साना मुलुकहरूलाई अस्तित्व जोगाउन गाह्रो : प्रधान सेनापति शर्मा

168
Shares

काठमाडौं ।

प्रधान सेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय मञ्चहरूमा भइरहेको द्वन्द्वले शक्ति राष्ट्रहरू ध्रुवीकृत भइरहेको र यसले विश्व पुनः शीतयुद्धतर्फ जान लागेको आभास भएकाले साना मुलुकहरूलाई अस्तित्व जोगाउन गाह्रो भइरहेको बताउनुभयो।

सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालित सि.सं. ९ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको बुधबार उद्घाटन गर्दै प्रधान सेनापति शर्माले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

उहाँले प्रत्येक राष्ट्र आफ्ना आधारभूत मूल्यमान्यताहरूको संरक्षणसहित राष्ट्रिय पहिचान, सार्वभौमसत्ता र अखण्डता कायम गर्दै जनतालाई सुरक्षित, भयरहित एवं आत्मसम्मानपूर्ण जीवन जिउन र आफ्ना गतिविधिहरू सञ्चालन गर्न प्रयत्नशील हुने र सोहीअनुरूप हाम्रो राष्ट्रले पनि जनतालाई भौगोलिक, सामाजिक, आर्थिक एवं राजनीतिक रूपमा पूर्ण सुरक्षित राख्न विभिन्न नीति तथा रणनीतिहरू अख्तियार गर्दै आइरहेको बताउनुभयो ।

उहाँले बाह्य तथा आन्तरिक सुरक्षा वातावरणको अध्ययन र विश्लेषण गर्दै हाम्रो राष्ट्रिय हित र स्वार्थहरूको संरक्षणको लागि महत्वपूर्ण नीति तर्जुमा तथा कार्यान्वयन गर्न तालिमले टेवा पु¥याउने विश्वास पनि व्यक्त गर्नुभयो।

प्रधान सेनापति शर्माले नेपालको सन्दर्भमा, संवेदनशील भूराजनीति, खुल्ला सिमाना र विभिन्न शक्ति राष्ट्रहरूको स्वार्थ पनि राष्ट्रिय सुरक्षा चुनौतीको रूपमा हेरिने गरिएको जिकिर गर्दै आन्तरिक रूपमा बढ्दै गइरहेको धार्मिक तथा साम्प्रदायिक विवादहरूका साथै सुषुप्त अवस्थामा रहेका केही विखण्डनवादी वा पृथकतावादी समूहका गतिविधिहरूले राष्ट्रिय सुरक्षामा गम्भीर प्रभाव पारिरहेको बताउनुभयो ।

श्रम आप्रवासन, युवाहरूको पलायन, विभिन्न युद्धरत देशहरूका सेनामा नेपालीको संलग्नता, जलवायु परिवर्तनको बढ्दो असर, अतिवृष्टि, अनावृष्टि, सुक्दै गएका पानीका स्रोतहरू, चुरे विनासका कारण तराईमा परिरहेको असर र त्यसबाट हाम्रो खाद्य सुरक्षामा पर्ने प्रभाव, विपद् तथा पर्यावरण सिर्जित मृत्युदरमा भइरहेको वृद्धि हाम्रा लागि मानव सुरक्षाका दृष्टिकोणले विचार गर्नुपर्ने महत्वपूर्ण विषय भएको भन्दै प्रधान सेनापति शर्माले सूचना प्रविधिमा आधारित प्रविधिको विकासले सुरक्षा क्षेत्रमा नयाँ चुनौतीहरू थप्नुका साथै सैन्य रणनीति र सिद्धान्तलाई पुनः परिभाषित गर्न खोजिरहेको हुँदा यस्ता नवीनतम प्रविधिले ल्याएका समस्या र त्यसबाट जनमानसमा परिरहेको प्रभावलाई पनि सम्बोधन गर्न उत्तिकै जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले प्रभावकारी सुरक्षा वातावरण निर्माण गर्न परम्परागत एवं अपरम्परागत सुरक्षाका विविध पक्ष एवं आर्थिक, सामाजिक विकासको नक्सालाई राम्रोसँग बुझी सबै संयन्त्रले राष्ट्रिय रूपमा तर्जुमा गरिएका नीति नियमहरूलाई इमानदारीपूर्वक कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै ‘विश्वको बदलिँदो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा नीति तथा रणनीतिहरूलगायत सम्बन्धित योजनाहरू तर्जुमा र परिमार्जन गर्न अपरिहार्य रहेकोले तालिमका सहभागीहरूलाई परम्परागत तथा अपरम्परागत सुरक्षा चुनौतीहरूको सँगसँगै पहिचान तथा विश्लोषण गरी राष्ट्रिय सुरक्षामा यस्ता तत्वहरूको महत्वलाई सूक्ष्म र गहन तवरबाट विश्लेषण गर्न पनि अनुरोध गर्नुभयो ।

कार्यक्रममा रक्षा सचिव किरणराज शर्माले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको विशिष्ट महत्व, आवश्यकता र उपादेयता रहेको बताउनुभयो । उहाँले विशेषतः उच्च पदस्थ अधिकारीहरूलाई राष्ट्रिय सुरक्षासँग सम्बद्ध महत्वपूर्ण विषय र बाह्य सुरक्षा वातावरणले हाम्रो राष्ट्रिय परिवेशमा उत्पन्न गर्न सक्ने असर र आयामहरूलगायतका विषयमा परिचित गराई राष्ट्रिय सुरक्षाका बारेमा समान धारणा र बुझाई विकास गर्न यो तालिम उपयोगी हुने धारणा राख्नुभयो ।

सैनिक कमान्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी बाबुराम श्रेष्ठले स्वागत मन्तव्य राख्नु हुँदै वि.सं.२०७२ सालबाट शुरू भएको यस तालिमबाट हालसम्म १ सय ९३ जना प्रशिक्षित भइसकेको जानकारी गराउनुभयो ।

रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सञ्चालन हुँदै आएको तालिमको नवौँ संस्करण बुधबारबाट शुरू भई आगामी चैत १६ गतेसम्म सञ्चालन हुनेछ।

तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सरकारी तथा गैर सरकारी संस्थाहरू, सञ्चार माध्यम, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट गरी ३० जनाको सहभागिता रहेको छ।