटन व्यवसायी निराश

98
Shares

नवलपरासी  ।

पाहुनालाई जत्तिकै माया गरेका गैँडा आफ्नै आँगनबाट स्थानान्तरण हुने कुराले नवलपुरका पर्यटन व्यवसायीलाई  निराश  पारेकाे छ ।
बिहिबार डिभजन वनले राखेकाे डढेलाे नियन्त्रण गोष्ठी लगतै राष्ट्रिय निकुञ्जले पश्चिमका गैँडा पूर्व चितवन लाने कुरा सुनाएपछि याे कुराे  नवलपुरका पर्यटन व्यवसायीमा डढेलै झै फैलियाे ।हृदयमा चेतपसे देखि गैंडालाई माया गरेर जीवन पर्यन्त यसकाे रेखदेखमा रहने कसम खाएकाहरूलाई याे विषयले चसक्क घाेचेकाे संरक्षणकर्मी   डिवि चौधरी बताउँछन् ।

कतिपय सराेकारवालालाई नबोलाई स्थानीय निकाय, मध्यवर्ती, प्रशासन र एकाध वातावरणकर्मीले ताली ठाेकेकै भरमा गैँडा स्थानान्तरण हुने भएको छ ।
यसै सम्बन्धमा जिल्ला हाेटल व्यवसायी संघका अध्यक्ष सन्तोष राना गैँडा स्थानान्तरण कार्य नवलपुरमा उठ्दै गरेको पर्यटन क्षेत्रलाई अपाङ्ग पार्ने नीति भएको बताउँछन्।   पूर्वमा गैँडाको घनत्व बढाउन स्थानान्तरण होइन, घाँसे मैदानको व्यवस्थापन गर्न सके बोकेर लैजान नपर्ने उनको भनाई रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जले विज्ञहरूकाे सुझावकाे सय वर्षीय हवाला दिँदै नष्लीय सुधार र वासस्थानको समुचित  वितरण भन्दै पश्चिम सेक्टरका करिब ७ वयस्क गैँडा पूर्व लाने तयारी गरेको बुझिएको छ । स्थानान्तरणको पहिलो तारो निकुञ्जबाट गाउँ पसेर स्थानीयसँगको जम्काभेटमा कैयौंलाई घाइते पार्दै  आएको महाराजा बनको बुढाे गैँडा हुने जानकारहरू बताउँछन् ।

स्थानीय संरक्षणकर्मी भने  स्थानीय निकाय गैंडाले गाउँकालाई दिने दुःख र घाइतेको उपचार खर्च बोक्नु भन्दा, जतानामका गैँडा लगिदिए हाइसन्च ठानेर यसलाई रोक्न नचाहेको आरोप गर्छन् ।

पछिल्लो समय निकुञ्जको पश्चिम क्षेत्र सिख्राैली, पिप्रहर,कुजाैली,केउरेनी,पिठाैली नमुना, कृष्णसार, गुन्द्रही ढकाहा, अमलटारी, नन्द भाउजु, सेहरी,भिउराहन,तथा तमासपुर क्षेत्रमा गैँडाको बसउठ बाक्लिएकाे छ ।प्रशस्त घाँसे मैदान,नदी, घाेल, आहाल र शान्त वातावरणमा गैँडाको उपस्थिति बढेसँगै यहाँका नदी किनार र गाउँ बस्तीमा खुलेका हाेटल तथा पाहुना घरमा पर्यटकीय गतिविधि बढेको छ ।

नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महताे चितवन राष्ट्रिय निकुञ्जको मुख्य आकर्षण भने कै पूर्वमा बाघ, पश्चिममा गैँडा र नदीमा घडियाल भएको बताउँछन्। महतोका अनुसार वन्यजन्तुले जुन वातावरणलाई आफ्नो वासस्थान बनाएको छ त्यसलाई द्वन्द्व र रूपयाँ पैसाले मात्र नहेरी सोही ठाउँमा बाच्न तथा नाच्न दिनु पर्छ ।

यसै सम्बन्धमा अर्का संरक्षणकर्मी तथा चाेरी सिकारी नियन्त्रण युवा जागरण अभियानका संस्थापक संयोजक बिष्णु अधिकारी गैँडा स्थानान्तरण कार्यलाई विस्तृत अध्ययन बिनाको काेरा एवं हचुवा काम बताउँछन् ।

घाँसे मैदान, पिउने पानी , टेरिटाेरीकाे अध्ययन विना एक्सपेरिमेन्टका नाममा गैँडा स्थानान्तरण गलत हुने अधिकारीकाे भनाई छ ।
यसै विषयमा कतिपयले त साैराहा सेक्टरका गैँडा र हिजका दिनमा ईचर्नी टापुमा एकै पटक दुई दर्जन बढीकाे सङ्ख्यामा देखिने गैँडा कहाँ पुगे स्थानान्तरण पूर्व चितवन राष्ट्रिय निकुञ्जले जनतालाई उत्तर दिनु पर्ने भनेका छन् ।

पछिल्लो जानकारी अनुसार गैँडा स्थानान्तरणका लागि निकुञ्जका पशु चिकित्सक, सुरक्षाकर्मी, निकुञ्ज प्रशासन पदाधिकारी सहितको टोली बन्दाेबस्तीका साथ पश्चिम सेक्टर नवलपुर आइपुगेको छ ।