जीवनको कठिन समयमा पनि, घाम पानी, भोको पेट नभनी काम गर्दा पनि बिहान बेलुकाको छाक टार्न र राम्रो लगाउन निकै नै धौधौ थियो अझै भन्ने हो भने त नाकमा लगाउने फुली समेत पनि थिएन त्यो बेला र पनि जीवन र परिवारलाई जसोतसो चलाई रहेको थिएँ । कसैले ५-७ हजार पनि नपत्याउने समाज थियो ।
जेठाजुले आत्मा हत्या गरे पश्चात् जेठानीले सोह्र महिनाको छोरीलाई बेवास्ता गरी घर छोडेर गए, त्यस पश्चात् घरमा पालन पोषण गर्नुपर्ने एक सदस्यको जिम्मेवारी थपियो । कृषिबाट भएको उत्पादनले वर्षभरि पनि खान नपुग्ने र तीन सन्तानको पढाइ, सासू ससुराको हेरचाह, चाडबाडको खर्चले धेरै नै पिरोल्थ्यो । यो भनाई हो गोरखा न.पा. वडा न.– १४, गोप्लीङ बस्दै आउनु भएका एक सफल, साहसी र पौरखी महिला संगीता भण्डारीको हो ।
भण्डारी दम्पतीको दैनिक ज्यालादारीबाट जीवन गुजारा चलिरहेको थियो तर उहाँहरुलाई जीवनमा प्रगति गर्ने इच्छाले झकझकाई रहेको थियो तर केही उपाय देखिएको थिएन । २०६५ साल तिर वहाँको बसाइँ गोर्खा जिल्लाको देउराली छाकु भन्ने ठाउँमा थियो ।
संगिता दैनिक डेढ घण्टाको पैदल हिडेर ज्यालादारी काम गर्न बेसीमा आउनुहुन्थ्यो । यसैमा एक दिन छिमेक लघुवित्तको इकाई प्रमुख मछिन्द्रा भण्डारीसँग भेट भयो गफ गर्दै जाँदा उहाँले संहितालाई समूहमा बस्न सल्लाह दिनुभयो । साथै, उहाँले नै छिमेकबाट पाइने विना धितो ऋण, बचत, बिमा सुविधाको बारेमा भन्नुभयो सबै कुरा सुनेर छिमेकको सेवा सुविधा राम्रो लागेकोले घरमा गएर पति सिताराम भण्डारीसँग सल्लाह गरी समूहमा आबद्ध हुन मन लगायो र आँवुखैरेनी शाखाको सदस्य नं. ०१४.१५६१९.०१.०४ का रूपमा समूहमा आबद्ध हुनुभयो । घरमा सल्लाह गरी समूहमा बसेर ऋण लिएर पाडा किन्ने सल्लाह भयो ।
सुरुमा रु.१०००० ऋण लिएर पाडो किन्नुभयो । किस्ता भने ज्याला मजदुरी गरेर तिर्नुभयो । पाडाबाट राम्रो फाइदा भएकोले उहाँको हौसला बढ्यो र दोस्रो पटक रु.२०००० ऋण र आफूसँग भएको केही रकम थप गरी भैँसी किन्नु भयो । भैँसीको दूध बेचेर किस्ता तिर्न झनै सजिलो भएकोले तेस्रो पटक रु.२५००० ऋण लिएर अर्को भैँसी थप्नुभयो । दुई वटा भैँसी भएपछि संगिताले ज्यालादारी काम छोडेर पशुपालनलाई नै मुख्य पेसा बनाउन थाल्नु भयो । संगिताको पति त्यति वेलासम्म पनि ज्यालादारीमा काठ काट्ने काम गर्नुहुन्थ्यो र यही कामलाई व्यवसाय बनाउने सल्लाह भयो । २०६८ सालमा रु.५०००० ऋणबाट पतिले काठको व्यापार गर्ने लाइसेन्स बनाएर काठको व्यापार नै सुरु गर्नुभयो ।
उहाँले गाउँघरका दाउरा, काठ काटेर तराईका विभिन्न जिल्लामा पठाउने काम सुरु गर्नुभयो र हालसम्म पनि सो पेसालाई निरन्तरता दिइरहनु भएको छ । दुवै जनाको मेहनतले कमाई पनि राम्रो हुँदै गयो । अव पहाडको लेकबाट आउजाउ गर्न गाह्रो भएकोले बेसीमा नै झर्ने सल्लाह भयो । २०७१ सालमा छिमेकबाट लिएको रु.१ लाख ऋण र आफ्नो कमाइको रकम थप गरेर गोप्लिङमा १ रोपनी जग्गा किनेर सानो घर बनाएर सर्नुभयो । दूध बेच्न, बजार जान पनि झन् सजिलो भएकोले २०७२ सालमा रु.५०००० ऋण लिएर बाख्रा पालन गर्न सुरु गर्नुभयो । छोरा छोरीलाई राम्रो स्कुलमा भर्ना गर्नुभयो ।
२०७४ सालमा छिमेकबाट पुन रु.३ लाख ऋण र आफ्नो बचतको रकमबाट ३ रोपनी जग्गा खरिद गरी तरकारी खेती पनि सुरु गर्नुभयो । यसरी निरन्तर मेहनतले भण्डारी दम्पतीको आम्दानीको श्रोत बढ्दै गयो । आम्दानी सँगै आँट पनि बढ्दै गयो । आफूले गरी रहेको काठ व्यापारमा ढुवानीको लागि २०७६ सालमा छिमेक सँग रु.५ लाख ऋण लिएर ट्र्याक्टर खरिद गर्नुभयो । २०७९ सालमा १५ लाख धितो ऋण लिएर हार्डवेयर सामानको व्यवसाय गर्न सुरु गर्नुभयो । यो व्यवसायमा काठ व्यापारमा प्रयोग भएका सवारी साधनमा बुटवल, भैरहवा जस्ता सहरबाट इँटा, रड, सिमेन्ट लगायतका निर्माण सामान ल्याएर खुद्रा व्यापारीलाई बेच्ने सप्लायर्सको काम गर्नुहुन्छ । हाल यो व्यवसाय उहाँको छोराले सञ्चालन गर्नुभएको छ ।
व्यवसायका साथै भण्डारी दम्पतीले छोरा छोरी पनि उच्च शिक्षा पढाउनमा पनि मनग्य लगानी गर्नुभयो । छोरीले माष्टर्स सकाउनुभयो र हाल उहाँको विवाह भैसकेको छ । जेठा छोराले ओभरसियरसम्म अध्ययन गरेर बुबाको व्यवसायमा सहयोग गरी राख्नु भएको छ । कान्छा छोरा हाल स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । यसरी छोरा छोरीको भविष्य उज्ज्वल बनाउन सफल हुनुभएकोमा भण्डारी दम्पती औधी खुसी हुनुहुन्छ ।
१५ वर्ष अघिसम्म जीवन यापनको लागि दैनिक ज्यालादारी काम गर्ने भण्डारी दम्पतीको आज आफैले आर्जेको ६ रोपनी जग्गा, दुई वटा घर, ट्र्याक्टर, थ्रेसर मेसिन रहेको छ । गोठमा ३ वटा भैँसी, ३ वटा बाख्रा, १० घार मौरी छन्, सिजनमा तरकारी खेती पनि गर्नुहुन्छ । æआज मेरो परिवारको यो सफलतामा परिवारको मेहनतका साथै छिमेकबाट प्राप्त सिप, ज्ञान र ऋणको पनि ठुलो भूमिका र योगदान रहेको छ । छिमेकले उपलब्ध गराएको सुविधाले नै आज हाम्रो परिवारमा उन्नति भएको छ, सबै व्यवसायबाट वार्षिक करिब १२ लाखको आम्दानी हुन्छ संगिता भण्डारी भन्नुहुन्छ ।
आफ्नो ज्ञान, सिप भएका विषयमा लगानी गरेमा सफलता मिल्दो रहेछ । घरपरिवारमा सल्लाह,मेलमिलापले नै उन्नति हुने रहेछ । लिएको ऋणलाई सही सदुपयोग गर्ने, व्यवसायलाई निरन्तर वृद्धि गर्ने, स्थानीय बजारको माग अनुसारको उत्पादन गर्ने कार्यले मानिसलाई पूर्ण व्यावसायिक बनाउने रहेछ । आम्दानी भएको बखतमा बचत गर्नाले आवश्यक परेको समयमा ठुलो काम दिने रहेछ । छिमेकको समूहमा आबद्ध भएर ऋण लिएर लाखौँको सम्पत्ति जोडियो, लाखौँ रुपैयाँ बचत पनि गरियो, यदि यो समूहमा नबसेको भए आज मेरो अवस्था के हुन्थ्यो होला कल्पना गर्न पनि सक्दिन संगिता दिदी अलि भावुक हुँदै भन्नुहुन्छ ।
निशान श्रेष्ठ
(कृषि प्राबिधिक)
प्रतिक्रिया