त्रिशूली नदीमा बस खस्दा ४ जनाको मृत्यु, ३५ जना घाइते

8.4k
Shares

काठमाडौं ।

लुम्बिनीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खसेको छ। लु २ ख २१२१ नम्बरको बस आज बिहान धादिङको गजुरीको घाटबेसीस्थित त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ३५ जनाको जीवितै उद्धार गरिएको छ। बसमा ५१ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

बस पृथ्वीराजमार्ग अन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसीबाट त्रिशुलीनदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

बिहान चार बजेतिर भएको दुर्घटनामा १ महिला सहित ४ जनाको शव देखिएको छ। शवको सनाखत भएको छैन भने कति जनाको मृत्यु भयो भन्ने यकिन विवरण प्राप्त भएको छैन।

सडकबाट १ सय मिटर तल त्रिशूली नदीमा छत देखिएको अवस्थामा डुबेको बसका ३५ जना यात्रुको उद्धार गरिएको र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको छ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन्।