उपकुलपतिको तीन साता : न दुई पदाधिकारी नियुक्ति, नत परीक्षामा सुधार, खै बजेट तयारी ?

उपकुलपति प्राडा बराल : हतार गर्नु हुँदैन, बोलेको कुरा पूरा हुनेछ



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएको तीन साता पुग्न लागेको छ। फागुन १० गते उपकुलपतिमा उहाँको नियुक्ति भए पनि हालसम्म रजिस्टार र रेक्टरको नियुक्ति हुन सकेको छैन । परीक्षा नियन्त्रण कार्यालयले अनलाइन सेवा सञ्चालन गरेको छ । तर प्रभावकारी हुन सकेको छैन ।

उपकुलपति प्राडा बरालले कार्यभार सम्हाल्नुभएकै दिन त्रिविलाई राजनीतिक भागबण्डा मुक्त गर्ने, समयअनुकूल पाठ्यक्रम परिमार्जन गर्ने र परीक्षा सुधार गर्ने बताउनुभएको थियो । तर, यतिका दिन बितिसक्दा पनि ती काममा खासै प्रगति हुनसकेको छैन ।

उहाँले रजिस्टार र रेक्टरमा दुई पदाधिकारी नियुक्ति गर्न पुरानैलाई निरन्तरता दिनुभएको छ। कानुनका डीन डा. कृष्णप्रसाद बस्याललाई निमित्त रजिस्टार र कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डीन प्रा. भार्गव धिताललाई निमित्त रेक्टरको जिम्मा दिनुभएको छ।

आफूले पदवहाली गर्दा भागबण्डाको विरोध गरेका उपकुलपति प्राडा बरालले पदवहाली भएको दुई दिनमा रजिस्टारमा कांग्रेस र रेक्टरमा माओवादी निकटका प्राध्यापकलाई नियुक्त गर्नुभएको हो।

फागुन ११ गते पदवहाली भएका उपकुलपति प्राडा बरालले दुवै जनालाई फागुन १३ गतेबाट लागु हुनेगरी रेक्टर र रजिस्टारमा नियुक्ति गर्नुभएको स्रोतले जनाएको छ। त्रिविका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘उपकुलपति प्राडा बरालले पदवहाली गर्दा गरेको वाचा पूरा गर्न सक्नुभएन । अझै पुरानै संरचनाले काम गरिरहेको छ। सरकारले जेठमा बजेट ल्याउँछ, त्रिविलाई बजेट तयार गर्न चटारो हुनुपर्ने हो, तर निमित्तकै कारण बजेट कसरी तयार हुन्छ ? सोचनीय विषय बनेको छ ।’

बजेट निर्माण प्रक्रिया शुरू गर्ने काम रजिस्टारको हुन्छ । बजेट र कर्मचारी प्रशासनको जिम्मेवारी लिनुभएका रजिस्टारले बजेट बनाउनै नसकेको जिकिर गर्दै स्रोतले भन्यो– ‘निमित्तको भरमा कति दिन चल्ने, अब त उपकुलपतिले आफ्नो अधिकार प्रयोग गर्नुपर्‍यो नि ?’

उपकुलपति प्राडा बरालले भने केही दिनभित्र रेक्टर र रजिस्टार नियुक्ति हुने दाबी गर्नुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कति दिन लाग्छ भन्न सक्दिनँ तर चाँडै हुन्छ।’ उहाँले परीक्षा सुधार गर्न आफूले परीक्षा नियन्त्रकसँग कार्यतालिका माग गरेको जानकारी दिँदै भन्नुभयो– ‘अब पहिलाको जसरी चल्दैन, समयमै परीक्षा र परीक्षाफल प्रकाशित हुनुपर्र्छ । त्यसको लागि मैले सक्दो प्रयास गरिहेको छु।’

शैक्षिक सत्र लगभग अन्त्य भइसकेको छ, परीक्षामा खासै सुधार हुन सकेको छैन। परीक्षालाई व्यवस्थित गर्ने जिम्मेवारी रजिस्ट्रार हुन्छ। केन्द्रीय परीक्षा समितिको अध्यक्ष रजिस्टार हुने व्यवस्था छ । तर, रजिस्टारले खासै चासो नदेखाएको स्रोतको भनाइ छ ।

उपकुलपति प्राडा बरालले हाम्रोलाई भन्दा पनि राम्रोलाई जिम्मेवारी दिने अपेक्षामा रहेका त्रिविका उच्च तहका कर्मचारीले रेक्टर र रजिस्टारमा दुवै जनालाई निमित्तको जिम्मेवारी दिएपछि आश्चर्य मानेका छ। उपकुलपति प्राडा.बरालले छोटो समयको लागि दुवै पदमा पुरानैलाई निमित्तको जिम्मेवारी दिएको बताउनुभयो।

पद वहालीको क्रममा उपकुलपति प्राडा बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेन्डर तयार गरी लागू गर्ने, दोस्रो प्राथमिकतामा समयमै परीक्षाफल प्रकाशित गर्ने र तेस्रो प्राथमिकता पाठ्यक्रमलाई समयअनुकूल परिमार्जन गरी विश्व परिवेश सुहाउँदो बनाउने बताउनुभएको थियो। तीमध्ये हालसम्म कुनै पनि काम हुन सकेको छैन । उपकुलपति प्राडा बराल भन्नुहुन्छ – ‘हतार गर्नु हुँदैन, बोलेको कुरा पूरा हुनेछन्।’

प्रतिक्रिया दिनुहोस्