यस्ता छन् खेलकुद मन्त्री श्रेष्ठका चुनौती

378
Shares

काठमाडौं ।

नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ स्पष्ट भिजन र योजना बनाउन सक्ने युवा व्यक्तित्व हुनुहुन्छ । त्यसैले श्रेष्ठबाट खेलकुद क्षेत्रमा व्यापक सुधारको थालनी हुने विश्वास गरिएको छ । यद्यपि, उहाँलाई यस क्षेत्रको सुधारमा चुनौती भने असंख्य छन् ।

मन्त्री श्रेष्ठका लागि अहिले मुख्य चुनौती भनेकै नेपालका खेलाडीलाई देशमै टिकाइरहनु हो । केही वर्षयता फुटबल, क्रिकेट, भलिबल, बास्केटबल आदि खेलका खेलाडी विदेश पलायन हुने क्रम बढ्दो छ।

फुटबलमा त विमल घर्तीमगर, सुजल श्रेष्ठजस्ता राष्ट्रिय स्तरका खेलाडी नै विदेश पलायन भएका छन्। उनीहरूको गन्तव्य स्थल अस्ट्रेलिया रहेको छ। झण्डै ८० हाराहारीको संख्यामा खेलाडीहरू अस्ट्रेलिया पुगेका छन् ।

दोस्रो चुनौतीको रूपमा नेपालको रंगशालालाई विश्वस्तरीय बनाउनु पनि रहेको छ। नेपालमा दशरथ रंगशाला समेत विश्वकप खेलाउने अवस्थामा नभएको पुष्टि भएको छ। हालैमात्र नेपालले बहराइनसँग खेल्ने विश्वकप छनोटअन्तर्गत एसियाली क्षेत्रको खेल खेल्न दशरथ रंगशालाको मैदान लायक नभएको सावित भयो।

प्रतिद्वन्द्वी टोली बहराइनले एसियाली फुटबल महासंघ (एएफसी) मा दशरथ रंगशालाको मैदान खेल्नलाई उपयुक्त नभएको उजुरी गरेको थियो । यसले खेलकुद पूर्वाधारको निर्माणले गति लिन नसकेको पुष्टि गर्छ।

यति मात्रै होइन, दशरथ रंगशालाको कन्तबिजोग नै छ । मुख्यतया यो अखिल नेपाल फुटबल संघ (एन्फा) ले विचार गर्नु पर्ने कुरा पनि हो । तर, एन्फा रंगशालालाई व्यवस्थित गर्न कुनै पनि भूमिकामा देखिएको छैन। रंगशालामा समस्या भनेको शौचालयकै छ। दशरथ रंगशालामा प्यारापिट भर्ने हो भने करिब १५–२० हजारसम्म दर्शक अटाउँछन् । तर, त्यहाँ शौचालय पर्याप्त छैन । भए पनि लाइन बस्नुपर्ने अवस्था छ।

गत असोजमा नेपालले घरेलु मैदानमा विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसविरुद्ध खेलेको खेलमा विदेशी दर्शक पनि थिए। ती विदेशी महिला दर्शक महिला शौचालयमा जान पनि हिच्किचाइरहेका थिए।

किनभने त्यहाँ पुरुष दर्शकसमेत गएका थिए। चाप धेरै भएपछि दर्शकले महिला शौचालयको पनि बेवास्ता गरेर त्यहीँ लाइन लागेपछि ती विदेशी महिला दर्शकलाई कता जाउँ कता जाउँ भएको थियो । बहराइनविरुद्धको विश्वकप छनोट खेल नेपालमा हुन नसक्नुमा यो पनि एउटा कारण हुन सक्छ ।

त्यस्तै, यही आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका र निर्माणाधीन पोखरा, धनगढी, इटहरी र नेपालगञ्जका प्रदेश रंगशाला तथा कभर्ड हल निर्माण समयमै सम्पन्न गर्नुपर्ने दायित्व मन्त्री श्रेष्ठको काँधमा छ।

यस्तै, त्रिवि मैदान वरिपरिको प्यारापिटलाई पनि व्यवस्थित ढंगले बनाउन पहल गर्नुपर्ने खाँचो छ । यसै गरी अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता गर्न पनि यहाँ कभर्ड हल छैन। कति खेलकुद मन्त्री आए गए तर, यसमा कसैको ध्यान गएको छैन । मन्त्री श्रेष्ठले यसमा पनि विचार पुर्‍याएर आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार मन्त्रीमध्ये श्रेष्ठ पनि स्पष्ट योजना बनाउन सक्ने र त्यसको कार्यान्वयनमा जोड दिन खुबी राख्नसक्ने व्यक्तित्व हुनुहुन्छ। रास्वपाबाट संसदीय दलको उपनेता श्रेष्ठलाई आशा लाग्दा युवा मन्त्रीको रूपमा हेरिएको छ।

यसअघि लुम्बिनी प्रदेश सभाका सदस्यसमेत बनिसकेका खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ काठमाडौं क्षेत्र नं. ८ बाट सांसद बन्नुभएको हो।