आर्थिक वर्ष २०७९-०८० को वार्षिक समीक्षा गोष्ठी तथा नवौँ जिल्ला सभा सुरु

विषयगत कार्यालयहरूको प्रस्तुतीकरण जारी



 म्याग्दी । 

जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आर्थिक वर्ष २०७९–०८० को वार्षिक समीक्षा गोष्ठी तथा नवौँ जिल्ला सभा सुरु भएको छ । आज (बिहीबार) एक समारोहबीच जिल्ला समन्वय समितिको सभाहलमा म्याग्दी जिल्लामा रहेका संघ तथा प्रदेशका विषयगत कार्यालय र स्थानीय तहको समीक्षा सुरु गरिएको हो ।


वार्षिक समीक्षा गोष्ठी तथा नवौँ जिल्ला सभाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बीर)ले आफू जिल्लाको विकास निर्माणमा केन्द्रित भएर लागेको बताउनुभयो । उहाँले माननीय भएको दुई वर्ष प्रवेश गरेको अहिलेसम्म आफूले कुनै कार्यालय वा कसैलाई पनि नराम्रो बोली नबोलेको बताउँदै बजेट, नीति र योजना कार्यान्वयन गर्नका लागि कर्मचारी पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले नेपालमा संघीयताको मोडेल खासगरी प्रदेश तह भएकाले यसलाई सम्बन्धित सबै पक्षबाट पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले संघीयता अभिशाप नभई बरदान भएको भन्दै दुर्गम तथा पछाडि परेका जिल्लाहरुको विकास निर्माणमा संघीयताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । म्याग्दीको विकास निर्माणका लागि आफूले प्रदेशमा रहेर सक्दो पहल गरेको उहाँको भनाइ छ ।

संविधानसभा सदस्य गोविन्द पौडेलले तत्कालीन समयमा जनप्रतिनिधि विहिनको अवस्थामा म्याग्दीले सर्वदलीय संयन्त्र निर्माण गरी जिल्लाको विकास निर्माणमा पहल गरिएको र म्याग्दीको सिको केन्द्रसहित देशभर पुगेको स्मरण गर्नुभयो । जिल्ला समन्वय समिति म्याग्दीका पूर्व प्रमुख देवेन्द्रबहादुर केसीले संविधानमा व्यवस्था भएअनुसार जिल्ला समन्वय समितिको गठन भई कामकारवाही अगाडि बढेको अवस्थामा जिल्ला समन्वय समितिका लागि आवश्यक बाँकी ऐन, कानुनहरु बन्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबि भण्डारी, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी र माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष शेरबहादुर केसीले जिल्लाको विकास निर्माणमा सबै दलहरु एक हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका यामबहादुर किसान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले म्याग्दीको स्रोतसाधनहरु परिचालन गरेर जिल्लाको विकास गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रमको अवसरमा गण्डकी प्रदेशमा उत्कृष्ट डिभिजन वन कार्यालय म्याग्दी र स्थानीय तहमध्ये कार्यसम्पादनमा उत्कृष्ट हुन सफल बेनी नगरपालिकालाई जिल्ला समन्वय समितिको तर्फदेखि दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरिएको थियो ।

 

कार्यक्रमको उद्घाटनसत्र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको अध्यक्षता, उपप्रमुख डिलकुमारी खत्रीको स्वागत र जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो । नवौँ जिल्ला सभाको उद्घाटनसत्रपछि जिल्लास्थित संघ, प्रदेशका विषयगत कार्यालय र स्थानीय तहबाट सम्पादित एवं सञ्चालन भएका कार्यक्रम तथा योजनाहरुको प्रस्तुतीकरण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्