५० वर्षसम्म वडाअध्यक्ष रहेका व्यञ्जनकार अस्ताए



ललितपुर।

५० वर्षसम्म निरन्तर वडाअध्यक्ष रहेर कीर्तिमानी कायम गरेका नरसिंह व्यञ्जनकारको निधनले सार्वजनिक पदलाई सधैं सामाजिक हितसंग जोड्ने प्रेरणादायी व्यक्तित्व गुमाएका छन् ।

स्वतन्त्रबाट उम्मेदवारी दिएर १० पटक ललितपुर महानगरपालिका वडा नम्बर १० नेतृत्व सम्हालेका  ८२ वर्षीय व्यञ्जनकारको आइतबार ४ बजे नर्भिक अस्पतालमा निधन भएको हो । दमको समस्याबाट पीडित व्यञ्जनकार आइतबार बिहानसम्म कुनै समस्या देखिएको थिएन। दिउँसो दमका कारण श्वासप्रश्वासमा समस्या आएर अस्पताल पु¥याइपछि उनको निधन भएको हो।

झन्डै आधा शताब्दीसम्म निरन्तर वडाअध्यक्ष बनेका  व्यञ्जनकारलाई स्वतन्त्र रुपमा चुनाव उठ्नेहरुले उनलाई आफ्नो आदर्शका रुपमा लिने गरेका छन्।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गएको स्थानीय तह निर्वाचन हुनु एक वर्ष अघिदेखि व्यञ्जनकार आफ्नो राजनीतिको आदर्श रहेको अभिव्यक्ति दिँदै आएका थिए । मेयर साह सरसल्लाह लिन व्यञ्जनकारलाई भेटिरहन्थे ।

गत स्थानीय चुनावमा मेयर शाह व्यञ्जनकारको वडामा मतगणना प्रतिनिधि बन्न पुगेका थिए। तर, निर्वाचन आयोगका कर्मचारीले साहलाई प्रतिनिधि बस्न दिएनन् ।

मेयर साहले चुनाव प्रचारको क्रममा व्यञ्जनकारसंग बसिरहेको फोटोलाई प्रचारबाजीको माध्यम बनाएपनि व्यञ्जनकार पञ्चायतकाल, बहुदलीय प्रजातन्त्रकाल र गणतन्त्रकालमा वडाअध्यक्ष निष्ठापूर्वक कर्म गर्ने बाहेक प्रचारबाजी खासै रुचि राखेका थिएनन्।

‘ जनताको भावना, पीर, सामाजिक कार्यमा लाग्ने क्रमले गर्दा नै उनी  शुरुमा वडाअध्यक्ष  बनेका हुन् ।’ ललितपुर महानगरपालिकाका पूर्वमेयर बुद्धिराज बज्राचार्यले भने ‘१० पटक वडाअध्यक्ष भएर पनि उहाँ पैसा कमाउने, नराम्रो गर्नेतिर कहिले लाग्नुभएन। आफूले जानेबुझेसम्म समाजमा समर्पित भएर काम गर्नुभयो। बज्राचार्य तीन पटक मेयर र एकपटक  वडाअध्यक्ष हुँदा व्यञ्जनकारसंगै काम गरेका थिए ।

सामाजिक गतिविधिमा सक्रिय हुने क्रमले गर्दा व्यञ्जनकार वडाअध्यक्षमा जोडिएका थिए।उनको वडाअध्यक्षको यात्रा २०२९ सालबाट शुरु भएको थियो।त्यतिबेला व्यञ्जनकार कांग्रेसबाट उठेका आफनै भाइ (माइला बाका छोरा) कर्मलाल व्यञ्जनकारलाई हराएका थिए। स्वतन्त्र उम्मेदवारमा उठेर पहिलो पटकमा नै चुनाव जितेका थिए। त्यसपछि यो वडाको जिम्मेवारी उनले कसैको हातमा जान दिएनन् । वडाबासीहरूले पनि यो जिम्मेवारी अरूलाई सुम्पन चाहेका थिएनन्।

पञ्चायतमा वडाध्यक्ष बनेपनि २०३६ सालको जनमतसंग्रहमा उनी  बहुदलको पक्षमा उभिएका थिए ।२०३९ सालमा निर्विरोध वडाध्यक्ष भए तर एक वर्षपछि प्रधानपञ्चसँग कुरा नमिलेर राजीनामा दिए।रिक्त स्थानमा एक वर्षपछि भएको चुनावमा फेरि जिते।

२०४६ सालपछि उनी  कांग्रेस नेताहरूसंग नजिकिएपछि २०४९ सालको स्थानीय चुनावमा कृष्णप्रसाद भट्टराईले उनलाई टिकट दिलाए।२०५४ सालमा उनलाई कांग्रेसले टिकट दिएन।कुनै पार्टीले टिकट नदिएता पनि उनलाई चुनाव लड्न कसैले रोकेन।उनलाई फेरि वडावासीले स्वतन्त्र उम्मेदवार बनाए ।उनले स्वतन्त्र उम्मेदवार बनेर फेरि चुनाव जिते।त्यो चुनावमा बाँकी सबै उम्मेदवारको जमानतै जफत भयो। २०७४ मा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए।

तर अन्तिममा २०७९ को स्थानीय चुनावमा उनी नेपाली काँग्रेसबाट उम्मेदवार उठेका आफ्नै भतिज रविनमान व्यञ्जनकारसंग पराजित भएको बाहेक अरु बेला पराजय व्यहोर्नुपरेन।त्यतिबेला नरसिंह नेपाली कांग्रेसका उमेदवार रविनमानसंग २८२ मतले पराजित भएका थिए ।नरसिंहले ५ सय ४३ मत प्राप्त गर्दा रविनमानले ८ सय २५ मत प्राप्त गरेका थिए।

‘ नगरपालिकाको बोर्ड बैठकमा उहाँ  सधै गुण र दोष छुट्याएर आफ्नो कुरो राख्नुहुन्थ्यो ।विवेकशील र इमान्दार जनप्रतिनिधि हुनुहुन्थ्यो ।  ‘ तीन पटक वडाअध्यक्ष भइसक्नुभएका ललितपुर महानगरपालिका ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले भने। व्यञ्जनकारको निधनमा महानगरपालिकाले एक दिन बिदा दिने तयारी रहेको पनि वडाअध्यक्ष महर्जनको भनाई थियो।

 ‘व्यञ्जनकारको समग्र कर्म हेर्दा मुलत समाजसेवाप्रति प्रतिबद्ध हुन्।युवाहुँदादेखि नै बालबालिकालाई पढाउन विद्यालय खोल्नुपर्ने र पढाउनुपर्ने चेत थियो।समाजसेवाको उपक्रमबाट त्यत्रो लामो समय वडाअध्यक्ष हुनुभएको हो ।’ नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत रहेका श्रमिक शान्ति क्याम्पस च्यासलका अध्यक्ष हरिकृष्ण व्यञ्जनजकारले भने ‘उहाँको कर्मले स्वतन्त्र राजनीति गर्नेलाई मात्र नभई राजनीतिक सिद्धान्त अनुरुप कर्म गर्न सबैलाई सदैव प्रेरित गरिरहने छ ।’

प्रतिक्रिया दिनुहोस्