ललितपुर ।
आन्तरिक स्रोत कमजोर हुँदै गएपछि करिब ८ सय वर्ष पुरानो सम्यक महादान पर्व सञ्चालनका लागि सरकारमै निर्भर हुनुपर्ने स्थिति बनेको छ। गुठीको जग्गाको आयस्ता अपुग हुँदै गएपछि ७ सय ७३ वर्षअघि ललितपुरमा निरन्तर सञ्चालन हुँदै आएको सो पर्वको निरन्तरताका लागि राज्यकोष भरपर्नुपर्ने स्थिति बनेको हो।
हरेक चार वर्षमा हुने सो पर्व ठकुरीवंशका राजा भाष्करदेवको पालादेखि सञ्चालन हुँदै आएको थियो। सोहीअनुरूप यही फागुन ३० गते बुधबार र चैत्र १ गते बिहीबार इतिल्हने सम्यक महादान पर्व हुने भएको छ ।
पर्व सञ्चालनका लागि पुर्खाले दान दिएका जग्गाहरूबाट आउने स्रोत अपुग भएको, विभिन्न जग्गाहरू अधिग्रहण गरिएको, कतिपय जग्गाहरू अतिक्रमणमा परेको, मोहीलाई भाग दिँदा, खेतीबाट बाली अपुग हँुदै गएको हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष पुष्पराज बज्राचार्यले नेपाल समाचारपत्रलाई बताउनुभयो । सो पर्व सञ्चालनको लागि हाल गुठीको जग्गा करिब १३ रोपनी रहेको समितिले जनाएको छ।
अहिले भएका सम्यक गुठीका जग्गाहरू खण्डीकरण, शक्तिशाली र पहुँचवालाको अतिक्रमणले गर्दा संरक्षणमा चुनौती थपिँदै गएको पनि समितिका अध्यक्ष बज्राचार्यको भनाइ छ । विसं १८६१ सालसम्म प्रत्येक वर्ष सञ्चालन हुँदै आएको यस पर्व स्रोतकै कारण त्यसयता चार वर्षको एकचोटि सञ्चालन हुँदै आएको छ ।
सम्यक महादान पर्वमा ३२ महाविहारका १ सय २५ देवीदेवताको नागबहालमै बसेर एकसाथ दर्शन एवं पूजा सकिने छ । चापागाउँ, बुङ्गमती, कीर्तिपुर, काठमाडौं र भक्तपुर महाविहारमा रहेका दिपंकर बुद्ध, शाक्यमुनि बुद्ध, मैत्री बुद्ध, आर्यतारा, वसुन्धरा देवीलगायत देवीदेवताको एक स्थान प्रदर्शनी र दर्शन गर्न पाउने अवसर इतिल्हन सम्यक महादान पर्वले गर्दा जुरेको हो ।
त्यस्तै, सम्यक दान प्रदान गर्नका लागि राखिने देवताको लर्कोमा अतीत बुद्धका रूपमा गौतम बुद्धभन्दा अघिका दिपंकर बुद्ध र वर्तमान बुद्धका रूपमा गौतम बुद्ध र भविष्यको बुद्धका रूपमा मैत्री बुद्धको भव्य सुर्वणमय मूर्ति पनि राखिन्छ । सम्यक दानमा खीर, लाखामरी गरी मिठाइका विविध परिकार सामग्री, रोटी फलफूल दान दिने गरिन्छ ।
यस दान कार्यमा सम्यक दानका दाताका परिवारका सदस्य, आफन्तलगायतले आ–आफ्नो गच्छेअनुसार दान दिने प्रचलन रहँदै आएको छ र यसरी दान प्रदान गर्दा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । यही दान दिने कार्य नै सम्यक पर्वको मुख्य सार रहेको अध्येता शाक्यले बताउनुभयो ।
‘सम्यक महादान लिच्छिविकालीन बौद्ध अमूर्त संस्कृति हो । सम्यक महादान पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको राम्ररी अभिव्यक्त गरेको छ’ –अध्येता लोकरत्न शाक्यले भन्नुभयो ।
इतिहास, धार्मिक, सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्व सञ्चालनका लागि आन्तरिक स्रोत अपुग हुँदै गएपछि थप कोषका लागि संघ, प्रदेश र स्थानीय तहमा घचघच्याउनुपर्ने, पहुँच र प्रभाव बढाउन अनेक हिसाबले लाग्नुपर्ने दायित्व पनि बढेको समितिका प्रचारप्रसार संयोजक विश्वन्तर शाक्यले बताउनुभयो।
२०७६ फागुण १४ र १५ गते भएको भएको सम्यक महादान पर्वका लागि समितिले ललितपुर महानगरपालिकासमक्ष ५ लाख बजेट विनियोजित गर्न माग गरेको थियो । महानगरपालिकाले त्यति बेला समितिको मागलाई सम्बोधन गरेन । समितिले अपुग रकम मनकारी सहयोग लिई पर्व सञ्चालन गरेको थियो।
यसपटक भने समितिको मात्र नभई स्थानीय बासी, राजनीतिक दलका स्थानीय नेता, कार्यकर्ता, नागरिक समाज, संस्कृति, सम्पदा अभियन्ताहरूको ठूलै दबाबले ललितपुर महानगरपालिकाले सम्यक महादान पर्वका लागि ५० लाख रुपियाँको अक्षय कोष खडा गरिदिएको समितिले जनाएको छ ।
संस्कृति, परम्परा सञ्चालन स्थानीय तहको प्राथमिक दायित्वभित्र परेको छ। यसमा स्थानीय तहको ध्यान जानुपर्ने खाँचो औंल्याउँदै गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यले गुठीको जग्गा संरक्षण गर्नुपर्ने दायित्व पनि सम्बन्धित गुठीयारहरूको रहेको बताउनुभयो।
‘भएको जग्गा संरक्षण गर्नुपर्दछ। जग्गाबाट आउने स्रोत अपुग हुन सक्दछ । त्यसका लागि राज्यले अक्षय कोषको साटो आवश्यक रकम वर्षेनी उपलब्ध गराउनुपर्दछ’ –केन्द्रीय प्रशासक शाक्यले भन्नुभयो।
प्रतिक्रिया