जापानमा नेपाली समाजको उदाहरणीय काम

532
Shares

जापान ।

नेपाल र जापानको सम्बन्धलाई प्रगाढ बनाउने कार्यमा नेपाली समाजले उदाहरणीय काम गर्दै आएको जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी बताउनुभएको छ।

जापानमा नेपालीहरू इज्जत र सम्मानका साथ स्वास्थ्य, शिक्षा, रोजगारी, व्यवसायलगायतका क्षेत्रमा इमानदारीपूर्वक खटिएकै कारण नेपाल र जापानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सफल भएको राजदूत सुवेदीको ठम्याइ छ।

नेपाल सरकारले जापान सरकारसँग सहकार्य गर्दै आएका ठूलाठूला योजना तथा कार्यक्रमलाई अझ सहज र सर्वसुलभ बनाउन कूटनैतिक तवरबाट दूतावासले भूमिका खेलेकै छ।

हरेक कामलाई सहज र सर्वसुलभ बनाउने काममा जापानमा रहेको नेपाली समाजले पुर्‍याउँदै आएको योगदान अत्यन्तै महत्वपूर्ण र उदाहरणीय रहेको छ। नेपाली समाजको सहयोगी भावना तथा हरेक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको जापान सरकारले समेत उत्तिकै महत्वका साथ मूल्यांकन गरेको उहाँले बताउनुभयो ।

जापानमा झन्डै १ लाख ६३ हजार नेपालीको स्थायी तथा अस्थायी रूपमा बसोबास रहेको छ । वैदेशिक रोजगार, शिक्षा, व्यापार, व्यवसाय, उद्योग, कल कारखाना, नेपालको कला संस्कृतिका माध्यमबाट हरेक नेपाली कुनै न कुनै क्षेत्रमा जोडिएका छन् ।

यति मात्र नभई धार्मिक, सांस्कृतिक सम्बन्धलाई विस्तार गर्दै नेपाली परम्पराको विकासमा समेत नेपालीहरूको जापानी नागरिकसँग ठूलो सामिप्यता रहेको राजदूत सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘यदि नेपाली समाज थिएन भने जापानमा नेपालीलाई पर्ने समस्याको समयमै समाधान गर्न निकै कठिनाइ पर्ने थियो । दूतावाससँग जनशक्ति पनि कम छ, आर्थिक रूपमा पनि सबल छैन, यस्तो अवस्थामा जापानमा रहेका विभिन्न संघसंस्था, जापानी समाज र नेपालीहरूको साथ र सहयोगले काम गर्न धेरै सजिलो भएको छ ।’

उहाँले बुद्ध भारतमा जन्मेको भन्ने शब्द जापानको शब्दकोषमै राखिएकाले हारिहुतो नोजुको संयोजकत्वमा राजदूत सुवेदीसहितको टोली लागेर सुधार गर्दै आइरहेको बताउनुभयो । उहाँले बुद्ध जयन्ती मनाएर बुद्ध नेपालमै जन्मेका हुन् भन्ने प्रस्ट्याउने उद्देश्यका साथ अघि बढेको बताउनुभयो ।

राजदूत सुवेदी यसअघि बेलायतका लागि नेपाली राजदूत, नेपाल सरकारको शिष्टाचार महापालका रूपमा समेत काम गरिसक्नुभएका कूटनैतिक क्षेत्रका प्रखर व्यक्तित्व हुनुहुन्छ। उहाँ साहित्य र लेखनमा पनि उत्तिकै जुझारु व्यक्तित्व हुनुहुन्छ।

जापानमा रहेका नेपालीको समस्यालाई नजिकैबाट नियालेका राजदूत सुवेदीले भन्नुभयो– ‘नेपालीहरू धेरै इमानदार छन्। कुल नेपालीको संख्याको ४० हजार नेपाली विद्यार्थी छन् । युवा विद्यार्थीमा भाषागतदेखि सीपको कमीले कहिले कहिलेकाहीँ घटना, दुर्घटना पनि हुन्छन् । यस्तो अवस्थामा क्षेत्रगत रूपमा रहेका नेपाली समाजको सहयोगमा आवश्यक व्यवस्थापन गर्ने गरेका छौं।’

यति ठूलो र विकसित मुलुकमा रहेको दूतावासको क्षेत्रफल अत्यन्तै साँघुरो र अफिस भाडाको घरमा रहनु, कर्मचारीको संख्या कम हुनुले नेपालीहरूले समयमा सेवा पाउन कठिन भएको विषय यथार्थ भएको राजदूत सुवेदी स्वीकार्नुभयो ।

सानो घर, साँघुरो कोठा, १० वर्षसम्म डकुमेन्ट सुरक्षित राख्नुपर्ने बाध्यताका बाबजुद, हिउँ, पानी परेको बेला सेवाग्राहीलाई दूतावासभित्र बस्ने ठाउँसम्म नहुने समस्या रहेको राजदूत सुवेदीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘कामका बेलामा २ देखि ३ सय नेपाली एकैपटक आउनुहुन्छ, दूतावासभित्र ३० जनाभन्दा बढी अट्ने ठाउँ नै छैन । सरकारसँग कर्मचारी र भवनको माग भएको छ।’

जापानमा नेपालीको संख्या विदेशी जनसंख्याको छैटौं स्थानमा छ। नेपालभन्दा माथि चीन, कोरिया, भियतनाम, ब्राजिल, फिलिपिन्स छन्। विद्यार्थीहरूमा नेपाल तेस्रो ठूलो संख्या रहेको देशका रूपमा रहेको छ।

चीन र भियतनाम पहिलो र दोस्रो नम्बरमा विद्यार्थी धेरै भएको मुलुकका रूपमा रहेको छ। सन् २०२४ मा नेपाली विद्यार्थीको संख्या ५८ हजार पुग्ने र दोस्रो स्थानमा पुग्ने आँकलन गरिएको पनि राजदूत सुवेदीले बताउनुभयो ।

नेपाल र जापान सरकारको घनिष्ट र प्रगाढ सम्बन्धकै कारण ठूलो संख्यामा नेपाली नागरिक जापान पुगी उच्च शिक्षा, सीप, रोजगारीलगायतका क्षेत्रमा सहजै प्रवेश पाइरहेको सुवेदीले बताउनुभयो। भाइचारा सम्बन्ध, एकआपसमा नेपाली र जापानी नागरिकका बीचमा विवाहसमेत भएको छ।

नेपालको विकासमा जापान सरकारको सहयोगमा कुलेखानी जलविद्युत् आयोजना, त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडार जडान, रेडियो नेपालको भवन, सिन्धुली–बर्दिवास सडक र नागढुङ्गा सुरुङ मार्ग जापान सरकारको उदाहरणीय काम भएको राजदूत सुवेदीले बताउनुभयो।