नयाँ गठबन्धन : वाम नेता कार्यकर्तालाई एमाले प्रवेशमा सहज

1.4k
Shares

काठमाडौं ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितको गठबन्धन भत्काएर पछिल्लोपटक अपर्झट बनेको गठबन्धन सरकारले आज विश्वासको मत लिँदैछ। विश्वासको मत प्राप्त गरेपछि वाम एकताको विषयलाई छलफलमा लैजाने नेताहरूले बताएका छन्।

नयाँ गठबन्धनबाट सरकारमा पुग्न सफल बनेको संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई यसपटक सांगठनिक हिसाबले सबैभन्दा बढी फाइदा पुग्ने भएको छ।

पछिल्लो पटकको नयाँ सत्ता समीकरणसँगै एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी) भएकाहरूका साथै माओवादीका नेता कार्यकर्ता समेतलाई एमाले प्रवेशमा सहजता देखिएको छ। वाम एकता नै नभए पनि धेरै कम्युनिस्ट कार्यकर्ता एमालेमा समाहित हुने अवस्था देखेको एमालेका नेता विशाल भट्टराइको भनाइ छ।

यसले एमाले पार्टीको आन्तरिक संगठबन बलियो हुँदै जाने र एकीकृत समाजवादी तथा माओवादीलाई सांगठनिक रूपमा ठूलै झड्का लाग्ने राजनीतिक राजनीतिक वृत्तमा व्यापक चर्चा भइरहेको छ। नेपाली कम्युनिस्ट आन्दोलनको करिब ५७ वर्ष लामो टुटफुट र बिग्रहबाट सम्हालिँदै २०७५ मा जेठ ३ मा दुई ठूला वाम घटक एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण २९ महिनापछि २०७७ साल कत्तिकमा फुटेपछि कार्यकर्ताहरूबीच बोलचाल नै बन्द थियो ।

गत फागुन २१ को नयाँ समीकरणपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम लिँदा मुख कुल्ला गर्नुपर्छ भन्ने एमाले अध्यक्ष केपी ओली आफैं माधव नेपालको घर पुगेर गठबन्धनलाई सहयोग गर्दै सरकारमा आउन आग्रह गरेपछि उहाँहरूबीचको तिक्तता पाखा लाग्दै गएको छ।

पटकपटक सत्ता गठबन्धनमा उलटफेर ल्याउँदै आएका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानममन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदारी फेरेसँगै कार्यकर्तालाई पार्टी परिवर्तनमा सहज भएको एकीकृत समाजवादीका जिल्ला तथा केन्द्रीय तहका नेताहरूले बताएका छन्।

पार्टी एकता नै भएर फुटमा परिणत हुँदा माओवादीका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साहलागायत नेताहरू एमालेमा गएका थिए। उनीहरूसँगै केन्द्रीय तहका दर्जन बढी र जिल्ला तहका सयौं संख्यामा नेताहरूले माओवादी छाडेर एमाले रोजेका थिए । पछिल्लो समय पनि माओवादी छाड्ने कार्यकर्ताहरू प्रसस्तै थिए।

त्यस्तै, एकीकृत समाजवादीका अधिकांश जिल्ला नेताहरू एमालेमै फर्किइरहेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन गरेर सत्तामा जाने निर्णय लिएसँगै दुवै दलका बाँकी कार्यकर्ताहरू विस्तारै एमालेमा प्रवेश गर्ने र आगामी आम निर्वाचनसम्म उनीहरूको अस्तित्व धरापमा पर्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘माओवादी र एकीकृत समाजवादीको भविष्य नदेखेपछि कार्यकर्ताहरूलाई कता जाऔं भन्ने बढो छटपटी भइरहेको देखिन्थ्यो। यो बेला माओवादी अध्यक्षले नै गठबन्धन परिर्वनको प्रस्ताव ल्याउनुभयो, यसले ती छटपटीमा परेका माओवादी र एकीकृत समाजवादीका कार्यकर्तालाई ठूलो राहत पुगेको छ। आफूलाई कम्युनिस्ट भन्ने अधिकांश कार्यकर्ताहरू विस्तारै एमालेकरण हुन्छन् । आगामी निर्वाचनसम्म एकीकृत समाजवादी एमालेमा विलय नै होला, सँगै माओवादीमा पनि धेरै मान्छेहरू रहने अवस्था हुँदैन ।’

राजनीतिक एजेन्डा र संगठन दुवै भूमिकामा खिइँदै गएको माओवादी र राष्ट्रिय पार्टी बन्नसमेत नसकेको एकीकृत समाजवादीमा बसेर राजनीतिक भविष्य नदेखेका युवा पुस्ताका कार्यकर्ताहरूलाई यो गठबन्धन केही समय रहिरहँदा एमालेमा जान समस्या नहुने राजनीतिक विश्लेषकहरू बताउँछन्।

एमाले र एकीकृत समाजवादीका शीर्ष नेताबीच दोहोरो बोलचाल नहुँदा र एक अर्काप्रति कडा टिप्पणी गर्दै आए पनि एकीकृत समाजवादीका कार्यकर्ताहरू धमाधम एमालेमा प्रवेश गरी नै रहेका थिए भने कतिपय नेताहरू वाम एकताका नाममा मिल्न सक्ने बाटो खोजिरहेका थिए।

नयाँ सत्तासमीकरणले नेकपा विभाजन गर्दा भएको गल्ती सच्याएको वाम एकता अभियानका नेता वामदेव गौतमले प्रतिक्रिया दिनुभएको छ। त्यस्तै, एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पनि गठबन्धन परिवर्तनसँगै अन्ततः साविकको नेकपा ब्युँताउने सम्मको बाटो खुल्ला भएको बताउनुभएको छ।

यसैबीच एमालेले २/३ वर्षको बीचमा अल्मलिएका साथीहरूलाई पार्टीमा स्वागत गर्ने बताएको छ। एमालेका सचिव गोकर्ण विष्टले अब साथीहरूलाई पार्टीको मूल धारमा आउन समस्या नहुने बताउनुभयो।

तत्कालीन नेकपामा ध्रुवीकरण हुँदा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले आफूनिकट नेतालाई आफ्नै पक्षमा राख्न प्रयास गरे पनि सफल हुन नसक्दा माओवादीको आकार झनझन् सानो हुँदै गएको थियो।

चुनावी गठबन्धन नगरी कही पनि जित्ने सम्भावना कम देखेको माओवादी नेतृत्वले २०७४ सालको निर्वाचनमा एमालेसँग तालमेल गरेको थियो भने २०७९ सालको आम निर्वाचनमा रणनीतिक ढंगले कांग्रेससँग सिट भागबण्डा गरेर चुनावमा सहभागी भएको थियो।

कांग्रेसकै बलमा ३२ सिट प्राप्त गरेको माओवादी फेरि वाम एकताको नारा अघि सार्ने तयारीमा छ। पार्टी एकताकै बलमा २०७४ सालको निर्वाचनबाट प्रतिनिधिसभाका २ सय ७५ मध्ये १ सय ७४ र छ वटा प्रदेशमा दुई तिहाइ बढी मतसहित सरकारको नेतृत्व गरेको नेकपा फुटसँगै तितरबितर भएको थियो।