एमाले मधेस प्रदेश बैठकले गर्‍यो १५ बुँदे प्रस्ताव पारित

182
Shares

काठमाडौं ।

नेकपा एमाले मधेस प्रदेश कमिटीको आइतबार सम्पन्न दोस्रो बैठकले विभिन्न १५ प्रस्ताव पारित गरेको छ। रौतहटको चन्द्रपुरमा सम्पन्न बैठकले जनसङ्गठन र विभागको प्रमुख तोक्नुका साथै प्रदेश कमिटी सदस्यहरूको कार्य विभाजन सहित समसामयिक विषयमा विभिन्न प्रस्ताव पारित गरेको हो।

नयाँ कार्य विभाजन अनुसार सङ्गठन विभाग प्रमुखको जिम्मेवारी चन्देश्वर मण्डललाई दिइएको छ। स्थानीय विकास विभागको प्रमुखमा बिचारी यादवलाई ल्याइएको छ। जनसङ्गठन समन्वय संयन्त्र प्रमुखमा  मनोज पौडेल र प्रचार तथा प्रकाशन विभाग प्रमुखमा आरती भण्डारीलाई जिम्मेवारी दिइएको छ।

यसै गरी आर्थिक विभाग प्रमुखमा महम्द कैस, स्कुल विभाग प्रमुखमा शंकर महत्तो र सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा अम्बिका चौलागाईंलाई जिम्मेवारी तोकिएको छ। बैठकले वर्तमान अवस्थामा केन्द्रमा नेकपा एमाले सहितको सत्ता समीकरण बनेको र मधेस प्रदेशमा नेकपा एमाले सबै भन्दा ठुलो पार्टी भएकोले मधेस प्रदेशका जनताको चाहनालाई ध्यान दिँदै प्रदेश सरकारको नेतृत्व गर्ने गरी आवश्यक पहलका लागि  पार्टी  केन्द्रलाई आग्रह गरेको छ।

प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा र केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो। बैठकमा पार्टी पोलिटब्युरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, लीलानाथ श्रेष्ठ, अच्युत मैनाली, जुली महत्तो, मञ्जु चौधरी लगायतको उपस्थिति थियो।

नेकपा एमाले मधेस प्रदेश कमिटीको बैठकले पारित गरेका विभिन्न प्रस्तावहरू :

१. अहिले देशमा नेकपा एमाले पहलमा नयाँ सरकार बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” को नेतृत्वमा एमाले सहितको सरकार बनेको छ। यो सरकारले जनतामा सकारात्मक आशा जगाएको छ । यसले अहिले राष्ट्रियता र जनताको समस्या समाधान गर्न सकिने सम्भावना समेत देखिएको छ । नेकपा एमाले मधेस प्रदेश कमिटी यसलाई स्वागत गर्दछ र राजनीति तथा शासकीय स्थिरताका लागि सबैमा हार्दिक आग्रह गर्दछ ।

२. नेकपा एमाले प्रदेश कमिटी नयाँ सरकारलाई केपी ओली नेतृत्वको सरकारले अधि बढाएका योजना सुचारु गर्ने, बजेट कटौती गरिएका योजनामा बजेट राख्ने र भुक्तानीको व्यवस्था गरी अघि बढ्न माग गर्दछ ।

३. मधेस प्रदेशका विभिन्न जिल्ला र स्थानहरूमा खानेपानीको समेत समस्या देखिएको छ। समस्याग्रस्त जिल्ला र स्थानहरूमा खानेपानीको योजना कार्यान्वयन गर्न माग गर्दछौँ । साथै चुरे क्षेत्रको मरुभूमि करण रोक्न विशेष योजना ल्याउन समेत माग गर्दछौँ ।

४. मधेस प्रदेश भूमिहीन, सुकुम्वासीहरू अत्यधिक रहेको प्रदेश हो । कानुन बमोजिम भूमिहीन, सुकुम्वासी, दलित तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधानतर्फ गम्भीरतापूर्वक लाग्न माग गर्दछौँ ।

५. नेकपा एमाले अहिले मधेस प्रदेशको पहिलो पार्टी हो । यसले प्रतिनिधि सभा र प्रदेश सभामा सबैभन्दा धेरै सिटमा विजय हासिल गरेको छ। यो बैठक आगामी दिनमा नेकपा एमालेलाई मधेस प्रदेशमा बहुमत सहितको पार्टी बनाउने सङ्कल्प गर्दछ ।

६. कृषि उत्पादनको दृष्टिले सर्वाधिक उर्भरभूमी रहेको मधेस प्रदेशका किसानको हकको निम्ति  सुलभ कृषि रिन, मल खाद तथा सिँचाइको लागि आवश्यक व्यवस्था अहिलेको आवश्यकता हो । नयाँ सरकारले किसानको समस्याको बारे विशेष कार्य योजना ल्याओस् भन्ने माग गर्दछौँ ।

७. अत्यधिक उखु किसान रहेको यस प्रदेशका वीरगन्ज चीनी कारखाना बन्द भयो । अहिले रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल बन्द भएको छ। यसले रौतहट, बारा, पर्साका उखु किसानहरू पीडित भएका छन् । यो बैठक सरकारसँग बन्द रहेका चिनी उद्योगहरू खोल्न जोडदार माग गर्दछ।

८. मधेस प्रदेशमा जातीय विभेद, लिङ्गीय विभेद समेत चर्को समस्याको रूपमा देखिएको छ। कतिपय स्थानमा यो अझै जटिल सामाजिक समस्याको रूपमा प्रकट  हुने गरेको छ । नेकपा एमाले सबै खाले विभेदको अन्त्य र सामाजिक न्यायको लागि काम गर्न सरकारसँग जोडदार माग गर्दछ।

९. मधेस प्रदेशका कतिपय स्थानमा अहिले पनि हुलाकी राजमार्ग निर्माणमा समस्या देखिएको छ । तामागढी, सिम्रौनगढ सडकको मुआब्जा नपाएका कारण अझै केही समस्या देखिएको छ । हामी सबै समस्याको हल गरी हुलाकी राजमार्ग निर्माण कार्य तत्काल सम्पन्न गर्न माग गर्दछौँ ।

१०. देशका दुग्ध उत्पादक किसान आन्दोलनको क्रममा छन् । उनीहरूको दूधको रकम भुक्तानी गर्न बाँकी रहेको छ । माछा किसानहरूको समस्या यथावतै छ । कृषि उत्पादन क्षेत्रमा लागेका किसानहरूको खेतमा सिँचाइ पुर्‍याउने कुरा अरू चुनौतीपूर्ण छ । सुनकोसी –मरिन तथा सुनकोसी–कमला डाइभर्सन सिँचाइ योजनालाई गति दिन आवश्यक छ । यसतर्फ तत्काल ध्यान दिन र समस्याको समाधान गर्न जोडदार माग गर्दछौँ ।

११. कोशी टप्पु वन्यजन्तु आरक्ष र पर्सा राष्ट्रिय निकुञ्ज यसै प्रदेशमा पर्दछन् । कोशी टप्पु वन्यजन्तु आरक्षको सुदृढीकरण गर्नु आवश्यक छ भने पर्सा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरूमा वन्यजन्तुको आक्रमणका कारण मानवीय तथा पशुधनको क्षति भइरहेको छ । यसलाई रोक्न प्रभावकारी कदम चालियोस् ।

१२. मिटर व्याज पीडितहरू न्याय माग्दै काठमाडौंसम्म जानुपर्ने स्थिति बन्यो । यो राम्रो होइन । सरकारले मिटर व्याज पीडितहरूको समस्या तत्काल समाधान गर्नुपर्छ ।

१३. मुलुकको विकासको सम्भावनाका अनेक ढोकाहरू खोल्न सक्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जुनसुकै सरकार र राज्यका अङ्गहरूको प्राथमिकताको विषय हुनु आवश्यक छ । अहिलेको सरकार जनताको विकाशको चाहना पुरा गर्ने सरकार हो । यसैले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु गर्नको सरकारसँग जोडदार माग गर्दछौ । यसै गरी तराई मधेसलाई काठमाडौंसँंग जोड्ने काठमाडौं निजगढ फास्टट्रयाक निर्माण कार्य समयमै सम्पन्न गर्न माग गर्दछौ ।

१४. बैठकले वर्तमान अवस्थामा केन्द्रमा नेकपा एमाले सहितको सत्ता समीकरण परिवर्तन  भएको र मधेस प्रदेशमा नेकपा एमाले सबै भन्दा ठुलो पार्टी भएको हुनाले मधेस प्रदेशका जनताको चाहनालाई ध्यान दिँदै प्रदेश सरकारको नेत्रीत्व  गर्ने गरी आवश्यक पहलका लागि  पार्टी  केन्द्रलाई आग्रह गरेको छ ।

१५. बैठकले नेकपा एमाले मधेस प्रदेश कमिटीको बैठकको व्यवस्थापनमा जुटेर बैठकलाई  सफल बनाएकोमा नेकपा एमाले जिल्ला कमिटी रौतहट र नगर कमिटी चन्द्रपुरलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।