काठमाडौं ।
मनले आँटेर मात्र नहुने रहेछ । धेरै वर्षदेखि दुप्चेश्वरको दर्शन गर्ने रहर थियो । मौका मिलेन । पछि कोरोना कहरले झनै सबैका उत्सुक मरेको बेला मेरो चाहना पूरा हुने कुरै भएन। त्यसपछि वि.सं. २०७८ पुस १९ गते त्यहाँ पुग्ने अठोट गरेँ। मोटर रिजर्भ भयो।
आफ्नै बन्धुवान्धवले छेकाटो हाल्दै भने– ‘यो जाडोको छोटा दिन किन जाने ? लामा दिनमा गए हुन्छ ।’ मैले जवाफ दिएँ– ‘मोटर रिजर्भ गरेँ । अब म एक्लै भए पनि त्यही दिन जान्छु।’ उक्त दिन बिहान ६ः१५ मा भार्या शर्मिला घिमिरे र पुत्रवधू संगीता लामिछानेसहित बन्धुवान्धव मोटर चढियो । यात्रु लिन पाटन गएको, बाटो भुलिएर केही समय विलम्बमा परियो।
जे होस्, मधु सुवेदी, भवानी सुवेदी, पुरुषोत्तम सुवेदी, सरिता सुवेदीले साथ दिए । अगाडि ड्राइभरसँगै व्यासु ढुंगाना र म बस्यौँ । मोटर बन्दोबस्त गरिदिने मित्र कृष्णरामजीले म जान्न भन्दै गन्तव्यमा पुगियो। माइक्रो गाडी हाँक्ने भाइ थिए, प्रकाश अधिकारी। माइक्रोको नम्बर बा १ ज ८६८६ थियो । म सुगर÷प्रेसरको रोगी, बस चढेपछि लङ ट्वाइलेटको समस्या झेल्दै खानीखोला पुगियो । बीस किलोमिटरको एक होटलमा पेट साफ गरेँ । त्यहाँ कानमा हाल्ने तेल जति एक कप तातो चियाको रु. २५ तिरियो । यो कामको व्यवस्थापन गर्ने थिए कृष्णराम ।
बाटोमा विभिन्न विषयका जानकारी राख्ने कान्छो भाइ मदन गफ गर्दै थियो भने धर्मका कुरामा गफ गर्दै हिँड्ने माहिँला भाइ मोहन घिमिरे थिए । वाक्न नसकेर मडारिँदै नबोली हिँड्नेमा संगीता, शर्मिला थिए भने बीच–बीचमा बोल्ने निर्मला ढुंगानाका साथ भ्रातवधू दिलकुमारी र सुभद्रासमेतले गफमा गफ मिलाउँदै थिए । गाडीलाई साइड दिने, प्रहरी पोस्टमा नाम टिपाउने कमै बोल्ने भाइ थिए नवीन कठायत । गल्छी हुँदै देवीघाटलाई मनले प्रणाम गर्दै गंगेटे, ढिकुरे भएर यात्रा अघि बढिरह्यो । हामीलाई खरानीटार तादी गाविस अनि दुप्चेश्वर गाविसले क्रमशः स्वागत गर्दै अगाडि हिँडियो ।
कतै स्कुल चालू भएर विद्यार्थी हिँडिरहेका देखिन्थे भने कतै स्कुल बन्द भएको देखिँदै बाटो काट्ने काम हुँदै रह्यो । कतै सलल पिच भेटियो भने कतै बिग्रिएको डर लाग्दा खाल्टाखुल्टी । ती खाल्टाले भन्दै थिए– ‘नडराई जाऊ, हामीले थेग्न सकेसम्म थेगिहाल्छम् नि !’ गुरुजी होसियारीसाथ हाँक्थे । हँसिला र बोलैया रहेछन् उनी । गन्तव्यमा १२ बजे पुगियो । मैले गुरुजीलाई सोधेँ– ‘कति कि.मि. हिँडियो ?’ उनले जवाफ दिए– ‘मेरो गाडीमा कि.मि. देखाउँदैन, बिग्रिएको छ । तर हामी बानेश्वरबाट यहाँ आइपुग्दा १५० कि.मि. जति कुदियो । गाडी बिस्तारै ल्याएको छु । बढी कुदाउने मेरो बानी छैन ।’
गाडी राखेपछि म बूढो आधा घण्टा हिँडेँ । कतै खेतका आली, कतै ढुंगा नै ढुंगा रहेछन् । केही हिँडेपछि तलै जुत्ता फुकालेर राम्रा सिँढी उक्लिने काम भयो। ती सिँढी गन्न त गनिएन, १५० वटाजति रहेछ भन्ने साथीहरुको भनाइ रह्यो । थोरै कल्पना गर्दा दुप्चेश्वरलाई हलेसी महादेवसँग मिल्दोजुल्दो ठानेँ । ढुंगाको ककारोमा, निर्जन ठाउँमा, माथि ढुंगाकै छत, मुनि पनि सबै ढुंगा तर बीचमा भगवान्को बास । हलेसी जमिनमुनि तर दुप्चेश्वर जमिनमाथि डाँडोमा रहेछन् । तर ढुंगाकै ककरोमा वा भगवान्को बास अप्ठ्यारो नै ठाउँमा । सरसर्ती हेर्दा डोलेश्वर भगवान्को जस्तो मोटो–छोटो आकार । अँगालोले अलि नभ्याउने मोटो व्यास, माथि टाउकोमा टुपीझैँ टुटिलो, दक्षिणतिर गणेशजस्तो सुँड हो कि झैँ लाग्ने, करिब एक हात बराबर अग्लो शिवमूर्ति दर्शन गर्न पाउँदा उकालोमा आएको पसिना र बढेको दम जाती भएझैँ लाग्यो ।
दुप्चेश्वर भगवान्को पूर्व केही ओर्लिएपछि स–साना पाँचमुखे शिवलिंग तीन लाइन लहरै देखियो । मान्छेहरु भन्दै थिए– चौसठ्ठी शिवलिंगजस्तै रहेछ । त्यही छेउमा द्वादश ज्योतिर्लिंगको नाम लेखिएका शिवलिंगहरु देखेर मलाई मनमा लाग्यो– ‘वास्तवमा पुण्यभूमि नेपाल हो । हामी पसिनाले कमाएको पैसा खर्च गरेर भारतमा तीर्थ गर्न जान्छौं, भारतमा भएका देवताहरु नेपालमा पनि छन् ।’ आफूले जति जानेँ, त्यति भगवान्का नाम स्मरण गर्दै रुद्री भनेर तल झर्दा दोर्खु खोलाको झोलुंगे पुलले भन्यो– ‘यहाँसम्म आएर मलाई नछोई जान्छौ त ?’ हामी केही यात्रु गई पुलमाझमा फोटा खिच्यौँ ।
दुप्चेश्वरको उत्पत्तिका बारेमा सोध्दा त्यहाँका पुजारीले थाहा नभएका कुरा बताए । अरु हामीले भेटेकामध्ये कसैलाई उत्पत्तिका बारेमा थाहा नभएको पायौँ । पुजारी बा खतिवडा रहेछन् । उनी लोभी देखिँदैनथे । शिवलाई चढाइएका नैवेद्यहरु बाँदरलाई फटाफट दिएको देख्यौँ । अरु पुजारीभन्दा यी पुजारी उदार मनका देख्दा खुशी लाग्यो । होटलको नाममा मम र सुर्मा तान्ने बढी पसल देख्यौँ । बहिनी भवानीका परिवारले लगेको दही, चिउरा, काउली, बर्फी, केराले हाम्रा मोटरमा जाने सबैको उदर भरिने काम भयो ।
त्यहाँ कञ्चन र निर्मल दोर्खु खोलाको पानीमा माछा सलबलाइरहेका थिए । त्यहाँको पानी पियौँ । घाम चर्केको बेला शीतल महसुस ग¥यौँ । मैले सलबल गरेका माछा देखेँ। माछाहरुले पनि भने– ‘तपाईंहरु कति जाती हुनुहुँदो रहेछ । हामीलाई देख्नेले हामीलाई समात्न जाल थाप्थे । तपाईंहरुले प्रिय भावनामा हामीलाइ हेर्नुभयो । फेरि पनि आउँदै गर्नुस् है।’
दूध हालेको चिया पिउने रहर मेटाउन मोटरमा फर्किंदा दुई घण्टा वर आइपुग्नुपर्यो। घिमिरे नानी, लामा पतिका साथ बसेकी पसलमा चिया पिइयो। चिया पिएपछि बिस्तारै उही बाटो घर पर्कंदा बेलुकी आठ बजेर चौबीस मिनेट पनि गएछ।
प्रतिक्रिया