अस्थिरताको अन्त्य समृद्धिको शुरुवात

84
Shares

काठमाडौं ।

तेस्रो राजनीतिक शक्तिलाई पहिलो बनाएर सरकारको नेतृत्व गर्न दिएको र आफू सहायक बनेको नेपालको पुरानो दल नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने निर्णय लिएपछि अस्थिरता र अन्योलको अवस्था सिर्जना भएको छ।

तेस्रो शक्ति नेकपा माओवादी केन्द्र भने अझै सत्ताको केन्द्रमै छ। नेकाको स्थानमा नेकपा एमाले आएको छ। सत्ताभित्रको ‘म्यास्कुलिनिटी’ले एकपटक फेरि आम नागरिकको मानसिकतामाथि बलात्कार गरेको छ। अर्को शब्दमा, पितृसत्ताको जगमा उभिएको ‘म्यास्कुलिनिटी’ एकपटक फेरि असफल भएको छ, तर पनि सत्तामै टाँसिएर बसेको छ।

पितृसत्तात्मक सोच र मानसिकताले समाजलाई अशान्त, अस्थिर र घाइते बनाउँछ भन्ने सत्य पुनः प्रमाणित भएको छ । पछिल्लो आमनिर्वाचनमा जनताले सत्ताको नेतृत्वमा परिवर्तन खोजेका थिए, तर नकारात्मक पुरुषत्वलाई राजनीतिक नेतृत्वमा पुग्ने सोपान बनाउन सिपालु नेताहरुले जनचाहना पूरा हुन दिएनन् ।

पितृसत्ता र नकारात्मक पुरुषत्व खास लिङ्गको व्यक्तिलाई सत्ताको नेतृत्व दिनासाथ समाप्त हुन्छ भन्ने होइन । संस्कार र पद्धति पुरानै छ भने सत्तामा पुरुषका ठाउँमा महिला ल्याए पनि खासै परिवर्तन आउँदैन। भारतमा इन्दिरा गान्धी, नेपालमा विद्या भण्डारीहरु नआएका होइनन् । तर कम्तीमा पाँच हजार वर्षअघिदेखि अभ्यासमा रहेको पितृसत्तात्मक मानसिकता जगमै प्रहार नगरेसम्म हल्लिनेवाला छैन।

धर्म, संस्कार र परम्परा नै पितृसत्ता र पुरुषत्वको जगमा उभिएका कारण एकपटकको प्रहारले यसलाई ऐयासम्म हुँदैन । सामाजिक सम्बन्धहरु ‘पावर’मा आधारित छन्। रगतको नाताभन्दा शक्तिको नाता बलियो बनेको छ। आमाहरु सर्वत्र आदरणीय हुनुपर्ने हो, तर सत्ता र शक्तिभन्दा बाहिर भएका कारण उनीहरु घर–घरमा सेविकाका रुपमा सीमित छन्। भागवद् गीता, त्रिपिटक, बाइबल, कुरानलगायतका धर्मग्रन्थ पढेर महिला र पुरुषका लागि ती शास्त्रले दिएको भूमिका पहिचान गर्दा अधिकांशतः समान खालको विभेदपूर्ण व्यवस्था देखिन्छ।

प्रायः पुरुषलाई मालिक र शासक तथा महिलालाई नोकर र सहयोगी पात्रका रुपमा चित्रण गरिएको पाइन्छ। पुरुषको नियन्त्रणमा महिला रहने व्यवस्था छ। यही व्यवस्थालाई आदर्श मानिएको छ। यही विभेद सामाजिक नीति बनेको छ, नीतिलाई कानुनका रुपमा पालना गरिएको छ। जसले विभेदकारी नीति पालना गर्दैन, उसलाई कानुनी र सामाजिक सजाय दिइएको छ।

महिलालाई मालिक र पुरुषलाई उनीहरुको सहायकका रुपमा शास्त्रहरुले कतै पनि चित्रण गरेका छैनन् । तर किरातहरुको धर्मग्रन्थ मुन्धुम पढ्दा भने मातृप्रधानता छचल्किन्छ । पितृसत्ताजस्तो मातृसत्ता त देखिन्न, तर मातृ प्रधानता देखिन्छ । समाजमा महिलालाई जननी वा सृजनशक्ति, प्रेम प्रवाहिका, आनन्दकी स्रोत, शुखदायिनी, परिवारकी संयोजिका र निर्देशिकाका रुपमा स्थान दिने काम मुन्धुम सभ्यताले गरेको छ ।

मुन्धुमले किराँत समाजलाई दैनिक जीवनमा गर्ने व्यवहारका बारेमा निर्देश गर्दछ । व्यक्तिको दैनिक व्यवहारले नै समाजको संस्कार र सभ्यता निर्माण हुने भएकोले मुन्धुमले महिला र पुरुषबीच समान अधिकार कायम गर्न र अझ कतिपय स्थानमा महिलालाई प्राधान्यता दिन अभिप्रेरित गरेको छ। हिन्दु सनातन धर्मका अनुयायीका लागि वेदजस्तै किरातका लागि मुन्धुम पनि पहिला श्रुतिका रुपमा रहेको र पछि मात्र किताबका रुपमा लिपिबद्ध भएर आएको देखिन्छ।

अरु धर्मका ग्रन्थहरुले सृष्टिको शुरुवात पुरुष पात्रबाट भएको बताइरहँदा किरात धर्मग्रन्थ मुन्धुमले भने आदि मानवका रुपमा महिलालाई अघि सारेको छ । आदि मानव महिलालाई महादेवीका रुपमा लिँदै उनले नै अन्य देवी–देवता जन्माएको वर्णन मुन्धुममा पढ्न पाइन्छ । कतिपय धर्ममा महिलाको गर्भवती तथा प्रसूतिको अवस्थालाई आशोचका रुपमा लिएको देखिन्छ भने मुन्धुममा महिलाको यस अवस्थालाई सम्मान गरिएको छ । यस प्रकारको पहिलो सम्मान पाउने महादेवीलाई मुन्धुममा तागेरा निङ्वाफुमाङ नाम दिइएको छ ।

मुन्धुमका अनुसार ब्रह्माण्डको सिर्जना महादेवी निङ्वाफुमाङबाटै भएको हो। महिलाको प्रजनन क्षमतालाई मुन्धुमले विशेष महत्व दिएको छ । मानवको सृजना र सृष्टि गर्ने भएकै कारण निङ्वाफुमाङलाई आदि महिला र महादेवीका रुपमा सम्मान प्राप्त छ। हिन्दु धर्ममा देवताका राजा इन्द्रले ब्रह्महत्या गरेको र त्यसको पाप महिलाको कोखमा हालिदिएको, जसले गर्दा १० महिनासम्म उनीहरुले शारीरिक सौन्दर्य गुमाएर गर्भधारण गर्नुपरेको कथा छ। मानव जातिको सृजनालाई पापका रुपमा लिनेहरुलाई मुन्धुमले गर्भधारण सम्मान र प्रसन्नताको विषय हो भनेको छ, न कि श्रापको विषय ।

अन्य धर्मले महिलाको गर्भमाथि पुरुषको नियन्त्रण हुनुपर्ने निर्देश गरिरहेका बेला किरात धर्मले भने एक अविवाहित महिलाले गर्भधारण गरेको विषयलाई सम्मान र प्रसन्नताका रुपमा लिएको छ । गर्भधारण गरेकी निङ्वाफुमाङ सबैकी आकर्षणकी केन्द्र बनेकी छन् । उनको श्रीमान् खोज्ने, कसको वीर्यबाट गर्भ रहन गएको हो भनेर कुरा काट्ने, गर्भको हकदार वा मालिकका रुपमा कुनै पुरुषलाई उभ्याएर महिलालाई केवल बच्चा पाउने मेसिनका रुपमा लिने विभेदकारी मानसिकता मुन्धुमले देखाएको छैन । परम्परागत पितृसत्ताको संरचनालाई मुन्धुमले तोडिदिएको छ ।

डा. नवराज सुब्बाका अनुसार पूर्वी नेपालमा बसोबास गर्ने किरात लिम्बू मुन्धुमलाई शाश्वत सत्य र पवित्र शक्तिशाली धर्मग्रन्थको रुपमा विश्वास गर्छन् । मुन्धुमलाई प्रथम किरात राजा यलम्बरहाङले नेपालमा प्रचलनमा ल्याएको र सोही क्रममा बागमती किनारस्थित गौरीघाट श्लेष्मान्तक वनको छेउमा आफ्नो इष्टदेवता किरातेश्वर महादेवको देवालय बनाई शिवलिंग स्थापित गरेको किरात इतिहास बताउँछ। इतिहास अनुसार उनले त्यहाँ नित्य पूजाको लागि साम्बा, फेदाङ्बा/माको व्यवस्था गरेका थिए।

उनी हिमहाङ साम अर्थात् इन्द्रदेवको स्थान आफ्नो महलको माथिल्लो तलामा राखी अन्न, अनाज पाक्दा चसुपा अर्थात् न्वाँगी चढाउने गर्दथे । किरातेश्वर महादेव, इन्द्रदेवको नित्य धुपबत्ती गर्नलाई पूजारीको व्यवस्था गरिएको थियो। किरातकालमा अत्यन्त भक्तिभावले थेबा साम्माङ शिव र इन्द्रको आराधना गरिन्थ्यो । इतिहास अनुसार नेपालमा किरातले एक हजार दुई सय २५ वर्ष शासन गरे, इस्वी संवत् ३०० वर्षसम्म शासन गर्दा २९ राजाहरु नेतृत्वमा थिए । मुन्धुम उनीहरुको कानुन र नीतिको आधार थियो । सत्तामा पुरुष पात्रहरु देखिए पनि महिला र मातृजातिको सम्मान अन्य कतिपय धर्मको तुलनामा किरातमा सन्तोषजनक देखिन्थ्यो ।

जात र लिङ्गका आधारमा विभेदकारी नीति बन्ने शृङ्खला टुंगिएको छैन । हो, आधुनिक कानुनमा त्यस्ता विभेदकारी प्रावधान छैनन्, तर सामाजिक व्यवहार विभेदकारी छ । व्यक्तिको मानसिकता विभेदकारी छ। सुप्रसिद्ध महान् हस्तीहरुले निर्माण गरेका सामाजिक नीतिहरुमा पनि विभेदको भण्डार देखिन्छ । उदाहरणका लागि चाणक्य नीतिलाई लिन सकिन्छ। इस्वी संवत् शुरु हुनुभन्दा ३०० वर्षअघिका प्रभावशाली नीतिकार, राजनीतिक नेता तथा समाज सुधारक चाणक्यले पनि जात र लिङ्गभन्दा माथि उठेर नीति निर्माण गर्न सकेनन् । विश्व जित्छु भनेर दौडिएको सिकन्दरको हिंस्रक तरबार समाउन सक्ने चाणक्यले सामाजिक न्यायको दण्ड समाउन सकेनन्।

नेपालमा मातृजातिको सम्मान गर्ने किरात शासन चलिरहेका बेला भारतमा विष्णुगुप्त र कौटिल्यका नामले समेत चिनिने युगपुरुष चाणक्य आफ्नो चाणक्य नीति लेख्दै थिए, महिलालाई होच्याउँदै थिए । उनले लेखे, ‘मूर्खशिष्यो पदेशेन दुष्टास्त्री भरणेन च, दुःखितै संप्रयोगेण पण्डितोप्यवसीयति’। दुष्ट श्रीमतीलाई पालनपोषण नगर भन्ने यस नीतिका साथ उनी पुरुष जातिलाई सुझाव दिन्छन्, पहिला आफूलाई स्थान देऊ अनि मात्र महिलालाई स्थान दिनू। आफू नै नरहेमा धन वा स्त्रीको के प्रयोजन रहन्छ र भन्ने उनको तर्क छ। सबै प्रावधान उत्तिकै पक्षपाती छन् भन्नेचाहिँ होइन, श्रीमतीको पहिचान श्रीमान्ले आयआर्जन गर्न नसकेको वा दुःख पाएको बेलामा हुन्छ भन्नेजस्ता व्यावहारिक प्रावधान पनि छन्। तर श्रीमान्को पहिचानचाहिँ कसरी हुन्छ भनेर महिलाको दृष्टिकोण दिन भने कौटिल्य पनि चुकेका छन्। कुल र जातिलाई उनले महत्व दिएका छन्।

उच्च जात र कुलकी कन्यासँग विवाह गर्न पुरुषहरुलाई सुझाव दिन्छन् । चाणक्यले दिएको यो सुझावले आजका महिलालाई कति झोक चलाउँदो हो– ‘नखीनाञ्च नदीनाञ्च शृङ्गिणां शस्त्रपाणिनाम्, विश्वासो नैव कर्तव्यः स्त्रीषु राज कुलेषु च ।’ नदी, खोला, नङ्ग्रा भएका बाघ, चितुवा, कुकुर, बिरालो आदि जनावर र शासकहरुको विश्वास नगर भनेसम्म त ठीकै थियो तर ‘स्त्रीषु’ पनि भनियो, महिलाको पनि विश्वास नगरेर मातृ जातिलाई किन होच्याएको होला? चाणक्यले पनि त्यति बेला आम अन्य पण्डितले जस्तै विनाअनुसन्धान नीतिका प्रावधानहरु तोकेका छन् । पुरुषलाई भन्दा महिलालाई सम्भोगको चाहना आठ गुणा बढी हुन्छ रे, चाणक्यले भनेका हुन् त्यसैले हो भनेर मान्नुबाहेक अर्को उपाय छैन ।

कौटिल्यले महिलालाई यसरी होच्याएका छन्– ‘अनृतं साहसं माया मूर्खत्वमतिलुब्धता, अशौचत्वं निर्दयत्वं स्त्रीणां दोषाः स्वभावजाः ।’ अर्थ हो, झुटो बोल्नु, अचानक वा विनाविचार गरी साहस देखाउनु, कपटी हुनु, छल गर्नु, मूर्ख हुनु, ज्यादै लोभी बन्नु, भित्रैदेखि अपवित्र रहनु, क्रूर र निर्दयी हुनु यी सबै नारीका स्वभावजन्य दोष मानिन्छन्। यस्तै, जुन पुरुषसँग वशमा रहने श्रीमती र छोराहरु छन्, उसका लागि घर स्वर्ग हुन्छ भनिएको छ। श्रीमान्लाई सुख, शान्ति र चैन दिलाउनु श्रीमतीको कर्तव्य हो भनिएको छ । बाबुआमालाई छोरालाई शिक्षा दिन र राम्रो कुल खोजेर विवाह गरिदिन सुझाव छ, छोरीलाई पढाउने र असल ज्वाइँ खोज्ने कुरा छैन । अर्थात्, दृष्टिकोणमै विभेद छ ।

महिलालाई चाहिँ श्रीमान्प्रति इमानदार रहन, अन्यत्र यौनसम्पर्कको सोच पनि नबनाउन र पवित्र रहन सुझाव दिइएको छ। छोरीलाई दानको पात्रा बनाइएको छ, छोरीलाई उमेर पुगेपछि राम्रो घर हेरेर कन्यादान दिने बाबुआमाले मुक्ति पाउने कुरा छ। छोरीलाई उसको श्रीमान् नै शिक्षक हुनभएकाले पढ्नका लागि घरबाहिर निस्कनु नपर्ने सुझाव छ। घरमै बस्ने, घरभित्रको काम गर्ने, सजधज गरेर श्रीमान्को प्यारी बन्ने सुझाव चाणक्यको छ।

शुद्धताको कुरा गर्दा चाणक्यले महिलाको यौनिक शुद्धताका लागि सहज बाटो पनि देखाएका छन्, लेख्छन्– मासिक श्रावपछि महिला शुद्ध हुन्छिन्। आधुनिक विज्ञानका लागि खोजको विषय हुने चाणक्यको भनाइ के छ भने, जुन महिलामा सम्भोगको चाहना छ तर सम्भोग गर्न भने पाउँदिन, ऊ छिट्टै बुढी हुन्छे। श्लोक यस्तो छ, ‘अध्वा जरा मनुष्याणां वाजिनां बन्धनं जरा, अमैथुनं जरा स्त्रीणां वस्त्राणामातपो जरा ।’

चाणक्य जति वीर र पराक्रमी, विद्वान् र बहुआयामिक भए पनि विभेदकारी पुरुषत्व र पितृसत्तात्मक चिन्तनका धरोहर थिए। यस्ता व्यक्तिका कमजोर पक्षलाई नै आदर्श मान्ने आजका शासक वा सामाजिक अगुवाहरु महिला हुन् वा पुरुष स्वभावतः पक्षपाती, अविवेकी र निर्लज्ज हुन्छन्।

जस्तो, आजका हाम्रा शासकहरु छन् । शायद मुन्धुम सभ्यतामा हामी हुन्थ्यौं भने यस प्रकारको राजनीतिक अस्थिरता हुने थिएन। अस्थिरताको अन्त्य नै समृद्धिको प्रारम्भ हो भनिन्छ, तर हामीकहाँ अस्थिरताकै अन्त्य भएन।