नेपथ्य इलाममा प्रस्तुत हुँदै



काठमाडौं ।

लोकप्रिय सांगीतिक समूह नेपथ्य आगामी शनिबार इलामको सूर्योदय नगरपालिकास्थित करफोक विद्यामन्दिरमा प्रस्तुत हुने भएको छ।

‘राजमार्ग भएर गुज्रिँदा वरिपरि चियाबारी, सल्लाघारी र वनजंगलले घेरिएको पूर्वीपहाडकै लोभ्याउने पाखामा एकपटक आफूलाई प्रस्तुत गर्ने इच्छा धेरै पहिलेदेखिको हो,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘केही वर्षअघि मात्र करफोक छेवैको सानो सहर फिक्कलमा कन्सर्ट गर्दाको रमाइलो सम्झना अझै ताजा छ। त्यहाँ पुरानो सिनेमा हलमा कन्सर्ट चलिरह“दा एउटा बच्चा बोकेर नृत्य गरिरहेकी आमालाई देखेपछि मैले पनि उनकै शैलीमा नाचेको घटना सम्झि“दा मिठो लाग्छ।’

कन्सर्ट इलाम गुरुङ समाजले इलामकै न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना गर्न लागेको हो। ‘यो आयोजनाले एकातिर हाम्रो धार्मिक धरोहरका निम्ति केही कोषको व्यवस्था गर्नेछ,’ गुम्बा निर्माण समितिका अध्यक्ष हरि गुरुङ भन्छन्, ‘अर्कोतर्फ संगीतका माध्यमबाट इलाममा पर्यटनको विकास गर्न सकिन्छ भन्ने विश्वास लिएका छौं।’

कन्सर्टमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन्।

मुलुकका स–साना गाउँबस्तीदेखि विश्वका ठूला सहरसम्म आफूलाई प्रस्तुत गर्दै आएको नेपथ्यले हालसम्म करिब एक सय २० कन्सर्ट आयोजना गरिसकेको छ।

ब्यान्डले विश्वका १७ मुलुकका ४१ मुख्य सहरमा ८० भन्दा बढी सांगीतिक प्रस्तुति दिइसकेको छ। करफोकको प्रस्तुति पनि केही महिनाअघि जापान र क्यानाडाका शृंखलाबद्ध कन्सर्टपछि हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्