काठमाडौँका मुकेशले जिते हेटौँडा रन उपाधि

252
Shares

हेटौँडा ।

 मकवानपुर जिल्लास्तरीय प्रतियोगितामा सीमित रहेको खुला राष्ट्रिय पुरुष हेटौँडा रन–२०८० को उपाधि काठमाडौँका मुकेश पालले जितेका छन् ।
हेटौँडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिको आयोजनामा पहिलो पटक हेटौंडामा शुक्रवार भएको प्रतियोगितामा निर्धारित ५ किलोमिटर दुरी १५ मिनेट २२ सेकेन्डमा पार गर्दै पालले उपाधि जितेका हुन् । उनले नगद ६० हजार रुपियाँ पुरस्कार प्राप्त गरे । १८ जिल्लामा ९२ जना प्रतिस्पर्धीलाई पछि पार्दै पालले उपाधि जित्दा जुम्लाका दुर्गाबहादुर बुढा द्वितीय भए ।

उनले १५ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पार गरे । बुढाले नगद ५० हजार रुपियाँ प्राप्त गरे । प्रतियोगितामा काठमाडौँका सञ्जय श्रेष्ठ तृतीय भए । उनले १५ मिनेट ३० सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए । श्रेष्ठले नगद ४० हजार रुपियाँ पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सहभागिता जनाएकामध्ये चौथो र पाँचौं भएका काठमाडौँका टंक कार्की र दाङका नागेश्वर ऐरीले सन्त्वना पुरस्कारस्वरुप नगद १० हजार रुपियाँ प्राप्त गरे ।

हेटौंडाको मु्ख्य बुद्धचोकबाट सुरु भएको दौड पारिजातपथ हुँदै पुनः बुद्धचोकमा आएको थियो । प्रतियोगितामा विजयीलाई हेटौँडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, नगर उपप्रमुख राजेश बानियाँ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागार्इंले पुरस्कार बितरण गरेका थिए । प्रतियोगितामा सहभागी हेटौँडा–२ का ६९ वर्षीय प्रेमजी श्रेष्ठलाई सम्मान गरिएको थियो । पाको उमेरमा पनि खेलप्रतिको लगाव र लगनशीलताका लागि नगर प्रमुख र उपप्रमुखले प्रशंसा गर्दै उनको सम्मान गरेका थिए ।

प्रतियोगिता उद्घाटनमा नगर प्रमुख लामाले सञ्चालन गरिएको दौडलाई निरन्तता दिइने बताइन् । उनले उपमहानगरले खेलकुल विकासमा गरेका लगानीले नगरका खेलकुदको विकाससँगै खेलाडी उत्पादनमा भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । ‘हाल पूर्वाधार निर्माणसँगै खेलाडी विकासका लागि लगानी गरेका छौं । आगामी दिनमा पक्कै लगानीले सार्थकता पाउने छ,’ उनले भनिन् ।

कार्यक्रममा हेटौँडा–५ का अध्यक्ष सुशील घिमिरे, ७ का अध्यक्ष दामोदर गौतम, ११ की अध्यक्ष जुना दाहाल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्गी, एथ्लेटिक्स संघ केन्द्रीय कोषाध्यक्ष प्रभाकर पाण्डे, केन्द्रीय निर्णायक राजाराम पोखरेलसहित नगर खेलकुद विकास समितिका सदस्यको सहभागिता थियो ।