प्राधिकरणको नाफा र यसको सार्थकता



काठमाडौं ।

सरकारी स्वामित्वमा रहेका अधिकांश संस्थानहरू घाटामा रहेका र थोरै संख्याका संस्थानले आफ्नो सञ्चालन खर्च मात्रै धान्न सक्ने स्थितिमा रहेका बेला नेपाल विद्युत् प्राधिकरणले ६ महिनामा १५ अर्ब ३६ करोड रुपियाँ नाफा गरेको तथ्यांक सार्वजनिक भएको छ।

प्राधिकरणको सो तथ्यांकले कालोे बादलमा चाँदीको घेरा देखाएको छ। चालू आर्थिक वर्षको पहिलो ६ महिनामा प्राधिकरणको अपरिष्कृत वित्तीय विवरणअनुसार विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ६ महिनामा कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपियाँ आम्दानी गरेको छ।

जसमा विद्युत् खरिद, प्रशासनिक, आयोजनालगायतमा ५१ अर्ब ९२ करोड ७१ लाख रुपियाँ खर्च गर्दा १५ अर्ब ३६ करोड ६ लाख रुपियाँ नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको हो ।

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछि निरन्तर नाफामा छ। त्यसअघि प्राधिकरण झन्डै टाट पल्टिने स्थितिमा रहेको थियो।

सरकारले कैयौंपटक प्राधिकरणको अर्बौं रुपियाँ घाटालाई अपलेखन गर्दै सामान्य बनाउने प्रयास गरे पनि प्राधिकरणले खर्च धान्न सक्ने स्थिति थिएन। विद्युत् आपूर्ति बढेसँगै प्राधिकरणको वित्तीय अवस्थामा सुधार हुँदै गएको हो।

लोडसेडिङको अन्त्यसँगै आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपियाँ नाफा गरेपछि प्राधिकरणको नाफाको ग्राफ बढ्दै गएको छ । विशेष गरी विद्युत् चुहावट नियन्त्रण, उत्पादन बढाउँदै आन्तरिक तथा भारततर्फ विद्युत् निर्यातमा वृद्धि, खर्च नियन्त्रणलगायतका कारण प्राधिकरण नाफा कमाउन सफल भएको हो।

प्राधिकरणले चालू आवको ६ महिनामा विद्युत् बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपियाँ सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरुबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपियाँको विद्युत् खरिद गरिएको छ।

प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीबाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रुपियाँको विद्युत् आयात गरिएको हो।

समीक्षा अवधिमा सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ ९ अर्ब ३ करोड ८४ लाख रुपियाँ खर्च भएको छ । प्राधिकरणले चालू आवमा १३ अर्ब ३८ करोड ५६ लाख रुपियाँको विद्युत भारततर्फ निर्यात गरेको छ । साथै १ अर्ब ९८ करोड ६२ लाख रुपियाँको विद्युत् आयात भएको जनाएको छ।

प्राधिकरणले आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगमलाई बिक्री गरिरहेको छ ।

प्राधिकरणको नाफा वृद्धि र भारतमा विद्युत् निर्यात बढेको पृष्ठभूमिमा प्राधिकरणको वित्तीय स्वास्थ्यमा सुधार मात्रै भएको छैन, नेपालको व्यापार घाटा न्यूनीकरणमा पनि सहयोग पुगेको छ।

अझै पनि नेपालमा ऊर्जा उत्पादकहरूले सहजरूपमा विद्युत् उत्पादन नगर्न नसक्ने, उत्पादित विद्युत् खेर फाल्ने तर औद्योगिक क्षेत्रमा मागअनुसारको विद्युत् आपूर्ति हुन नसक्ने र भारतबाट अर्बौं रुपियाँको विद्युत् खरिद गर्नुपर्ने अवस्था सिर्जना हुनु एक–आपसमा नमिल्दो कुरा हो।

प्राधिकरणको नाफा वृद्धि हुनु सकारात्मक पक्ष हुँदाहुँदै पनि विद्युत्को आन्तरिक खपतलाई वृद्धि, औद्योगिक क्षेत्रलाई चाहिए जति विद्युत् आपूर्ति, निजी क्षेत्रले उत्पादन गरेको सबै बिजुलीको खरिद, नयाँ आयोजनाको विद्युत् खरिद सम्झौता तथा उपभोक्ताले सस्तो र दिगोरुपमा विद्युत् उपयोग गर्न पाएका खण्डमा प्राधिकरणको नाफाले सार्थकता पाउनेछ।

प्रतिक्रिया दिनुहोस्