वालिङलाई अपाङ्गमैत्री नगर बनाउँछौँ : उपप्रमुख तिवारी



स्याङ्जा। 

स्याङ्जाको वालिङमा स्थानीय तहसँगको पैरवी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहमा अपाङ्गता समावेशी विकास कार्यक्रमतर्फ स्थानीय तहसँगको पैरवी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, स्याङ्जा अपाङ्ग समाज, वालिङ नगरस्तरीय पैरवी समूह र स्थानीय सरकार सवलीकरण कार्यक्रमको साझेदारीमा अन्तरक्रिया गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका उपप्रमुख एवं नगरस्तरीय अपाङ्गता समन्वय समिति संयोजक कविता तिवारी गैह«ेले वालिङ नगरपालिकालाई अपाङ्गमैत्री नगरपालिका बनाउने गरी कार्यहरु अगाडि बढाईएको बताइन्  । उनले नगरपालिकालाई अपाङ्गमैत्री नमूना नगर बनाउनकालागि आवश्यक नीति, कार्यक्रम तथा बजेटको ब्यवस्थापन गर्दै अगाडि बढ्न नगरपालिका प्रतिवद्ध रहेको बताएकी छन् ।

नगरपालिकाले चालु आर्थिक वर्षमा अपाङ्गताका क्षेत्रमा स्वीकृत कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिएको छ । मध्यम अपाङ्गलाई स्वास्थ्य बीमा कार्यक्रम परिचयपत्र वितरणकैक्रममा कार्यालयबाट अगाडि बढिरहेकाले निरन्तरता दिने, पूर्ण अशक्त अपाङ्गता भएको ब्यक्तिकालागि स्याहार कार्यक्रमबाट अभिभावकहरुकालागि स्याहारकर्ता तालिम र प्रोत्साहनकालागि सहयोग गर्ने, अपाङ्गता परिचय पत्र वितरणलाई अन्य शिविरमासमेत समावेश गरी वडास्तरमा समेत कार्यालयबाट ब्यवस्थापन गर्ने निर्णय गरेको स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष एवं वालिङ नगरस्तरीय पैरवी समूहका संयोजक राम शर्मा पोख्रेलले बताए।

 त्यस्तै स्वास्थ्य संस्थाकालागि स्वास्थ्य औजार उपकरण खरिद तथा वितरणलाई स्थानीय अपाङ्गता सञ्जालसँग समन्वय गर्दै अगाडि बढ्ने र नगरलाई अपाङ्गमैत्री बनाउनकालागि आवश्यक प्रक्रियाहरुलाई तीव्रताकासाथ कार्यान्वयन गर्ने निर्णय भएको पैरवी समूहका फोकल पर्सन युवराज पराजुलीले बताए ।

अपाङ्गता भएकाहरुलाई लक्षित गरी अपाङ्गता सशक्तिकरण तथा उद्यमशिलता विकास कार्यक्रम, गमनशिलता तथा पाक शिक्षा कार्यक्रम, आयआर्जनकालागि सावुन, सरफ बनाउने तालिम सञ्चालन गर्ने गरी तयारी थालिएको उक्त कार्यक्रममा जानकारी दिईयो । स्रोत ब्यवस्थापन गरी यसैवर्ष अपाङ्गता लक्षित खेलकूद कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

त्यस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपाङ्गता लक्षित साक्षरता घुम्ति शिक्षा सञ्चालन गर्ने, अपाङ्गता भएका ब्यक्तिको घर पहिचान गर्ने, अपाङ्गता भएका ब्यक्तिहरुलाई मात्रै सहभागिता गराउने गरी मेलमिलापकर्ता तालिम सञ्चालन गर्ने, नीति तथा कार्यक्रमहरुलाई ब्रेललिपिमा समेत प्रकाशन गर्ने विषयमा छलफल भएको नगरस्तरीय अपाङ्ग सञ्जालका अध्यक्ष डेलबहादुर विकले बताए ।

प्रतिक्रिया दिनुहोस्