फास्ट ट्रयाकमा सुरुङ खन्ने काम धमाधम

निर्धारित समयमा काम सक्न भने चुनौती

1.7k
Shares

महादेवटार, मकवानपुर ।

मुलुकको विकासमा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको र राष्ट्रिय गौरवको आयोजनका रूपमा रहेको काठमाडौं–तराई मधेस द्रुत मार्ग (फास्ट ट्रयाक)मा सुरुङ खन्ने काम धमाधम भइरहेको पाइएको छ।

विभिन्न चुनौती र समस्याका बाबजुद सुरुङ मार्ग खन्ने, सडक तथा पुलहरू बनाउने काम धमाधम भइरहेको हो। नेपाली सेनाको निर्माण व्यवस्थापनमा सञ्चालन भइरहेको रणनीतिक महत्वको फास्ट ट्रयाकमा कामहरू धमाधम भइरहेको भए पनि विभिन्न समस्याका कारण आयोजना निर्धारित समयमा सम्पन्न गर्न भने चुनौती देखिएको छ।

नेपाली सेनाको प्रभावकारी अनुगमनमा सुरुङ खन्ने, सडक बनाउने र पुलहरू बनाउने काम भने तीव्र गतिमा भइरहेको देखिन्छ। साथै निर्माणस्थलमा प्रयोग गरिएका सामानहरूको गुणस्तरीयतामा विशेष ध्यान दिएको समेत देखिन्छ।

यद्यपि, निर्माणस्थलमा स्थानीयको मुआब्जा विवाद, सो विवाद समाधानमा राजनीतिक नेतृत्ववाट गरिएको बेवास्ता, ठेकेदारबीचको द्वन्द्वका कारण उत्पन्न अदालती समस्या र मुद्दा लम्बिने प्रक्रिया, केन्द्रबाट रूख कटान गर्न दिने अनुमति र स्वीकृतिमा चरम ढिलाइ तथा निर्माणस्थलमा निर्माणजन्य सामग्रीको अभावका कारण आयोजनाले थप चुनौती भोग्नुपरिरहेको देखिन्छ।

यस्ता समस्या समाधान गर्न सम्बन्धित पक्षले विशेष ध्यान दिन नसक्दा फास्ट ट्रयाकले अपेक्षित गति लिन नसकेको बताइएको छ। यद्यपि, कतिपय ठेक्का प्रक्रियामा भने प्रश्न सिर्जना भइरहेका छन्। ठूलो महत्व बोकेको राष्ट्रिय गौरवको आयोजना भएकाले यसको ठेक्का प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी र वैज्ञानिक बनाउन जरुरी देखिएको छ।

ललितपुरको खोकना प्रस्थानबिन्दु र बाराको निजगढ अन्तिम बिन्दुको रूपमा रहेको सो फास्ट ट्रयाकको कुल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर रहेको छ। हाल सो मार्गमा प्रस्तावित ६ वटा सुरुङ मार्गमध्ये तीनवटा सुरुङ मार्गमा सुरुङ खन्ने काम तीव्र गतिका साथ भइरहेको छ।

नेपाली सेनाका अनुसार हालसम्म निर्माणाधीन तीनवटा सुरुङ मार्गहरूको जम्मा लम्बाइ ६ दशमलव ४१५ किलोमिटरमध्ये ४ दशमलव ५६० किलोमिटर अर्थात् ७१ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ। जसअनुसार मकवानपुर जिल्लामा पर्ने महादेवटार सुरुङमार्गको स्वीकृत डीपीआरबमोजिमको लम्बाइ ३ दशमलव ३५५ किमीमध्ये हालसम्म २ दशमलव ०३२ किमी सुरुङ खन्ने काम सम्पन्न भएको जनाइएको छ ।

यसै गरी धोद्रे सुरुङ मार्गको स्वीकृत डीपीआरबमोजिमको जम्मा लम्बाइ १ दशमलव ६३ किमिमध्ये हालसम्म १ दशमलव २५३ किमि सुरुङ खन्ने काम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । ती क्षेत्रमा प्राविधिक दक्ष कामदारहरू धमाधम सुरुङ खन्न खटिरहेका देखिन्छन् । सेनाका अनुसार लेनडाँडा सुरुङमार्गको १ दशमलव ४३ किमिमध्ये १ दशमलव २७५किमि सुरुङ खन्ने कार्य सम्पन्न भएको छ।

यद्यपि, देवीचौर, सिसौटार र चन्द्राम भीरको सुरुङको काम भने शुरू हुन सकेको छैन । सुरुङ खनिएका तीनवटै ठाउँका सुरुङहरूको छिटै ‘ब्रेक थ्रु’ हुने सेनाले बताएको छ।

नेपाली सेनाले फास्ट ट्रयाकको काममा गति दिन १३ वटा निर्माण प्याकेजहरू बनाएर काम गरिरहेको छ। जसमध्ये प्याकेज नं १ देखि ७ र १० गरी जम्मा ८ वटा प्याकेजहरूको खरिद प्रक्रिया सम्पन्न भई कार्यान्वयनमा रहेको बताइएको छ।

आयोजना हेर्ने जिम्मेवारी पाउनुभएका नेपाली सेनाका आयोजना कार्यान्वयन तथा अप्रेसन महाशाखा प्रमुख प्राविधिक महासेनानी इन्दवीर गुरुङले आयोजनाका करिब ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको बताउनुभयो । उहाँले फास्टट्रयाक आयोजना निर्धारित समयमा नै सम्पन्न गर्ने गरी सेना अघि बढिरहेको भए पनि विभिन्न खाले चुनौतीको सामना गर्नुपरिरहेको स्पष्ट पार्नुभयो।

‘यो आयोजना महाभारत पर्वत श्रृंखलाको जटिल र कमजोर भूवनोट तथा चुरे एवं सिवालिक श्रृङ्खलामा पर्ने साँघुरो जमिनलाई छिचोल्दै तराईको समथर भूभागसँग चार लेनको सडकले जोड्नुपर्ने भएकाले थप चुनौतीपूर्ण छ।’ – प्राविधिक महासेनानी गुरुङले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

उहाँले विभिन्न स्थानमा देखिएको जग्गा मुआब्जा विवाद, आयोजना क्षेत्रमा पर्ने रूख कटानको अनुमति र स्वीकृतिमा प्रक्रियागत ढिलाइ, निर्माणजन्य सामग्रीको अभावलगायतका कारणले समेत आयोजना निर्धारित समयमा सम्पन्न गर्न चुनौती थपिएको बताउनुभयो ।

आयोजनाको भौतिक प्रगति भने अपेक्षित देखिन सकेको छैन। आर्थिक वर्ष २०८०/८१ को हालसम्मको समष्टिगत भौतिक प्रगति ३१ दशमलव ९० प्रतिशत तथा समष्टिगत वित्तीय प्रगति मोबिलाइजेसनसहित ३१ दशमलव ७९ प्रतिशत रहेको छ। २०७४ साल वैशाख २१ गतेको मन्त्रिपरिषद् निर्णयमार्फत् सरकारले फास्टट्रयाक निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको थियो ।

शुरूका दिनमा फास्टट्रयाको काममा आवश्यक फाउन्डेसन बनाउन, तयारी गर्न, अन्तर्राष्ट्रिय परामर्शको व्यवस्थापन गर्न समय लागेको भए पनि अब भने सबै तयारी पूरा भएको र कामले सबै प्रकारको लय समातिसकेकाले निर्धारित समयमा नै काम सक्ने योजनासहित अघि बढेको महासेनानी गुरुङले जानकारी दिनुभयो । सरकारले सो आयोजनाको समय २०८३ चैत्र मसान्तसम्म थप गरिसकेको छ ।

आयोजनास्थलको मकवानपुर क्षेत्रमा कार्यरत निर्माण तथा ठेकेदार कम्पनीका प्रतिनिधिहरूले सञ्चारकर्मीहरूसँग गुनासो गर्दै आफूहरूलाई निर्माणजन्य सामग्रीको अभाव भएकाले स्थानीय सरकारले त्यसमा ध्यान पुर्‍याउनुपर्ने बताए।

उनीहरूले केन्द्रीय सरकारका सम्बन्धित निकायले निर्माण क्षेत्रमा काट्नुपर्ने रूख कटानको अनुमति स्वीकृति समयमा नै नदिँदा पनि कामलाई तीव्र गतिमा अघि बढाउन समस्या परिरहेको जनाए।

कतिपय ठाउँमा स्थानीयले अनावश्यक रूपमा मुआब्जा विवाद झिकेर समस्या पार्ने गरेको समेत देखिएकाले त्यसमा स्थानीय स्तरमा राजनीतिक नेतृत्वले समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।

यसै गरी आयोजनालाई समयमा नै सम्पन्न गर्न सबै पक्ष मिलेर मुआब्जा विवाद समयमा नै समाधान गर्नुपर्ने, रूख कटान अनुमति र स्वीकृति तत्काल प्रदान गर्नुपर्ने, स्थानीय तहले निर्माणजन्य सामग्री समयमा नै उपलब्ध गराउनुपर्ने र अदालतले पनि मुद्दा मामिलालाई यथाशक्य टुंगाएर बाटो खुला गर्नुपर्ने आवश्यकता रहेको बताइएको छ।

नेपालकै सबैभन्दा अग्लो पुल

आयोजनास्थलमा पुलहरू बन्ने क्रम पनि धमाधम भइरहेको छ । आयोजना स्थलको जितपुर खोलामा बन्न लागेको डेब्रे पुल नेपालकै सबैभन्दा अग्लो पुल बन्ने भएको छ। सो पुलको उचाइ १ दशमलव ५ किमी र लम्बाइ १ दशमलव ६ किमी रहेको छ । आयोजना क्षेत्रमा बन्न लागेका जम्मा ८९ वटा पुलहरूमध्ये ६२ वटा पुलहरू निर्माणाधीन अवस्थामा रहेका छन् ।