तनावमा सिटौला !

2.4k
Shares

काठमाडौं ।

राष्ट्रियसभा अध्यक्ष बन्ने दौडमा राष्ट्रियसभा सदस्य बन्नुभएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अहिले तनावमा हुनुहुन्छ। कांग्रेस–माओवादीसहितका आठ दलीय सत्ता गठबन्धनबाट अध्यक्षका लागि पक्का गरेर गत माघ २५ मा भएको राष्ट्रियसभा निर्वाचनबाट सदस्य बनेका सिटौला गठबन्धन परिवर्तनसँगै अध्यक्षको पासा पल्टिएपछि तनाव बढेको हो ।

कांग्रेससँगको सत्ता सहयात्रालाई पूर्णविराम दिँदै नेकपा एमालेसहितको पाँचदलीय सत्ता समीकरण बनाएका प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार पुगेका सिटौलाले चित्त दुखाउँदै ‘कांग्रेसलाई मात्रै नभएर व्यक्तिगत रूपमा मलाई पनि किन धोका दिनुभयो’ भनेर प्रश्न गर्नुभएको थियो।

आफू प्रधानमन्त्रीसँग नभई विगतको गठबन्धनमा रहेको एउटा दलको अध्यक्षसँग भेट्न आएको जिकिर गर्दै भेटमा उहाँले भन्नुभयो– ‘नेपाली कांग्रेसलाई त तपाईंले धोका दिनुभयो दिनुभयो । व्यक्तिगत रूपमा मलाई पनि धोका दिनुभयो।’

कांग्रेस महामन्त्री गगन थापा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसँगै सरकारी निवास बालुवाटारमा पुगेका सिटौलाले राष्ट्रियसभा अध्यक्षमा आफूलाई सहयोग गर्ने कि नगर्ने भनेर प्रचण्डलाई प्रश्न गर्नुभएको छलफलमा सहभागी नेताहरूले बताएका छन्।

छलफलमा सहभागी कांग्रेस महामन्त्री थापाका अनुसार प्रधानमन्त्री प्रचण्डसँगको करिब आधा घण्टाको भेटवार्ताका क्रममा सिटौलाले भन्नुभयो– ‘म राष्ट्रियसभा सदस्य हुने लाइनमा थिइनँ। तपाईंले नै कांग्रेसका नेताहरूसँग कृष्ण सिटौलाजी राष्ट्रियसभा अध्यक्ष हुने हो भने हामीले छाड्न सकिन्छ भन्नुभयो । शान्ति प्रक्रियामा भूमिका खेलेर आउनु भएको मान्छे आउँदा ठिक छ भनेर भनेपछि पार्टीले मलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अब के गर्नु हुन्छ ? अहिले मलाई तपाईंले धोका दिन मिल्छ ?’

गठबन्धन परिवर्तनसँगै आफूले पद नपाउने जान्दाजान्दै प्रचण्डसँग गुनासो पोख्न पुगेका सिटौलाले गत फागुन १७ मा आफूसँग किन झुट बोलेको भनी प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्नुभयो । उहाँले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन सहयोग नगरेकोमा पश्चात्ताप गरिरहेको स्मरण गराउँदै भोलि पनि त्यो दिन आउने चेतावनी दिँदै भन्नुभयो– ‘नेपाली कांग्रेस र मलाई दिएको यो धोकाधडी त्यति सजिलै जान्छ नभन्ठान्नुहोला । तपाईं पछुताउनुपर्छ ।’

सिटौलाले गत फागुन १८ गते नै प्रचण्डले अस्थिरता निम्त्याएको र कांग्रेसलाई धोका दिएको प्रतिक्रिया दिनुभएको थियो। राष्ट्रियसभा सदस्यको सपथ लिएपछि पत्रकारहरूसँग छोटो प्रतिक्रिया दिँदै उहाँले अस्थिर मानसिकताले धेरै कुरालाई अस्थिर बनाउने जिकिर गर्दै भन्नुभएको थियो– ‘यो अस्थिरताले संविधानमा भएका व्यवस्था र जनताका काम गर्ने सन्दर्भमा पनि सधैं अस्थितरता नै निम्त्याइरहन्छ । सत्ता चल्छ, प्रधानमन्त्री मन्त्री बन्छन् साथीहरू तर जनतालाई फाइदा हुँदैन । यसले राम्रो गर्दैन, यो चै पक्का हो । यद्यपि, हामीले जतिसक्दो राम्रो गर्ने प्रयास गर्ने हो, त्यसमा हामी लागिरहन्छौं ।’

फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा नयाँँ गठबन्धनबाट माओवादीले साझा उम्मेदवार बनाउने पक्का भएको छ भने उपाध्यक्ष एमालेले पाउने दलहरूबीच सहमतिअनुसार माओवादीले नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। नेपालको शान्ति प्रक्रियामा सिटौलाले खेलेको भूमिकालाई स्वागत गर्दै राष्ट्रियसभा अध्यक्षमा उहाँकै खाँचो औंल्याएको माओवादी केन्द्रको यो निर्णयसँगै सिटौलाको अध्यक्ष बन्ने सपना अधुरै रहने पक्का भएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सिटौलालाई राष्ट्रियसभा संसदीय दलको नेता बनाइसकेको छ। कांग्रेस संसदीय दलले लुम्बिनी प्रदेशबाट २०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।

राष्ट्रियसभा निर्वाचनमा भएको चुनावी गठबन्धनमा कोशी प्रदेशमा सिटौलासँगै चुनाव लडेकी माओवादी नेता चम्पा कार्कीले हारेपछि गठबन्धनमा कांग्रेसले धोका दिएको माओवादीको बुझाइ थियो। कांग्रेस माओवादीको गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता सिटौला र माओवादीका उम्मेदवार कार्की दुवैलाई मतदाताहरूले त्यत्ति मन पराएका थिएनन्।

कोशीमा कतिपय माओवादीका पालिका अध्यक्ष उपाध्यक्षले समेतले मत दिएनन् भने कांग्रेसका धेरै मत गठबन्धनका उम्मेदवारलाई आएको थिएन। राप्रपासँग गठबन्धन गरेको एमालेले समेत आफ्ना उम्मेदवारलाई मात्रै मत हालेका थिए।

एमाले मतदाताले राप्रपाका उम्मेदवारको ठाउँमा कांग्रेस नेता सिटौलालाई मतदान गरेपछि मुस्किलले चुनाव जित्नुभएका सिटौलाललाई प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सैद्धान्तिक मतभेद देखिएपछि गठबन्धन फेर्नुपरेको जवाफ दिनुभएको छ।