धादिङमा जिल्ला स्तरीय लिग फुटबल सुरु

560
Shares

धादिङ । 

धादिङ जिल्ला फुटबल सङ्घको आयोजनामा धुनिवेशी ५ स्थित निर्माणाधीन धुनिवेशी खेल मैदानमा आइतबार देखी दशौँ जिल्ला स्तरीय लिग फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा धुनिवेशी युवा समाजले विद्यार्थी उपकार सङ्घ नीलकण्ठलाई १–० गोल अन्तरले पराजित गरेको छ।

जिल्लाभरिका १० वटा क्लबले भाग लिएको यस प्रतियोगितामा दुई समूहमा विभाजन गरेर खेलाउन सुरु गरिएको सङ्घका अध्यक्ष रमेश अधिकारीले बताए।

जिल्ला स्तरीय लिग फुटबलमा प्रथम हुने क्लबलाई १ लाख ५० हजार, दोस्रो हुने क्लबलाई ७५ हजार र सेमिफाइनलमा प्रवेश गर्ने दुई क्लबलाई २५/२५ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिने छ। यस्तै पाँच उत्कृष्ट विधामा पर्ने खेलाडीहरूलाई ५/५ हजार प्रदान गरिने पनि अध्यक्ष अधिकारीले बताए।

चैत्र ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा गजुरी सामुदायिक विकास समाज–गजुरी, भद्रकाली सामुदायिक विकास समाज–बेनीघाट रोराङ, इन्द्राणी युवा क्लब–गजुरी, पञ्चकन्या युवा क्लब–थाक्रे, ब्वाईज युनाईटेड–नीलकण्ठ, विद्यार्थी उपकार सङ्घ–नीलकण्ठ, धुनीबेसी युवा क्लब–धुनीबेसी, धादिङ समाज धादिङ–नीलकण्ठ, गलौदी युवा क्लब–गजुरी र न्यू स्टार युवा क्लब–थाक्रे सहभागी छन्।

खेल फिफा र एएफसीको नियम अनुसार खेलाइने र विजेता क्लब नै स्वतः बागमती प्रदेश फुटबल प्रतियोगितामा सहभागी हुने जिल्ला फुटबल सङ्घका महासचिव रामहरी थापाले बताए।